हेटौँडाको सडक फराकिलो बनाइने

हेटौँडाको सडक फराकिलो बनाइने


प्रदेश नं ३ सरकारले प्रदेश राजधानी हेटौँडाको मुख्य राजमार्गलाई ३२ मिटरको फराकिलो बनाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले मुख्य बजार क्षेत्रको राजमार्गलाई थप फराकिलो बनाउने र अतिरिक्त मार्ग पनि निर्माण गर्ने निर्णय गरेको हो । महेन्द्र राजमार्गअन्तर्गत हेटौँडाको बजार क्षेत्रमा पर्ने सडकखण्ड र त्रिभुवन राजपथअन्तर्गतको सडकखण्डलाई दायाँबायाँ १६ –१६ मिटर कायम गर्ने र बाइपास सडकलाई राजमार्गका रुपमा विकास गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री एवं सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले बताए ।

उनका अनुसार बैठकले सडकको दायाँ–बायाँ सुन्दर बगैँचासहित चार लेनको सडक निर्माण गरेर हेटौँडाको मुख्यबजार क्षेत्रको सडकलाई शहरी सडकको रुपमा विकास गर्ने निर्णय गरेको छ । बैठकले बहुप्राविधिक महाविद्यालय स्थापना गर्न जग्गा प्राप्तिका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता ढुङ्गेलका अनुसार सिन्धुपाल्चोकको चौतारामा महाविद्यालय निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रदेशले केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

त्यस्तै अतिरिक्त मार्ग निर्माणका लागि प्रदेश सरकारले चालू आवमा रु पाँच करोड छुट्याएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मार्गको डिपिआर बनाउने काम अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिका क्षेत्रको सडकलाई शहरी सडकका रुपमा विकास गर्ने गरी प्रदेश सरकार अगाडि बढेको हो ।