मन्त्री बाँस्कोटा भन्छन्– भ्रष्टाचारी विकासविरोधी हुन्

मन्त्री बाँस्कोटा भन्छन्– भ्रष्टाचारी विकासविरोधी हुन्


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकासविरोधी भएको बताएका छन् । बनेपा नगरपालिका–११ को कार्यालय भवन उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘भ्रष्टाचारी विकासविरोधी हो, सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न, जोसुकैले भ्रष्टाचार गरोस्, कदापि मोलमोलाइ र छुट हुन्न ।’

मन्त्री बाँस्कोटाले भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउँदा मुलुकमा भ्रष्टाचार बढ्यो भनेर गलत प्रचार गर्नु दुःखद रहेको बताए । उनले भने, ‘भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउँदा बढ्ने होइन, न्यूनीकरण हुँदै जान्छ, यसबाट भ्रष्टाचारोन्मुख व्यक्ति वा सचेत रहन्छ, भ्रष्टाचारीलाई सजाय गर्दा भ्रष्टाचार न्यून हुँदै जान्छ ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीसमेतलाई भ्रष्टाचार आरोपमा नछाडिएको र अन्यका हकमा पनि शंका गर्नु नपर्ने स्पष्ट पारे । अर्काे प्रसंगमा मन्त्री बाँस्कोटाले यस वर्ष शिलान्यासको वर्ष र संघीयता कार्यान्वयनसँगै अर्काे वर्ष उदघाटनको वर्ष आउने बताउँदै सडक, पुल, रेलजस्ता ठूलाठूला परियोजना शुरु भइसकेको जानकारी दिए ।

मन्त्री बाँस्कोटाले एक वर्षमा सरकारको उपलब्धि ‘शून्य’ भन्नेको हेर्ने, देख्ने, बुझ्ने र व्यक्त गर्नेमा नै शून्यता रहेको बताए । ‘हामी चार वर्षपछि जनताको मूल्यांकन मात्रै स्वीकार्छौँ,’ उनले भने । मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको बनेपा नपा–११ नागीडाँडामा प्रस्ताव गर्न खोजिएको विमानस्थल बनाउन आन्तरिक गृहकार्य भइरहेको बताए , उनले भने, ‘नागीडाँडामा एयरपोर्ट बनाउने विषयमा सम्बन्धित निकायमा दबाब दिइरहेका छौँ, यहाँ नभए अन्यत्र विकल्प खोज्नेछौँ ।’

कार्यक्रममा प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईं, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे र उपप्रमुख रेखा दाहालले आफ्नो अवधिमा जनतासँग गरेका वाचा पूरा गर्न जनताको मालिक भएर होइन, सेवक भएर काम गर्ने स्पष्ट गरे ।