पाटा एडभेन्चर ट्राभल मार्टमा नेपाल प्रवद्र्धन

पाटा एडभेन्चर ट्राभल मार्टमा नेपाल प्रवद्र्धन


भारतको उत्तराखण्डस्थित ऋषिकेशमा आयोजित ‘पाटा एडभेन्चर ट्राभल एण्ड रेस्पोंसिबल टुरिजम कन्फेरेन्स एण्ड मार्टु’मा नेपालको साहसिक तथा अध्यात्मिक पर्यटन प्रवद्र्धन गरिएको छ । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) ले यही फागुन १, २ र ३ गते सम्म आयोजना गरेको उक्त मार्टमा पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपालका छ निजी पर्यटन व्यावसायिक संस्थाले सहभागिता जनाएका थिए ।

कैलाश ग्रुप नेपाल, केजीएच ग्रुप अफ होटेल एण्ड रिसोर्ट, हिमालयन होलिडेज, कम्युनिटी होमस्टे, नेपाली घर होटेल र अभिवादन एक्सपीडिसन होलिडेजले प्रभावकारी सहभागिता जनाएका हुन् । उत्तराखण्ड टुरिजम डेभलपमेन्ट बोर्डको आतिथ्यतामा आयोजित उक्त मार्टमा २८ वटा विभिन्न मुलुकबाट सरकारी तथा निजी क्षेत्र सम्बद्ध ३०० सहभागी थिए । जसमा नेपाल, भारत, भूटान, म्यान्मा, इण्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायत १० वटा गन्तव्य देशबाट ४७ बिक्रेता र अस्ट्रेलिया, क्यानडा, चीन, कोरिया, स्पेन, युके, अमेरिकालगायत १८ वटा विभिन्न स्रोतबजारबाट ४४ क्रेतको उल्लेख्य सहभागिता रहेको थियो ।

‘रेजुभने युवर सोउल थ्रु ट्राभल’ मूल विषयमा केन्द्रित एकदिने कन्फेरेन्समा ‘स्टोरी टेलिङ टु सेल ट्राभल अन इन्स्टाग्राम, टूल फर रेजुभनेशनु, र ‘भिजन ड्रिभन लिडरशिप इन एडभेन्चर टुरिजम’लगायत विविध शीर्षकमा वक्ताले आआफ्नो प्रस्तुति दिएका थिए । बोर्डका बजार व्यवस्थापक श्रद्धा श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेका थिए । पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले नेपाल, भारत र भूटानको दिगो तथा जिम्मेवार पर्यटन विकासका लागि तीनै राष्ट्रबीच संयुक्त पहल र सहकार्यका लागि पाटाअन्तर्गत आवश्यक पहल गर्नुपर्ने धारणा राखेका थिए ।

मार्टमा नेपालको आध्यात्मिक तथा धार्मिक पर्यटन सम्बन्धित प्रोडक्ट र सम्भावनालाई स्थानीय एवं विदेशी सहभागीमाझ प्रवद्र्धन तथा उजागर गर्ने उपयुक्त माध्यम बनेको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताए । योग क्यापिटलका रुपमा सुप्रशिद्ध ऋषिकेशमा वार्षिक ३५ लाख श्रद्धालु तथा पर्यटकले भ्रमण गर्ने गर्दछन् ।