स्वाभिमान यात्रा : जनता जगाउँदै राप्रपा

स्वाभिमान यात्रा : जनता जगाउँदै राप्रपा


  • विजय खड्का

मुलुकको गिरेको राष्ट्रिय स्वाभिमानलाई जुरुक्क उचालेर आमनागरिकमा राष्ट्रिय जागरण, हीनभावको अन्त्य, राष्ट्रप्रेम, एउटा दह्रिलो आत्मसम्मान र आत्मविश्वास पैदा गर्नुपर्ने समय हो यो । विगत १२ वर्षदेखि मुलुकको स्वाभिमान लगातार गिरेको छ, नेपाल मगन्ते राष्ट्रमा परिणत भएको छ । नेपालको हरियो पासपोर्ट बोकी हिँड्दा संसारका विमानस्थलहरूमा तेस्रो दर्जाको नागरिकको भावले हेरिन्छ । अरू त के पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई हङकङ एयरपोर्टमा तथा माधवकुमार नेपाललाई अमेरिका जाने क्रममा विदेशी विमानस्थलमा घन्टौँ रोकिएको तथा नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेललाई जापान एयरपोर्टबाटै फर्काइएको सन्दर्भ प्रतिनिधि–घटना मात्र हुन् ।

राजा–महाराजा केही निरङ्कुश भए होलान्, तर उनीहरूको पालामा राष्ट्रिय स्वाभिमान र आत्मासम्मान कायम थियो । राजा महेन्द्रले अमेरिकी संसद्मा सम्बोधन गरे । बेलायतकी महारानी नेपाल आइन् । तर, आज अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाल चिन्दैनन्, भारतको अभिन्न अङ्ग हो भन्ने ठान्छन् उनी । चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुन सक्दैन । शक्तिशाली राष्ट्रका कुनै राष्ट्रप्रमुखले नेपाल भ्रमण गरेका छैनन् । पछिल्लो भेनेजुएला प्रकरणले त सरकार असंलग्न पराराष्ट्र नीतिमा समेत चुकेको छ, यो अवस्था किन र कसरी आयो सबै नेपालीले आत्मचिन्तन गर्नुपर्ने आवश्यकता छ ।

यतिबेलाको अपरिहार्यता र चुनौती भनेको नेपाली जनता र खासगरी युवावर्गमा देशप्रेमको भावना जगाउने, हीनतावोध या लघुताभाष हुन नदिने, राष्ट्रियताको लागि ऊर्जा पैदा गर्ने एउटा सङ्कल्प र अठोट लिने हो । यो ऊर्जाको लागि तमाम नेपालीको शिर उठाउनको लागि, आत्मबोधको लागि हामीले हाम्रो धर्म, संस्कृति, रीतिरिवाज, कुल, वंश–परम्परामा र नेपाली माटोमा गर्व गर्ने संस्कारको थालनी र विकास गर्नुपर्छ, यही आत्मसम्मान र गौरवको थालनी राप्रपाले आयोजना गर्न लागेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राले गर्नेछ ।

राष्ट्रिय स्वाभिमान यात्रा :

तत्कालीन राप्रपा नेपालले २०७१ पुस १८ गतेबाट झापाबाट शुरु गरी पुस ३० गते काठमाडौंमा समापन गरेको रथयात्राले ३० जिल्लामा १९२९ किलोमिटर पार गरी १०८ वटा सभा सम्पन्न गरेको थियो । राष्ट्रिय राजनीतिमा फरक धारको नेतृत्व गरेको राप्रपा नेपाल सशक्त पार्टी बन्नुमा र छोटो समयमा जनविश्वास आर्जन गर्नुमा यो रथयात्राको उल्लेख्य भूमिका रह्यो । यो यात्राले राप्रपा नेपाल मात्र स्थापित भएन, यसले उठाउँदै आएको हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दामा पनि पेचिलो बहसको शुरुआत भयो । आज राजा र हिन्दुत्वको पछाडि देखिएको अपार जनलहरको जग पनि यही रथयात्रा थियो भन्दा अतिरञ्जना ठान्नुपर्दैन ।

