जोखिममा ‘दशरथ रंगशाला’

जोखिममा ‘दशरथ रंगशाला’


sportनरशमशेर राणाले जग हालेको नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला ‘दशरथ रंगशाला’ वैशाख १२ गते आएको भूकम्पका कारण नाजुक अवस्थामा पुगेको छ । विज्ञहरूको सुझावअनुसार दशरथ रंगशाला जोखिममा परेको यथार्थलाई आत्मसात् गर्दै गत वर्षदेखि राष्ट्रिय खेलकुद परिषद्ले रंगशालाको पुनर्निर्माणको कार्य थालनी गरिएको थियो । सोअनुरूप दशरथ रंगशालाको दक्षिण–पूर्व प्याराफिटलाई जोखिमपूर्ण क्षेत्र घोषणा गर्दै नयाँ पिलर राखेर निर्माण कार्यलाई अगाडि बढाइएको थियो । अहिले नयाँ पिलर राख्ने कार्य सम्पन्न भए पनि भूकम्पले ती प्याराफिटलाई नराम्रोसँग प्रभावित पारेको छ । यदि नयाँ पिलर नराखिएको भए दशरथ रंगशाला पनि भग्नावशेषमा परिणत हुने निर्माण कार्यमा संलग्न एक इन्जिनियरले बताएका छन । उनले निर्माणका क्रममा पुराना सिमेन्टका पिलरहरू प्रायः माटोका पिलरमा परिणत भएकाले प्याराफिटलाई धान्न नसक्ने प्रस्ट पारेका थिए । धन्न समयमै कार्य थालियो, रंगशाला भग्नावशेषमा परिणत हुनबाट बच्यो । स्मरण रहोस्, राखेपका सदस्यसचिव युवराज लामाले रंगशाला निरीक्षणका क्रममा पुराना पिलरबारे जानकारी लिँदा ती पिलरलाई कोट्याएर हेर्दा पुराना पिलरका म्याटरहरू फुसफुसे माटोमा परिणत भएको पाइएको थियो ।
चार दशकअघि तत्कालीन सदस्यसचिव कुमार खड्गविक्रम शाहको पालामा चीन सरकारको सहयोगमा दशरथ रंगशालाको प्याराफिटको निर्माण गरिएको थियो । सन् १९९८ मा आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को क्रममा चीन सरकारको सहयोगमा नै आधुनिक रंगशालाको निर्माण गरिएको थियो । त्यसबेला प्याराफिट, आठ लाइनको सेन्थेटिक ट्रयाक, फ्लड लाइट, स्कोरिङबोर्ड र साउन्ड सिस्टम निर्माण गरिए पनि आधारस्तम्भ पिलरको निर्माणचाहिँ भएको थिएन । पुराना पिलरलाई जस्ताको त्यस्तै राखी रंगशालालाई सिँगार्ने कार्य मात्रै भएको थियो । तत्कालीन राजा वीरेन्द्रको चीन भ्रमणपछि चीन सरकारले खेलकुदको विकासका लागि ५४ करोड प्रदान गरेको थियो । पछि सोही रकम रंगशालाको पुनर्निर्माणमा लगाइएको थियो । सन् २०१४ मा रंगशालाको दक्षिण–पूर्वी भाग जोखिमग्रस्त भएको प्रमाणित भएपछि सदस्यसचिव युवराज लामाले नयाँ पिलर थप्ने र सिट हाल्ने कार्य गरेका थिए । साथै पिलरको कार्य सकिएपछि रंगशालामा छत हाल्ने योजना रहेको थियो । तर, विडम्बना, वैशाख १२ गते आएको भूकम्पका कारण दशरथ रंगशाला नराम्रोसँग प्रभावित भएपछि छत हाल्ने कार्य अन्योलमा परेको छ ।
