‘उद्यमशीलताविना कुनै पनि देशको विकास हुन सक्दैन’

‘उद्यमशीलताविना कुनै पनि देशको विकास हुन सक्दैन’


पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कुनै पनि व्यवसायको देखासिकी गरेरभन्दा पनि व्यवसायमा ‘इन्नोभेटिभ’ भएर अगाडि बढ्न सके त्यसबाट उचित प्रतिफल हासिल गर्न सकिने बताएका छन् ।

पोखरा चेम्बर अफ कमर्श कास्कीद्वारा आयोजित देशको समृद्धिमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा पूर्वप्रधानमन्त्री भट्टराईले उद्यमशीलताविना कुनै पनि देशको विकास हुन नसक्ने बताए । नेपाल जस्तो लामो समय राजनीतिक अस्थिरताबाट गुज्रिरहेको मुलुकमा अहिलेको स्थायी सरकारले काम गर्नसक्ने आधार भएको भन्दै उनले विकास र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर काम गर्न सुझाव दिए ।

बहुमतको सरकारले यो अवसरको सदुपयोग गरेर राष्ट्रियहितका लागि विकासलाई तीब्रता दिनुपर्ने उनको भनाइ थियो । निजी क्षेत्र र राज्यबीचको सम्बन्धविपरीत ध्रुवको जस्तो भयो भने त्यसले मुलुकको अर्थतन्त्रलाई असर पार्ने भन्दै पूर्वप्रधानमन्त्री भट्टाराईले दुवैबीच आपसी साझेदारी र समझदारीबाट नीति बनाएर अघि बढ्नुपर्ने बताए । ‘अहिले देशको राष्ट्रिय एजेण्डा नै विकास र समृद्धि भएकाले विकास नीति के ? छिमेकको स्थिति के ? कुन रणनीति लिएर विश्वस्तरमा जाँदा सफल हुन सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्छ,’ उनले भने ।

कार्यक्रममा चेम्बरका अध्यक्ष किसान सुनारले व्यवसायी लगानी गर्न उत्सुक रहेको तर लगानीमैत्री वातावरणको अभाव र बजारको पहिचानमा पनि समस्या देखिएकाले विज्ञको सुझाव आवश्यक रहेको बताए । कार्यक्रममा वस्तुगततर्फका उपाध्यक्ष यामनाथ पौडेलले राज्यको निजी क्षेत्रप्रतिको नीति स्पष्ट नभएसम्म व्यवसायी लगानीका लागि अग्रसर हुन नसकेको बताए ।