भारतमा काङ्ग्रेसको दबदबा लामो समयसम्म रह्यो । भारतीय जनता पार्टी त्यो समयमा सीमित सङ्ख्यामा संसद्मा उपस्थित थियो । नेताहरू अटलबिहारी वाजपेयी, लालकृष्ण अडवाणी, मुरलीमनोहर जोशी प्रभावशाली रहे तापनि हिन्दूवादी राष्ट्रवादी पार्टीलाई भारतीय जनताले पत्याएका थिएनन् । यसै सन्दर्भमा बीजेपीका प्रभावशाली नेता एलके अडवाणीको नेतृत्वमा भाजपाले सन् २५ सेप्टेम्बर १९९० देखि ३० अक्टोबरसम्म सोमनाथ–अयोध्या दश हजार किलोमिटर रामरथ यात्रा तय ग¥यो । बीजेपीको आयोजनामा हिन्दू राष्ट्रवादी, विश्व हिन्दू परिषद् र सङ्घ परिवार यो यात्रामा सम्मिलित थिए । प्रतिदिन तीन सय किलोमिटर यात्रा तय गर्ने यो यात्रामा आडवाणीले दिनको साना–ठूला ६ आमसभामा सम्बोधन गर्थे । यात्राको क्रममा विवाद, थुनछेक तथा केही हिंसाको घटना भए पनि यो यात्राबाट भारतको राष्ट्रियता मजबुत भयो । हिन्दू राष्ट्रवादी एकीकृत भए । आजको बीजेपीको सत्तारोहण र विकसित भारतको जग यही रथयात्रा हो । यसले बीजेपी स्थापित मात्र भएन, भारतीय जनतामा राष्ट्रिय स्वाभिमान थप मजबुत बन्यो ।

यसै पृष्ठभूमिमा राप्रपाले ०७५ फागुन १५ देखि ३० गतेसम्म मेची–काली राष्ट्रिय स्वाभिमान यात्रा ताप्लेजुङमा उद्घाटन गरी पश्चिम महाकाली हुँदै काठमाडौंमा आएर समापन गर्नेछ । पहिलो चरणमा २८०७ किलोमिटर तय गर्दै यात्रा ३६ जिल्लामा पुग्ने छ भने दोस्रो चरणमा ७७ जिल्लामै यो यात्रा पु¥याइनेछ । यो यात्राले धार्मिक सद्भावको अभिवृद्धि गर्नुको साथै राष्ट्रिय स्वाभिमानको जगेर्ना, राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाको लागि जनचेतनाको अभिवृद्धि गर्नुको साथै माहोल सिर्जना गर्नेछ । सङ्घीयता खारेजीको पक्षमा आवाज उठाउनुको साथै हरेक प्रकारको छुवाछुत सामाजिक विकृतिको विरुद्धमा सङ्कल्प प्रस्ताव पारित गरिनेछ । राप्रपाले फागुन ७ बाट आरम्भ गर्ने जनआन्दोलनमा सहयोग तथा सहभागिताको लागि जनतालाई आह्वान गर्नेछ ।

यही यात्राको पूर्वसन्ध्यामा यात्रालाई सफल बनाउन राप्रपा अध्यक्ष कमल थापाले मानसरोवर, प्रसिद्ध पाथीभरा देवी, कालिञ्चोक भगवती, दोलखा भीमसेनलगायतका नेपाल अधिराज्यका विभिन्न मठ, मन्दिर तथा शक्तिपीठको आरधना एवम् उपासना गरिसक्नुभएको छ ।

अध्यक्ष थापाको नेतृत्वमा हुने यो यात्रामा पार्टी कार्यकर्ता, विभिन्न धार्मिक समुदायका लब्धप्रतिष्ठित व्यक्तिहरू, समान विचारधाराका दल, समूह वा व्यक्तिहरू तथा ॐ कार परिवारमा रहेका व्यक्ति–समूहहरूको व्यापक उपस्थिति रहनेछ । अभियानपछि नेपालमा राष्ट्रवादी, हिन्दूवादी, राजसंस्थावादी जनताको शिर ठाडो हुनेछ । संवद्र्धनवादी विचारधाराको उदय हुनेछ, जसरी भारतमा रथयात्रापछि बीजेपी स्थापित भएको थियो । त्यसैगरी राष्ट्रवादी जनताको भरोसा र विश्वासयोग्य पार्टीको रूपमा राप्रपा स्थापित हुनेछ । प्रजातन्त्रवादीले बीपी, गणेशमान, किसुनजीलाई आदर्शको रूपमा सम्झना गर्छन् । कम्युनिस्टले पुष्पलाल, मनमोहन, मदनको जसरी स्मरण गर्छन्, राष्ट्रवादी आन्दोलनका एउटा अग्रज नेताको रूपमा नेपाली जनताले कमल थापाको नेतृत्वलाई भरोसा गर्नेछन् । यसले मुलुकमा वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको निर्माण र उदय हुनेछ, विश्वमा देखिएको राष्ट्रवादी रूझानलाई नेपालमा राप्रपाले नेतृत्व दिनेछ ।