वर्तमान अवस्थामा भूकम्पका कारण दशरथ रंगशालाको उत्तर, दक्षिण र पूर्वपट्टिका तीनै प्याराफिटमा ठूलाठूला धाँजा र थुप्रै चिरा परेका छन् । प्याराफिटमुनिको जमिन भासिएर भुइँमा समेत धाँजा र चिरा परेका छन् । जमिन भासिँदा प्याराफिट पनि भासिएको छ । प्याराफिटमा परेका ठूलाठूला धाँजा र चिराले सुरक्षित रंगशालाको चुनौतीमाथि पुनः प्रश्न खडा गरिदिएको छ । रंगशाला अवलोकन गरेर साँचो रूपमा विश्लेषण गर्दा दशरथ रंगशाला निकै जर्जर र जोखिमपूर्ण अवस्थामा रहेको प्रस्ट रूपमा अनुमान र अड्कल लगाउन सकिन्छ । पूर्वपट्टिका प्याराफिट उक्लने दुवै सिँढीहरू भूकम्पको प्रभावले ढल्न मात्र बाँकी छन् । त्यस्तै सिँढीसँगै जोडिएका प्याराफिट भासिएर ठूलाठूला धाँजा र चिरा परेका छन् । ती धाँजा र चिराहरू प्याराफिटको माथिसम्म फैलिएर रंगशालाको वास्तविकतालाई झल्काइरहेका छन् । तसर्थ हिजोसम्म नयाँ पिलर खडा गरेर ती प्याराफिटमा दर्शकहरूलाई राख्न सकिने अवस्था भए पनि भूकम्पपश्चात् ती प्याराफिट अझ संवेदनज्ञशील बनेका छन् । ती प्यारापिट भासिएकाले सुरक्षाका दृष्टिकोणले पनि त्यहाँ दर्शकहरू राख्न मिल्दैन । तसर्थ चर्किएर जोखिममा परेको दशरथ रंगशालालाई अब निर्माण, पुनर्निर्माण कसरी गर्ने त्यो अहम् विषय बनेको छ । यसप्रति सम्बन्धित निकाय गम्भीर हुनुपर्ने आजको आवश्यकता भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्की इन्जिनियर तिलोत्तमा बस्यालले दशरथ रंगशाला जोखिममा रहेको प्रस्ट पारेकी छिन् । बस्यालले कर्ड संस्थालाई रंगशालाका पिलरहरू टेस्ट गराउँदा ह्रास हुँदै गएको रिपोर्ट पेस गरेको र त्यसको उचित मर्मतसम्मार गरिनुपर्ने जानकारी दिएको बताएकी छिन् । सोहीअनुरूप नयाँ पिलरको निर्माण गरेर रंगशालालाई सुरक्षित बनाउन लागिएको उनको कथन थियो । भूकम्प आउनुअघि पूरै रंगशाला जोखिममा थियो, अहिले निर्माण गरिएका नयाँ पिलरले ओगटेका ठाउँहरू सुरक्षित रहेको र अन्य भाग जोखिममा रहेको बस्यालले बताएकी छिन् । उनले यतिबेला भूकम्पका कारणले रंगशालाका धेरै भाग भासिएकाले पूर्ण निरीक्षणबिना केही भन्न नसकिने बताएकी छिन् । ब्रिकवाला भत्काएर कङ्क्रिडवाल नयाँ पिलर नबनुन्जेल रंगशालाको सुरक्षाको ग्यारेन्टी आफूले गर्न नसक्ने बस्यालको राय थियो । वर्तमान अवस्थामा रंगशालाका प्रायः पिलरहरू ब्रिकवाला भएकाले सुरक्षाका दृष्टिकोणले यसलाई उपयुक्त मान्न सकिँदैन । तसर्थ रंगशालालाई प्रयोगमा ल्याउनुअघि यसको वैज्ञानिक तरिकाले निरीक्षण हुनुपर्ने, विज्ञहरूको रायसल्लाह र उनीहरूले दिएको रिपोर्टअनुसार मर्मतसम्भार गरेर मात्रै रंगशालालाई प्रयोगमा ल्याउन सकिन्छ । अन्यथा कुनै पनि जोखिम उठाउनु भनेको मूर्खता मात्रै ठहरिने बस्यालको दाबी थियो । दशरथ रंगशालाको तिनै प्याराफिट जोखिममा पर्दा पश्चिमपट्टिको भीआईपी प्याराफिट भने सामान्य अवस्थामा रहेको छ । यसलाई भूकम्पले हल्लाए पनि कुनै क्षति