भुइँचालो जाँदा

भुइँचालो जाँदा


nisedh०७२ साल वैशाख १२ गते शनिबारको बिहान अन्य शनिबारझैं छुट्टीको मुड लिएर आएको थियो । हामी व्यावसायिक व्यक्तिहरूका लागि शनिबार भनेको ढिलो उठ्ने, आरामले अखबार पढ्दै चिया खाने र परिवारसँग बसेर ढिलो खाना खाने दिन हो । अरू बेला त सधैँ दौडादौड नै हुन्छ, हप्ताभरिको हतारलाई बिसाउने दिन हो शनिबार । तर, बिहान नियमितझैं आएको शनिबार मध्याह्नबाट आकस्मिकतामा परिणत भयो । यस्तो आकस्मिकता जसको अलिकति पनि कल्पना गरिएको थिएन । खाना खाएर बाँकी रहेका अखबार पढ्दै कम्प्युटरमा चलिरहेको बेला एक्कासि घर हल्लियो । आउन त ५६ सेकेन्ड आएको रहेछ, तर कम्तीमा तीन मिनेट त गयो नै होला जस्तो लागेको थियो । भुइँचालो गइसकेपछि बाहिर निस्कँदा बस्ती धुलाम्मे थियो । छिमेकीहरू, विशेषगरी वृद्धा र बालबालिकाहरू रोइकराई गर्दै बाहिर निस्कँदै खाली चौरतिर दौडिरहेका थिए । छिमेकीमध्येकी राई आन्टी अर्धबेहोसजस्तै हुनुभएको थियो । पहिलो कर्तव्य उहाँलाई डरमुक्त गर्नु थियो, कसैले हात माड्यौँ, कसैले टाउकोमा पक्रियौँ । मेरो ठूलो स्वर भीडमा काम लाग्यो, ‘केही हुँदैन सब ठीक हुन्छ, कोही पनि नआत्तिऔँ ।’ अत्यास त आफूलाई पनि लागेको थियो, तर ज्येष्ठ नागरिक र बालबालिकाका अगाडि आफूलाई लागेको अत्यास त्यसै हराएर गयो । अब ठीक हुन्छ भन्दाभन्दै फेरि अर्को झड्का गयो । चौरमा निस्किएका सबैले आ–आफ्ना परिवारका सदस्यहरूलाई फोन गर्न थाल्यौँ, जो घर ाहिर निस्किएका थिए । बल्लबल्ल भाइको फोन लाग्यो, उसले पहिलो वाक्यमै भन्यो– धरहरा ढल्यो । ललितपुरको बागडोलबाट यसो अगाडि हेरेँ, जताततै धुलाम्मे थियो र काग तथा चराहरू कराउँदै उडिरहेका थिए, कुकुर भुकेको आवाज त्यत्तिकै । अलि पर छिमेकमा केही घर पुराना थिए, के भए होला ? झट्ट मनमा आयो, हेर्न जाँदा घरहरू भत्किएर खण्डहरमा परिणत भएका थिए । यहाँका मानिस खै ? एक्कासि मुखबाट निस्कियो, सबै सकुशल रहेछन्, मन ढुक्क भयो । ती घरहरूको अवस्था हेर्दा सबै मानिस सकुशल होलान् भनी कल्पना गर्न गाह्रो हुन्थ्यो । तीन घर महर्जन परिवार पूरै घर भत्किँदा पनि बाहिर रहेकाले सकुशल थिए । ती घरमध्येका एक हिराकाजी महर्जनकी श्रीमती (जसलाई हामी भाउजू भन्छौँ) रोइरहनुभएको थियो । दुःख पर्दा चाहिन्छ भनेर घरमा अनेक कुरा राखिएको हुन्छ । जिन्दगीभर बस्नका लागि बनाएको घर भत्किँदा आँसु नआउने कुरा पनि थिएन । फर्किएर आफ्नो घरभित्र पस्दा भान्सा फुटेका–नफुटेका सिसैसिसाले भरिएको थियो, टेलिभिजनहरू भुइँमा लडेका, टेबुल पल्टिएका, लाइब्रेरीका किताब छरपस्ट, कौसीका गमलाका माटो एकातिर फूल अर्कोतिर । बिजुली नभएकाले बाहिर के–के भयो केही थाहा थिएन ।