पार्टी एकता :

राप्रपामा पार्टी एकताको बहस चल्दै गर्दा पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादी एकीकृत भएका छन् । यो स्वागतयोग्य कदम हो । सम्पूर्ण पार्टी एकताको लागि एक अग्रगामी कदम हो । तर, एकताको मसी सुक्न नपाउँदै दुवै पार्टीका करिब १०० जनाको हाराहारीमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरू, वरिष्ठ उपाध्यक्षद्वय केशरबहादुर विष्ट र दीपक बोहराको नेतृत्वमा सम्पूर्ण पार्टी एक हुनुपर्छ भन्दै दुवै पार्टीको आफ्नो पदाधिकारी तथा सदस्यहरूलाई पनि अत्तोपत्तो नदिइएको एकीकरण अपूर्ण र अदूरदर्शी छ भनेर विद्रोह भएको छ । यसले त्यो एकताको औचित्यमा प्रश्न खडा गरेको छ । राप्रपा अध्यक्ष कमल थापासँग तीनैवटा पार्टीको एकीकरण गर्ने भनिएर तयार पारिएको दस्तावेज प्रयोग गरेर, स्थान तिथि, मिति तय गरेर पनि केही समय मागेर पछि हटेका हाल राप्रपा संयुक्तका नेताहरूको मनसाय पार्टी एकतामा भन्दा पदीय भागबन्डामा बीढ चासो रहेको प्रस्ट छ । यसले संशय र आशङ्का पैदा गरेको छ ।

सङ्घीय सांसद, प्रदेश सभा, स्थानीय निकायमा प्रतिनिधित्व तथा निर्वाचनको मत हेर्ने हो भने राप्रपा संयुक्तभन्दा करिब दोब्बर मत रहेको महाधिवेशनबाट पारित गरिएको दस्तावेजसमेत हेर्दा मूलधारको पार्टी राप्रपा नै हो । अहिले बिनासल्लाह गरिएको एकीकरणको मकसद भनेको राप्रपाले गर्ने स्वाभिमान यात्रालगायतको कार्यक्रमलाई बाधा खडा गर्ने र कार्यकर्ता तथा जनतामा भ्रम सिर्जना गर्ने मनसाय देखिन्छ । अबको विकल्प भनेको कि सबै नेताले आफे व्यक्तिगत कुण्ठा र आकाङ्क्षालाई थाती राखेर बृहत्तर राष्ट्रिय हित र नेपाली जनताको भावनालाई सम्मान गर्दै एकताको वातावरणमा जानुपर्छ, नभए नेपाली जनता पर्खेर बस्ने मुडमा छैनन् । अहिले काङ्ग्रेस, कम्युनिस्टमा पनि सोही नामका स–साना पार्टीहरू अस्तित्वमा छन्, तर ती पार्टीहरूको राष्ट्रिय राजनीतिमा प्रभाव शून्य अवस्थामा रहेका प्रस्टै छ । समयमै बुद्धि नपु¥याए राप्रपाका चोइटिएकाहरूको पनि त्यही अवस्था हुनेछ । नेपाली जनताले राष्ट्रवादी अभियानलाई अगाडि बढाउन, नेपालमा हिन्दूराष्ट्र–राजसंस्था पुनस्र्थापना गर्न, राष्ट्रियताको जग मजबुत बनाउन तथा संवद्र्धनवादी विचारधारालाई स्थापित गराउन नेपाली जनताले राप्रपालाई मूलधारको वैकल्पिक प्रजातान्त्रिक पार्टीको रूपमा स्थापित गर्नेछन् । सरोकारवालाहरूले अब मुलुकलाई निकास दिन ढिला नगरौँ, सम्पूर्ण देशभक्त प्रजातान्त्रिक शक्तिहरू राप्रपासँग सहकार्य र एकता गरौँ, आजको समयको माग यही हो ।

(लेखक राप्रपाका केन्द्रीय सदस्य एवम् प्रवास विभाग प्रमुख हुन् ।)