भने पु-याएको छैन । प्याराफिटमा सामान्य चिराबाहेक केही देखिएको छैन । यसबारेमा इन्जिनियर बस्यालसँग प्रश्न राख्दा उनले त्यसको पिलर मजबुद कङ्क्रिडले बनेकाले भूकम्पको प्रभाव नपरेको बताइन् । त्यस्तै राखेपका सदस्यसचिव युवराज लामाले रंगशालाको अस्तित्व सङ्कटमा परेकाले सरकारले खेलकुदको धरोहरको रूपमा परिचित दशरथ रंगशालालाई विशेष प्राथमिकतामा राखी निर्णय गर्ने बेला आएको बताएका छन् । उनले नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालाको साख बचाउन दलीय स्वार्थभन्दा माथि उठेर सोच्नुपर्ने कुरालाई प्रस्ट पारेका थिए ।
भूकम्पले दशरथ रंगशालालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पारेपछि यसको सुनिश्चित भविष्यमाथि ठूलो प्रश्नसँगै वादविवाद र चर्चा–परिचर्चा चल्न थालेका छन् । कोही भन्न थालेका छन्– यो रंगशाला पूरै भत्किदिएको भए हुन्थ्यो, आखिरमा नयाँ त बन्थ्यो । कोही भएको एउटा रंगशालाको यस्तो गति र दुर्दशा भयो भनेर अपसोच प्रकट गरिरहेका छन् । जे–जस्तो थियो त्यस्तै भए पनि काम त चलेको थियो भन्ने पनि कम छैनन् । तर, यो चर्चा–परिचर्चामा दशरथ रंगशालालाई माया गर्नेहरूको राय भने भिन्दै छ । उनीहरू दशरथ रंगशालाले काँचुली फेरेको हेर्न चाहन्छन् । अन्तर्राष्ट्रिय रंगशालाको नयाँ स्वरूपमा दशरथ रंगशालालाई हेर्न चाहन्छन् । रंगशालाप्रति सबैको आ–आफ्नो सद्भाव र लगाव छ । र पनि, सबैका लागि उपयोगी दशरथ रंगशाला सधैँ उपेक्षित बन्दै गएको तीतो सत्य हाम्रोसामु छ । यस्तो अवस्थामा अहिले विभिन्न तर्क–बितर्कहरू खेलकुदको भविष्यसँग जोडिएर अगाडि आएका छन् । त्यसैले भूकम्पले तरङ्गित रंगशालालाई पुनर्निर्माण गर्ने कि जगदेखि नै नयाँ बनाउने त्यो अहम् विषय बनेको छ । भन्नेहरू भन्न थालेका छन्, ‘पहिले कति लागतमा दशरथ रंगशालाको निर्माण भएको थियो ? अहिले पुनर्निर्माण गर्दा कति खर्च लाग्छ र नयाँ बनाउँदा कति खर्च लाग्छ ? अर्को कुरा मर्मत गर्दा कति सुरक्षित हुन्छ र नयाँ बनाउँदा कति ? त्यसको खाका बनाएर मात्रै रंगशालाको बारेमा दूरदर्शी भएर सोच्नुपर्छ ।’ यसरी यिनै तर्क–वितर्क माझमा दशरथ रंगशालाको भविष्य दाउमा लागेको छ । वर्तमान स्थितिमा रंगशालाले नयाँ पिलरसँगै आफूलाई बलियो रूपमा स्थापित गर्न खोजिरहेको अवस्थामा भूकम्पको प्रभाव उसका लागि चुनौती बनेको छ । यस्तो अवस्थामा रंगशाला पनि चेपुवामा परेको छ । उसको भविष्यमाथि पनि शङ्काका बादलहरू मडारिएका छन् । जुन छाँटिन कति वर्ष लाग्ने हो त्यो गर्भकै विषय बनेको छ । आशा गराँै, भूकम्पको निहुँमा दशरथ रंगशालाको कायापलट होस्, नयाँ काँचुली फेरोस् ।

खेल समाचार
खेलाडी कोषबाट प्रत्येकलाई एक–एक लाख
