यस्ता छन् घडियाल गोहीको संरक्षणका चुनौती

यस्ता छन् घडियाल गोहीको संरक्षणका चुनौती


संसारमै दुर्लभ अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा चुनौती देखिएको छ । यसको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जले कसरामा ४० वर्षदेखि गोही प्रजनन केन्द्र स्थापना गरेको छ । निकुञ्जले प्रजनन केन्द्रमा गोही संरक्षण गर्दै आए पनि प्रकृतिमा छाडिएका गोहीको संख्यामा भने वृद्धि आउन सकेको छैन ।

निकुञ्जले वर्षेनी पाँच वर्ष उमेर पुगेका एक सय ५० भन्दा बढी घडियालाई राप्ती, नारायणी तथा बबई नदीमा छाड्ने गरेको छ । निकुञ्जको तथ्यांकअनुसार अहिलेसम्म एक हजार तीन सय भन्दा बढी गोही नदीमा छाडिसकिएको छ ।

निकुञ्जका अनुसार हाल यी नदीमा जम्मा दुई सयवटा घडियाल भेटिन्छन् । प्रजनन केन्द्रले राप्ती तथा नारायणी नदीको जोखिमयुक्त ठाउँमा रहेका घडियालका गुँडबाट अण्डा संकलन गरी यसबाट बच्चा उत्पादन गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले जानकारी दिए ।

‘एउटा घडियाललाई पाँच वर्षको बनाउन करिब रु. १० लाख खर्च हुन्छ,’ उनले भने, ‘वर्षेनी गोहीलाई नदीमा छाड्ने गरे पनि संख्यामा भने वृद्धि आएको छैन । यसको मुख्य कारण पानी प्रदूषण नै हो ।’

गोहीको वासस्थानमा भइरहेको गिटी–बालुवाको उत्खनन, माझीको तियारी जालमा परेर गोही मर्ने र केही गोहीलाई बाढीले भारततिर बगाउँदा गोहीको संरक्षणमा थप चुनौती देखिएको खड्काले बताए । निकुञ्जको तथ्यांकअनुसार गत भदौदेखि माघसम्म तियारी जालमा परेर चारवटा घडियाल मरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले नदीमा हुने प्रदूषण र जलचर प्राणीलाई असर गर्ने गतिविधि नरोकिए घडियाल लोप भएर जाने बताए । घडियालले अण्डा पार्नेदेखि बच्चा जन्माउने काममा बालुवाकै प्रयोग गर्ने भएकाले गोही पाइने क्षेत्रमा नदीजन्य पदार्थको उत्खननमा पूर्ण रूपमा रोक लगाउनुपर्ने उनको भनाइ छ ।

घडियाल संरक्षण गर्न १० जना कर्मचारी खटिएका छन् । केन्द्रले गोहीको आहाराका लागि वार्षिक १३ सय किलो पोखरीको माछा खुवाउने गरेको छ । गोहीको क्षेत्रमा ठूलो खर्च भए पनि प्राकृतिक रूपमा यसको संख्यामा वृद्धि नहुँदा संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् ।