विद्यार्थीद्वारा विज्ञान विषयक ज्ञानवर्द्धक प्रदर्शनी

विद्यार्थीद्वारा विज्ञान विषयक ज्ञानवर्द्धक प्रदर्शनी


बाफल (काठमाडौं)को हर्टल्याण्ड एकेडेमीका विद्यार्थीले यस वर्ष पनि विद्यालय परिसरमा एकदिने विज्ञान प्रदर्शनीको आयोजना गरेका छन् । सो स्कूलका विद्यार्थीले हरेक वर्ष यस किसिमको इनोभेटिभ कार्य गर्दै आएका छन् ।

केही दिनअघि सम्पन्न सो विज्ञान प्रदर्शनीमा कक्षागत रुपमा विद्यार्थीहरुले समूह बनाएर विज्ञानका विभिन्न विषयहरूमाथि प्रदर्शनी गरेका थिए ।

एकदिने विज्ञान प्रदर्शनीमा १३ वटा स्टल थियो । प्रदर्शनीमा युकेजी लेभलका विद्यार्थीले तरकारीमाथि प्रयोग गरेका थिए । तिनले तरकारी काटेर राख्दा किन कालो हुन्छ भन्ने कुरा आगन्तुकलाई जानकारी गराएका थिए ।

यसैगरी कक्षा एकका विद्यार्थीले जीव र निर्जीव जीव–जन्तुका विषयमाथि वैज्ञानिक प्रदर्शन गरेका थिए भने कक्षा २ का विद्यार्थीले ट्राफिक लाइटसम्बन्धी जानकारी दिए । तिनले ट्राफिक लाइटको महत्व र उपादेयताका बारेमा जानकारी पनि दिए । कक्षा ३ का विद्यार्थीले चाहिँ सोलिड अब्जेक्ट्सका विषय प्रस्तुत गरेका थिए ।

यस्तै, कक्षा ४ का विद्यार्थीले मानव शरीरले कसरी काम गर्छ र कुन अंगको काम के हो भनेर देखाएका थिए भने कक्षा ५ का विद्यार्थीले पानीमा बस्ने जीवजन्तुका विषयमा विस्तृत जानकारी दिए । कक्षा ६ का विद्यार्थीले साउण्ड सिस्टमका बारे, ७ का विद्यार्थीले मुटुले काम गर्ने तरिकाका विषयमा विभिन्न प्रयोग गरेर देखाएका थिए । तिनले मुटुले रक्त संचालन कसरी गर्छ भन्ने डायाग्राम बनाएर देखाए ।

कक्षा ८ का विद्यार्थीले साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स (एसटीईएम) सबैको कलेक्टीभ भर्सन प्रयोग गर्दै रोवोट जस्तो यन्त्र बनाएर प्रदर्शन गरेका थिए । यो प्रयोग र प्रदर्शन साइन्स प्रदर्शनीको प्रभावकारी प्रदर्शन थियो । यस किसिमको कार्य स्कूलमा पहिलो पटक गरिएको थियो ।

त्यस्तै, ९÷११÷१२ कक्षाका विद्यार्थीहरुले स्ट्रिट लाईट र ग्रीन हाउस लाइटिङ सिस्टम, लाइटको आधारमा साउण्ड सिस्टमले काम गर्ने तरिकाको प्रदर्शन लाईफाई प्रदर्शन र दृष्टिविहीनहरूले प्रयोग गर्ने सेतो छडीमा सेन्सर जोडेर त्यो सेन्सरले पैदल हिँड्दा तिनलाई सचेत गराउने प्रविधिहरूको प्रयोग र प्रदर्शन गरिएको थियो । दृष्टिविहीनका लागि तयार गरिएको सेन्सर स्टीक अर्थात स्मार्ट छडीको प्रशंसा गरिएको थियो । विद्यालयको सो साइन्स प्रदर्शनीमा कलासम्बन्धी कार्य तथा पाक शास्त्रसम्बन्धी प्रदर्शन पनि गरिएको थियो ।

विद्यार्थीहरूलाई प्रयोगात्मक ज्ञान पनि होस् भनेर यस किसिमको कार्य गरिएको स्कूलका प्रिन्सिपल करण सिंह गोयलले बताए । प्रदर्शनीमा अभिभावक, स्कूलका सुभेक्षुक तथा वाफल वरपरका सामुदायिक र निजी विद्यालय गरेर करिव पन्ध्र स्कूलका विद्यार्थीको उपस्थिति रहेको थियो ।