राष्ट्रिय खेलाडी कल्याणकारी कोषले वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण ज्यान गुमाएका एक प्रशिक्षक र एक पाराएथलेटिक्स खेलाडीका परिवारलाई समान एक–एक लाख प्रदान गर्ने भएको छ । कोषका अध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाको अध्यक्षतामा बसेको बैठकले मृतकका परिवारलाई एक–एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
भलिबल मुख्य प्रशिक्षक मकवानपुरका केशवलाल श्रेष्ठ र दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ एसियाली पारा खेलकुदमा सहभागी सिन्धुपाल्चोकका जितबहादुर खड्काको उक्त भूकम्पका कारण निधन भएको थियो । श्रेष्ठ पूर्व राष्ट्रिय भलिबल खेलाडीसमेत भएकाले कोषबाट आर्थिक सहयोग उपलब्ध गराउन लागिएको कोषका सदस्यसचिव एवम् नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक विष्टले जानकारी गराएका थिए ।
यसअघि गतसाता बसेको कोषको बैठकले उक्त विनाशकारी भूकम्पका कारण ज्यान गुमाएका नुवाकोटका जुडो खेलाडीत्रय अनिशा डङ्गोल, नीलम डङ्गोल र नारायण तामाङ, कराते खेलाडीद्वय तनहुँका चन्द्रकुमार श्रेष्ठ र नुवाकोटका सुरज डङ्गोल तथा सिन्धुपाल्चोकका क्रिकेट खेलाडी मनोज पण्डितका परिवारलाई पनि आर्थिक सहयोगस्वरूप एक–एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
त्यसैगरी, मंगलबारकै बैठकले सो भूकम्पका कारण ज्यान गुमाएका गोरखापत्र दैनिकका खेल पत्रकार मकवानपुरका सुमन भोम्जनको परिवारलाई पनि एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो । खेल पत्रकार सुमनको हकमा प्राकृतिक विपत्मा परेको हुनाले पछि नजिर नरहने गरी कोषबाट आर्थिक सहयोग उपलब्ध गराउन लागिएको कोषका सदस्यसचिव दीपक विष्टले जानकारी गराए ।
बैठकले भूकम्पबाट पूर्ण रूपमा घर क्षतिग्रस्त भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई २० हजार रुपैयाँबराबरको राहत सामग्री प्याकेजस्वरूप प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै पछि प्राप्त हुने क्षतिका सम्बन्धमा सम्बन्धित खेलको राष्ट्रिय सङ्घ र सम्बन्धित निकायको सिफारिसउपर नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको सिफारिसबमोजिम खेलाडी कल्याणकारी कोषको राहत रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

ट्याक्सीचालकको उदारता
अमेरिकामा बस्दै आएका पूर्वकराते खेलाडी उज्ज्वलसिंह ठकुरीले विनाशकारी भूकम्पबाट पीडितका लागि आर्थिक सहयोग गर्ने भएका छन् । वासिङ्टन डीसीमा ट्याक्सी चलाउँदै आएका ठकुरीले एक वर्षका लागि प्रतिमहिना दुई सय अमेरिकी डलरका दरले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घमार्फत सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको खेलाडी सङ्घका अध्यक्ष दीपक विष्टले जनाएका छन् । ‘म सधैँभन्दा दिनको दुई–चार घन्टा बढी ट्याक्सी चलाएर भए पनि प्रत्येक महिना एक वर्षसम्मका लागि दुई सय डलर आर्थिक सहयोग तपाईंहरूको खेलाडी सङ्घमार्फत पठाउनेछु,’ ठकुरीलाई उद्धृत गर्दै खेलाडी सङ्घका अध्यक्ष विष्टले जानकारी गराएका छन् ।

