पूर्वमन्त्री जोशीद्वारा वीर अस्पतालमा ‘गजेन्द्र स्मृति कोष’ स्थापना

पूर्वमन्त्री जोशीद्वारा वीर अस्पतालमा ‘गजेन्द्र स्मृति कोष’ स्थापना


नेपाली कांग्र्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले वीर अस्पतालमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । नेता जोशीले आफ्ना स्वर्गीय पिता गजेन्द्रराज जोशीको स्मृतिमा शुक्रबार रु. १० लाख राशिको गजेन्द्र स्मृति कोष स्थापना गरेका हुन् ।

नेता जोशीकी आमा गीता जोशीले अस्पतालका कार्यकारी निर्देशक भूपेन्द्र बस्नेतलाई उक्त रकम हस्तान्तरण गरेकी छिन् ।

कार्यक्रममा नेता जोशीले अर्थभावका कारणले कुनै पनि बिरामी औषधि उपचारबाट वञ्चित हुन नपरोस् भन्नका लागि उक्त कोष स्थापना गरिएको जानकारी दिए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. सुबोध अधिकारीले कांग्रेस नेता जोशीले गरिब तथा असहायको उपचारका लागि गरेको सहयोग उदाहरणीय रहेको बताए ।

न्याम्सका रजिस्ट्रार डा. विश्वराज जोशीले उपचारका लागि आउने असहाय बिरामीलाई यस कोषबाट उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । अस्पतालका कार्यकारी निर्देशक डा. बस्नेतले अक्षयकोषको सदुपयोग गर्ने र आगामी दिनमा यस्ता कोषलाई थप गर्दै लैजाने बताए ।

गजेन्द्रराज जोशी जिउँदो हुँदा नै शिक्षा क्षेत्रको विकासका लागि पर्सामा नेपाल राष्ट्रिय गीता–गजेन्द्रराज जोशी माध्यमिक विद्यालय स्थापना गरिएको उनका छोरा राजुराज जोशीले जानकारी दिए । गजेन्द्रराज जोशीको गत वर्ष माघ ५ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।