तेक्वान्दोका केन्द्रीय सदस्य र सहप्रशिक्षक क्यानडा पलायन

तेक्वान्दोका केन्द्रीय सदस्य र सहप्रशिक्षक क्यानडा पलायन


नेपाल तेक्वान्दो संघका प्रशिक्षक माधव कोइरालाले नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणालाई सम्बोधन गर्दै तेक्वान्दोभित्र भइरहेको गैरकानुनी कार्यको खुलासासहितको ध्यानाकर्षण पत्राचार गरेका छन् । कोइरालाले उक्त ध्यानाकर्षणपत्र सामाजिक सञ्जाल (फेकबुक)मा पोस्टसमेत गरेका छन् । पत्रसँगै विगत ५–६ महिनादेखि क्यानडामा पलायन भएका नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यहरू र तेक्वान्दोका सहप्रशिक्षकहरूको फोटो पनि राखेका छन् ।

नेपाल तेक्वान्दो संघको स्वीकृति प्रदान गर्दै क्यानडा ओपनमा सहभागिता जनाउन गएका ती केन्द्रीय सदस्य र सहप्रशिक्षक अहिलेसम्म स्वदेश नफर्केको कोइरालाले नेपाल तेक्वान्दो संघका अध्यक्ष राणालाई सम्बोधन गरेर लेखेको पत्रमा उल्लेख गरिएको छ । उनले विगत ५–६ महिनादेखि स्वदेश नफर्किंदा यतिबेला यो खबरले खेलकुद क्षेत्रलाई तताए पनि तेक्वान्दो संघले किन मौनता साँधेको हो भन्ने प्रश्न उठाएका छन् ।

साथै प्रशिक्षक कोइरालाले पलायन भएका बद्री घिमिरे (नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य), अर्जुन केसी (नेपाल तेक्वान्दो संघ केन्द्रीय सदस्य), रविन जोशी (सहप्रशिक्षक तेक्वान्दो), गोविन्द शर्मा (सहप्रशिक्षक तेक्वान्दो) र कल्याण कुँवर (पारा तेक्वान्दो प्रशिक्षक) ले आर्थिक चलखेल गरेर संघलाई गुमराहमा राखेको पनि आरोप लगाएका छन् । तर, तेक्वान्दोका केन्द्रीय सदस्य र सहप्रशिक्षकहरूले सिंगो संघलाई विवादमा ल्याउने दुस्साहस गर्दा पनि तेक्वान्दो संघले कुनै कारबाही नगरेकोमा दुखेसो पोखेका छन् ।

त्यस्तै, यो घटनाले सिंगो तेक्वान्दोे खेलको मानमर्दन भएको भन्दै नेपाली खेलकुदमा इतिहास रच्न र कीर्तिमान बनाउन सफल खेल तेक्वान्दो यस्तै व्यक्तिका कारण अधोगतितर्फ उन्मुख भएको र अन्तर्राष्ट्रियस्तरमा पदकविहीन हुनुपरेकोसमेत खुलासा गरेका छन् । साथै यो घटनाको सम्पूर्ण जिम्मेवारी नेपाल तेक्वान्दो संघले लिनुपर्नेसमेत उनको भनाइ छ ।

प्राप्त जानकारीका अनुसार क्यानडामा पलायन भएका चारजना तेक्वान्दोेका प्रशिक्षकहरूले आफु शरणार्थी भएको र आफुलाई शरण दिन क्यानडामा आवेदन दिएको बुझिएको छ । क्यानडामा पहिलो तीन महिनाको बसाईमा शरणार्थी हुन असफल भएपछि उनीहरूले राष्ट्रिय खेलकुद परिषदमा पुनः तीन महिनाको विदाको लागि निवेदन दिएको र राखेपले त्यसलाई स्वीकृत गरेको सुत्रको दाबी छ ।