तिनचुली ब्याडमिन्टन क्लबका अभिषेक गुरुङ र आकाश छन्त्यालको जोडी नवौँ बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पार्न सफल भएका छन् ।
किङ कम स्पोर्टस क्लबको आयोजनामा फागुन १ गते बुधबार सम्पन्न फाइनलमा देउराली क्लबका थम राना र हिमांशु श्रेष्ठको जोडीलाई २१–१३, २१–१६ को सोझो सेटमा पराजित गर्दै गुरुङ र छन्त्यालको जोडीले उपाधि हात पारेका हुन् ।
विजेता गुरुङ र छन्त्यालले नगद ४० हजारसहित रनिङ सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजयी राना र श्रेष्ठको जोडीले नगद २५ हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा कम्प्लिट हेल्थ क्लबका पेम्बा शेर्पा र लोक लामाको जोडी विजयी भए । पेम्बा र लोकको जोडीले रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भुवन श्रेष्ठको जोडीमाथि १६–२१, २१–१५ र २५–२३ को कठिन जित निकाल्दै तेस्रो स्थान हात पारेका हुन् । पेम्बा र लोकको जोडीले नगद १५ हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र हात पारे ।
विजयी खेलाडीलाई फागुन ४ गते शनिबार हुने विशेष कार्यक्रमबीच प्रमुख अतिथि संघीय प्रतिनिधिसभाका माननीय सांसद तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरस्कार वितरण गर्ने प्रतियोगिता संयोजक तथा नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले जानकारी गराए ।
नवखेलाडी उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय वरीयतामा शीर्ष २० स्थानमा रहेका खेलाडीलाई प्रतिस्पर्धामा बन्देज गरिएको प्रतियोगितामा २० क्लबका १५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष युगलमा मात्र प्रतिस्पर्धा गराइएको प्रतियोगताको लागत ४ लाख ९५ हजार रहेको छ ।
प्रतिक्रिया