यस्तो जात जहाँ गाउँ नै अंशबन्डाका रूपमा बाँडिन्छ

यस्तो जात जहाँ गाउँ नै अंशबन्डाका रूपमा बाँडिन्छ


दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर, गाउँनै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।

ऐलानी जग्गामा बसोवास गर्दै आएका सिरहा लहान नगरपालिका–२३ गाढाका सुकुम्बासी दलित उचित मरिकले छोरालाई अंशबन्डामा आफ्नो हिस्सामा रहेको गाउँ नै बाँडेका छन् ।

बाँसजन्य सामग्रीको बेचबिखन र सुंगुर, बंगुरपालन गरी जीविकोपार्जन गर्दै आएका मरिकले जेठा छोरा चेलाईलाई सिरहाको छरापट्टी र कटहाको आधा गाउँ अंशमा दिए भने अर्का छोरा गुलाईले भटौरटैर र विनोदले कल्याणपुर गाउँ अंशमा पाए ।

उक्त समुदायमा अंशमा पाएको र खरिद गरेको गाउँमा मात्र उत्पादन गरेको सामान बिक्री गर्न पाइन्छ । त्यसरी पाएको र खरिद गरेको गाउँमा चाडपर्व र मृत्यु संस्कारमा उनैले मात्र खरिदारी गर्न पाउँछन् । आफूले उत्पादन गरेको सामग्रीको बिक्री–वितरण मात्र होइन, सुंगुर चराउन पनि नपाइने चलन रहेको चुल्हाईले बताए ।

उनका अनुसार आफ्नै दाजु भए पनि अरूको अंशको गाउँमा कारोबार गर्नसमेत पाइँदैन । अन्यथा जरिवाना तिर्नुपर्छ । प्रायः ओत लाग्ने झुपडी बनाउने जमीनसमेत नहुने उक्त समुदायको सम्पत्ति भनेकै अशंबापत पाएको र आफ्नै कमाइले खरिद गरेको गाउँ मात्र भएको डोम मेस्तर उत्थान समाज सिरहाका संयोजक रामचन्द्र मरिकले बताए ।

खुला बजार अर्थ नीतिअनुसार उत्पादित समान बजारमा निर्वाद रूपमा बिक्री गर्न पाइन्छ, तर उक्त नीति सो समुदायमा लागू भएको छैन । सिरहा कुर्वाका विरजु मरिकले आर्थिक समस्या परेपछि सिसवनी– १ का हरि मरिकलाई रु. २५ हजारमा बन्धक राखेको कुर्वा गाउँ फुकुवा गराए । घरायसी समस्या टार्न प्रायः ऋण, सापटी पैँचो, अन्नपात, पशुपक्षी बेचबिखन गर्ने चलन भए पनि डोम समुदायले भने गाउँलाई नै बन्धक वा किनबेच गर्छन् ।

सिरहाकै विधानगर–६ का दरपी मरिकले चैनपुर बजारदेखि पश्चिमको गाउँ सिसवनीकै हरि मरिकलाई रु. ७० हजारमा बिक्री गरे । सिरहामा करिब दुई हजारको हाराहारीमा डोम समुदायको बसोवास रहेको एक तथ्यांकले देखाएको छ ।

यति मात्र होइन, सन् २०१५ सम्ममा नेपाल सरकारले सबैका लागि निःशुल्क र गुणस्तरीय शिक्षाको घोषणा गरे पनि सिरहाका डोम समुदायका बालबालिकालाई यो अभियानले अझै छुन सकेको छैन । हातमुख जोड्न गाउँघर, सहर बजारमा शौचालय तथा ढल सफा गर्ने, सुंगुर बंगुर पाल्ने, बाँसको सामग्री बेचेर जीविकोपार्जन गर्दै आएका डोम समुदायले आफ्ना छोराछोरीलाई औपचारिक शिक्षा दिन सकिरहेका छैनन् ।

तराई–मधेसमा सबैभन्दा पिछडिएको डोम समुदायका बालबालिका आर्थिक विपन्नताका कारण विद्यालय जानबाट वञ्चित भएका हुन् । विद्यालय पढ्न कापी, कलम बोकेर जानुपर्ने उमेरमा यस समुदायका बालबालिका हातमा लठ्ठी लिएर सुंगुर बंगुर चराउन जान बाध्य छन् । सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेको ढोढना गाविस–८ का १४ वर्षीय श्याम मरिकले किताबकापी किन्ने पैसा नभएपछि कसरी विद्यालय जान सकिन्छ भन्ने गुनासो गरे ।

झापादेखि रौतहटसम्म १२ जिल्लामा बसोवास रहेको यो जातिलाई राज्यले नै उपेक्षा गरेको छ । ‘सदियाँैदेखि जातीय विभेदको सिकार बन्दै आएका डोम समुदाय सबै क्षेत्रमा पिल्सिँदै आएका दलित अधिकारकर्मी दीपेन्द्र पासवानले बताए । राज्यले दिने सेवा सुविधा प्रवाहमा प्रभावकारी अनुगमन हुन नसक्दा त्यस्ता सेवा सुविधाबाट ती समुदाय वञ्चित रहँदै आएको जानकारी उनले दिए ।

–शोभाकुमारी गुप्ता (रासस)