नेपाली सेनाद्वारा निःशुल्क शल्य चिकित्सा शिविर

नेपाली सेनाद्वारा निःशुल्क शल्य चिकित्सा शिविर


नेपाली सेनाले प्रदेश २ स्थित सप्तरी जिल्ला सदरमुकाम राजविराजमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा बृहत निःशुल्क संयुक्त शल्य चिकित्सा घुम्ती शिविर सञ्चालन गरेको छ । आगामी ११ गतेसम्म सञ्चालन हुने सो शिविरको बुधबार (१ फागुन) उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उदघाटन गरे ।

प्रतिदिन १२ सय जनालाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै जटिल समस्याका बिरामी ६, मध्यमका १५ र सामान्य २० गरी जम्मा ४१ जनाको सर्जरी गर्ने लक्ष्य रहेको उक्त शिविरमा ई.एन.टी., अर्थो, गाइनो, साईक्याट्री, सर्जरी र आँखाको स्वास्थ्य उपचार गरिने नेपाली सेनाले जनाएको छ ।

घुम्ती स्वास्थ्य शिविरमा बिरामीको लागि दर्ता समय प्रत्येक दिन विहान ०६ः०० बजेदेखि ०९ः०० बजेसम्म र ओ.पि.डी. समय विहान ०९ः०० बजेदेखि १७ः०० बजेसम्म रहेको जनाइएको छ ।

बृहत निःशुल्क संयुक्त शल्य चिकित्सा घुम्ती शिविर उदघाटन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, स्वास्थ्य मन्त्रालयका सचिव, सैनिक स्वास्थ्य महानिर्देशक उपरथी शशि राई, वीरेन्द्र अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा. सुनिलकुमार सिंह, श्री नं. २७ बाहिनीपति सहायक रथी बाबुराम श्रेष्ठ, राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव, भीमदल गणका गणपति प्रमुख सेनानी गुप्त बहादुर कुँवर, गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालका डक्टरलगायत स्थानीय जनप्रतिनिधिका साथै बुद्धिजिवीहरुको समेत उपस्थिति रहेको थियो ।