प्रेम प्रकट गर्न हजारौँ जोडी रानीमहलमा

प्रेम प्रकट गर्न हजारौँ जोडी रानीमहलमा


प्रण्य दिवसका अवसरमा पाल्पा तानसेन नगरपालिका रानीघाटस्थित प्रेमको प्रतीकका रूपमा रहेका रानीमहलमा युवापुस्ताको चहलपहल निकै बढेको छ ।

प्रणय दिवस (भ्यालेन्टाइन डे) मा युवापुस्ताका विवाहित तथा अविवाहित जोडी गहिरो प्रेमको सफलताका लागि त्यहाँ पुग्न रुचाउँछन् । प्रेमको प्रतीक रानीमहलमा बिहानदेखि भिड लाग्दा चहलपहल बढेको हो ।

नेपालको ताजमहलका रूपमा परिचित रानीमहललाई प्रेमको प्रतीकका रूपमा लिइन्छ । तानसेनदेखि १३ किलोमिटर उत्तरमा रहेको रानीमहल पैदल तथा गाडीमा यात्रा गर्न सकिने हुदाँ चहलपहल बढेको हो । रानीमहलमा यतिबेला प्रेम जोडीको लावालस्कर छ । उनीहरू महलसहितको तस्बिर लिन व्यस्त देखिन्छन् ।

राणाकालीन समयमा पश्चिमी कलाकौशलको प्रयोग गरी निर्माण गरिएको दरबार प्रेमको प्रतीकका रूपमा लिन थालेसँगै यस क्षेत्रको चलहपहल बढ्दै गएको हो । रानीमहल दरबारको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण रहेकाले अहिले यो लोभलाग्दो पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ ।

तत्कालीन पश्चिम कमाण्डका जनरल खड्गशमशेर राणाले आफ्नी पत्नी तेजकुमारीको सम्झनामा वि.सं. १९५० दरबारको शिलान्यास गरी चार वर्षको अवधिमा दरबारको काम सम्पन्न भएको थियो । तेजकुमारीको वि.सं. १९४९ मा निधन भएपछि खड्गशमशेरले कालीगण्डकी नदीको किनारामा रहेको विशाल चट्टानमाथि दरबार निर्माण गर्न सफल भएको देखिन्छ ।

स्थानीय बासिन्दाका अनुसार प्रेम दिवसका अवसरमा खुसी साटासाट गर्न युवायुवती हजारौँको संख्यामा आउने गरेको बताउँछन् । पहिलापहिला मानिस रानीमहल घुमफिरका लागि आउने गरे पनि अहिले युवापुस्ताको बाक्लो उपस्थिति रहेको स्थानीयवासीको भनाइ छ ।

रानीमहल क्षेत्रमा होटेल व्यवसाय सञ्चालन गर्दै आएका वसन्त कुँवरका अनुसार बिहानैदेखि युवायुवती पैदल, गाडीमा यात्रा गरिरहेको छन् । रानीमहलमा पाल्पा, रूपन्देही, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, गुल्मी क्षेत्रका आन्तरिक पर्यटक बढी आउने गरेको कुँवरको भनाइ छ ।

रानीमहल घुमफिरका लागि यहाँ प्रायः एक्लै आउँदैनन्, दुई देखि ५० सम्मको समूहमा आउँदा बिदाका दिनमा बढी चहलपहल हुने गर्दछ । रानीमहल दरबारक्षेत्र र कालीगण्डकी नदीले मानिसलाई आकर्षित गर्छ । दरबारको बायाँतर्फ शीतलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुंगाले निर्मित दुई पोखरी र दाहिनेतर्फ पहरा दिने स्थल छ । बायाँतर्फ एउटै किसिमको शिव र गंगाका दुई मन्दिर छन् । यो महल बेलायती इन्जिनियरको डिजाइनमा बनाइएकाले निकै बलियो र आकर्षक देखिन्छ । यस महलको पूर्वतिर खड्गशमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्यतलामा खड्गशमशेरका कोठाहरू रहेका छन् ।

त्यस्तै वरिपरि रहेको बगैँचा र रानीपोखरीले महल आकर्षक देखाएको छ । दिवंगत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई ‘प्रेमको प्रतीक’का रूपमा लिइने गरिन्छ । रानीमहललाई पछिल्ला वर्षमा प्रेमको प्रतीकको रूपमा प्रचारप्रसार हुन थालेपछि युवापुस्ताको आकर्षणको केन्द्रका रूपमा बदलिएको छ । उत्तर बाहिनी हुँदै कालीगण्डकी नदी यस क्षेत्र हुँदै बग्ने भएकाले धार्मिक महत्वसमेत रहको जानकार बताउँछन् ।

रासस