विगतमा भुइँचालो जाँदा एकपटक गएपछि सकिन्थ्यो, त्यसैको भरमा अब ठीक हुन्छ भनेर आत्तिएकाहरूलाई सम्झाइयो, तर अचम्म यसपटक त भुइँचालो पटकपटक आएको आएकै ग-यो, अब त रोकिएला भन्यो फेरि आउँछ । घरभित्र पस्न सक्ने कुरा थिएन । वरिपरि कसैका घरका पानीका ट्याङ्की झरेका थिए, कसैका पर्खाल भत्किएका, कसैका बरन्डा त कसैका छत । दिउँसो १२ बजे गएको भुइँचालोले स–साना धक्का दिँदादिँदै साँझ पर्न लाग्यो । राति घरमा गएर सुत्ने हिम्मत कसैको थिएन, खाना पो कसरी खाने हो ? शायद आपत्–विपत् भनेको त्यही नै थियो, जे गर्न खोज्यो त्यही गर्न नसकिने । सबै छिमेकीहरू दिउँसैदेखि एक भएर बसेका थियौँ । राति बाहिरै सुत्ने निधो भयो, खाली चौरमा कसरी सुत्ने ? घरघरमा प्लास्टिकका पाल या पालजस्ता जे–जे थियो ल्याइयो, छिमेकीको जस्ता रहेछ, वरिपरि जस्ताले बेरियो, बस्नका लागि क्याम्प बन्यो । अलिकति तल एकथरी, माथि अर्कोथरी गरेर बस्यौँ । सबैका आ–आफ्ना परिवार लहरै लाइन लागेर सुतियो । जिन्दगीमा पहिलोपल्ट सामुदायिक रूपमा सुतेर काटिएको रात थियो त्यो । भुइँचालो जानासाथ बिजुलीबत्ती गएको थियो, अँध्यारो बस्तीमा जस–जसका थिए इमर्जेन्सी लाइटहरू थिए, बालियो, तर कतिबेर बल्थे र तिनीहरू १२ नबज्दै निभे ।
भोलिपल्ट पनि स–साना भूकम्पहरू गइरहे । विपत्ति एक्लै आउँदैन भन्थे, हो रहेछ । भोलिपल्टको राति पानी प-यो, ती घरेलु पालले काम गरेन, पानी चुहिन थाल्यो । छिमेकी भाइ नवीन र उनका भाइ राति छाता ओडेर सानेपा पुगी नयाँ पाल लिएर आए र लगाए । यता नर्स विष्णु राई दिदीको परिवार पनि साथमै थिए । छिमेकी भएर के गर्ने बद्री खतिवडा (यति सहयोगी हुनुहुन्छ कि घरमा कोही नभएका बेला धारामा पानी आयो भने आफँै थापिदिनुहुन्छ) मल्लजी, राई अङ्कल, पाण्डे दिदी, अनितालाई छाडेर अन्य कतिपय छिमेकीसँग जम्काभेट भएको बेला मुस्कुराउने र सञ्चै हुनुहुन्छ ? या खाना खानुभो ? भन्नेबाहेक लामो बोलचाल कहिल्यै भएको थिएन । उदार मन भएका कति राम्रा मान्छेहरू आफ्नो छिमेकमा रहेछन् भन्ने कुराको अनुभव गर्ने अवसर पनि यो भूकम्पले दियो । दुःखको बेला सबै एक हुनु पनि ठूलै राहत हुने रहेछ । बिजुलीबत्ती चार दिनसम्म आएन, त्यसबीचमा समाचारको नाममा एफएम रेडियो र बीबीसी सुनियो । विभिन्न जिल्लाका एफएमहरूले मोबाइलमा फोन गरी काठमाडौं र आफ्नो हालखबर सोधे । पूरै काठमाडौंको बारेमा भन्न सक्ने अवस्था थिएन, त्यसैले आफूले देखेको आफ्नै वरिपरिको दृश्य मात्रै बताएँ । बाहिर जान घर भत्किएर बाटो बन्द थियो, सार्वजनिक यातायात अत्यन्त कम चलेका थिए र बन्द भएको बाटोका कारण आफ्नो सवारीसाधनमा बाहिर जान सक्ने अवस्था थिएन । जसले जे–जे भने पनि इमानदार भएर भन्ने हो भने आपत्–विपत्को बेला आफू र आफ्नो परिवार बचाउनपट्टि नै मानिसहरू लाग्दारहेछन्, लागिँदोरहेछ । बाँकी कुरा त त्यसपछि मात्र आउने रहेछ । अब भूकम्पपछिका दिनहरूमा गर्नुपर्ने धेरै छ । मानिसहरूले आफ्नो परिवार र घरबार गुमाएका छन्, आफन्तसँगै आत्मविश्वास पनि गुमेको छ । परिवारका सदस्य फिर्ता गर्न नसके पनि उनीहरूमा आत्मविश्वास पुनः जगाउन सकिन्छ ।