एनटीएद्वारा माझीटारमा राहत
नेप्लिज तेक्वान्दो एकेडेमीले नुवाकोटको विदुर नगरपालिकास्थित माझीटारका भूकम्पपीडितलाई हालै राहत सामग्री वितरण गरेको छ । पचास घरधुरीलाई चामल, दाल, नुन, तेल, चिउरा र चाउचाउ वितरण गरिएको एकेडेमीका अध्यक्ष एवम् तेक्वान्दो खेलाडी अशोक खड्काले जनाएका छन् । अशोकसहित मिसेज नेपाल रजनी थापा, मोडेल एवम् व्यवसायी नीराजन सिंह, राष्ट्रिय तेक्वान्दो खेलाडी रोहित तामाङलगायतले राहत वितरण गरेका थिए ।
यसअघि एकेडेमीले आफ्नै पहलका साथै बेसिङस्टोक नेप्लिज कम्युनिटी (यूके), युनाइटेड तेक्वान्दा एकेडेमी (हङकङ), स्टोर्मबोली सिड्नी टिम (अस्टे«लिया) र ब्लाइन रोमरेल (अमेरिका) को सहयोगमा राहत सामग्री साँखु, गागलफेदीको सान्टारी, आलापोट, मेलम्ची, भक्तपुरको सिपाडोल, चाँगुनारायण, सिन्धुपाल्चोकको भोडसिपा र मेलम्ची, लप्सिफेदी, झाँसीटार तथा माल्टाका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरिएको अध्यक्ष अशोकले जानकारी गराए । उनका अनुसार हालसम्म १० लाख रुपैयाँभन्दा बढीको राहत वितरण गरिसकिएको छ ।

रसुवामा करातेको राहत
रसुवाका तीन गाविस भोर्ले, लहरे र उपल्लो रुकसेपानीका भूकम्पपीडितलाई नेपाल कराते महासङ्घ र नेपाल सितोरियो कराते सङ्घले गत साता राहत सामग्री उपलब्ध गराएको छ । तीनवटै गाविसमा दुई सय बोरा चामल, २५ बोरा चिउरा, वाइवाइ एक सय कार्टुन, त्रिपाल दुई सय २५ थान, भाँडाकुँडा दुई सय २५ थान, १२ बोरा दाल, पानी ५० कार्टुन, पियूश र औषधि गरी करिब ६ लाख १० हजार मूल्यबराबरको सामग्री राहतस्वरूप वितरण गरिएको कराते महासङ्घ तथा सितोरियो सङ्घका अध्यक्ष दावा गुरुङले जनाएका छन् ।
भार्ले र लहरेमा दाबासहित महासङ्घका सदस्य राजेश अधिकारी, सितोरियो सङ्घका सदस्य राम थारू, रसुवा जिल्ला कराते सङ्घका पदाधिकारी, खेलाडीलगायतले राहत वितरण गरेका थिए । त्यस्तै उपल्लो रुकसेपानीका पीडितका लागि सम्बन्धितलाई हस्तान्तरण गर्न त्यहाँको स्थानीय समितिलाई प्रदान गरिएको बताइएको छ ।

गल्फ सङ्घको अगुवाइमा राहत वितरण
नेपाल गल्फ सङ्घको अगुवाइमा विभिन्न जिल्लाका भूकम्पपीडितलाई राहतका रूपमा त्रिपाल र कम्बल वितरण गरिएको छ । सङ्घका शुभेच्छुकबाट सङ्कलित रकमबाट सङ्घले हजार थान त्रिपाल र हजार थान कम्बल खरिद गरी पीडितलाई वितरण गरेको हो । अमेरिकाको टेक्सस राज्यस्थित गल्फ इन स्कुल्सका सञ्चालक आरोन बर्गम्यानबाट प्राप्त चार हजार अमेरिकी डलर र घले ब्रदर्सबाट प्राप्त सात लाख ५० हजारबाट राहत सामग्री खरिद गरिएको र नपुग रकम सङ्घको आन्तरिक स्रोतबाट व्यहोरिएको सङ्घका महासचिव टासी घलेले बताए ।
