निर्वाचनमा पराजय व्यहोरेको एक वर्षपछि चितवनमा कांग्रेसको प्रशिक्षण

निर्वाचनमा पराजय व्यहोरेको एक वर्षपछि चितवनमा कांग्रेसको प्रशिक्षण


नेपाली कांग्रेसले चितवनले प्रत्येक स्थानीय तहमा आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ । गत निर्वाचनमा जिल्लाका अधिकांश स्थानीय तह, प्रदेश र संघमा पराजय भोगेको चितवन कांग्रेसले नेता–कार्यकर्तालाई प्रशिक्षण दिन थालेको हो । हरेक वडा समितिका नेतृत्व तहलाई प्रशिक्षक झिकाएर बन्दकोठामा प्रशिक्षण शुरु गरेको हो । नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले गत महिनाबाट अभियान शुरु गरिएको जानकारी दिए । गत माघ १२ गते माडीमा पार्टीका केन्द्रीय सदस्य गगनकुमार थापाको उपस्थितिमा प्रशिक्षण गराइएको थियो ।

सभापति श्रेष्ठका अनुसार माघ १६ गते खैरहनी नगरपालिकामा पार्टीका नेता धनराज गुरुङ र जीवन परियारले प्रशिक्षण दिएका थिए । त्यसैगरी, माघ १९ गते राप्ती नगरपालिकामा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता महेश आचार्य र बद्री पाण्डेले प्रशिक्षण दिएका थिए । कांग्रेस भरतपुर नगरसमितिले यही फागुन ७ गते पुरुषोत्तम दाहाल र जीवन परियार बोलाएर प्रशिक्षण दिन लागेको समितिका सभापति भरत अधिकारीले बताए । यसैगरी, रत्ननगर नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि प्रशिक्षण गर्ने तयारी भइरहेको कांग्र्रेसले जनाएको छ ।

सभापति श्रेष्ठका अनुसार पार्टीको हालै मात्र सम्पन्न महासमिति बैठकले गरेका निर्णयबारे स्थानीय तहका नेताहरूलाई जानकारी गराउन, सरकारका गलत गतिविधिबारे प्रशिक्षित गराउन, कांग्रेसको सिद्धान्त व्यवहारमा उतार्न र आउँदो निर्वाचनमा सबै तहमा जित सुनिश्चित गर्न जिल्लाव्यापी रूपमा प्रशिक्षण थालिएको हो । प्रशिक्षणमा हरेक वडाबाट कम्तीमा ४० प्रतिशत महिलासहित १० जना स्थानीय नेतालाई प्रशिक्षणमा राखिएको छ । गत निर्वाचनमा संघ र प्रदेशका सबै निर्वाचनमा कांग्रेसले हार व्यहोरेको थियो भने स्थानीय तहमा गाउँपालिकाबाहेक अन्यत्र कांग्रेसको नेतृत्व शून्य भएको थियो