सङ्घका महासचिव घलेको नेतृत्वमा कोषाध्यक्ष किसन अग्रवाल, नेपालका नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठ, अर्का व्यावसायिक गल्फर दीपक थापामगरको टोलीले शुक्रबार काभ्रेको ढुङ्खर्क गाविसका पीडितलाई त्रिपाल र कम्बल वितरण गरेको छ । टोलीले पीडितलाई दुई सय ५२ थान त्रिपाल तथा ढुङ्खर्क स्वास्थ्य चौकी र मुक्तेश्वर महादेव वृद्धाश्रमलाई दुई सय थान कम्बल वितरण गरेको थियो । सङ्घले तत्काल गोरखा, रुसुवा, नुवाकोट र ललितपुरमा गरी त्रिपाल र कम्बल वितरण गर्ने महासचिव घलेले जानकारी गराएका छन् ।
गल्फ खेलाडी र क्याडी भूकम्पबाट पीडित भएको खण्डमा रोयल एन्ड एन्सेन्टले सहयोग गर्ने बताउँदै महासचिव घलेले पीडितलाई सङ्घमा सम्पर्क गर्न अनुरोध गरेका छन् । उनले भने– सबै सङ्घ लागिपरेको खण्डमा पीडित खेलाडीलाई सहयोग गर्न सहज हुन्छ । त्यसो हुँदा सानो कामका लागि सरकारको मुख ताक्नुपर्ने अवस्था रहन्न । घलेले कोरिया गल्फ सङ्घ र चीन गल्फ सङ्घमार्फत भूकम्पपीडितलाई त्रिपालको पहल गरिने बताए । अहिलेको मुख्य आवश्यकता भनेको त्रिपाल नै देखिएको छ । पीडितलाई त्रिपाल मात्र पठाउन सके पनि ठूलो राहत पुग्नेछ । त्यस्तै नेपाल गल्फ सङ्घले भूकम्पमा परी ज्यान गुमाएका खेल पत्रकार सुमन भोम्जनको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

सुमनको स्मृतिमा खेल पत्रकारिता पुरस्कार
वैशाख १२ गतेको भूकम्पमा परी काठमाडौंमा निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा उनी संस्थापक अध्यक्ष रहेको नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाले सुमन स्मृति खेल पत्रकारिता पुरस्कार स्थापना गरेको छ । शाखाका कार्यबाहक अध्यक्ष राजन दाहाल ‘रसिक’को अध्यक्षतामा हेटौँडामा भएको बैठकले भोम्जनको स्मृतिमा मञ्चको आयोजनामा हरेक वर्ष एकजना पत्रकारलाई प्रदान गर्ने गरी पाँच हजार रुपैयाँ नगद राशिको पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको मञ्च सचिव सविन न्यौपानेले जानकारी दिएका छन्
। यसैगरी भोम्जन कार्यरत गोरखापत्र संस्थानले उनको नाममा एक लाखको अक्षय कोष स्थापना गरी पुरस्कार स्थापना गर्ने भएको छ । मकवानपुर शाखाले पहिलोपटक हेटौँडामा आयोजना गर्ने निर्णय गरेको एचएसएम स्पोर्टस् अवार्ड उनको निधनपछि असार ५ गतेका लागि
सारिएको मञ्च सदस्य सुवास विडारीले जानकारी दिए । बैठकले भोम्जनको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।