सरकारको तारो बनेका गायकलाई सांसदद्वारा कदर

सरकारको तारो बनेका गायकलाई सांसदद्वारा कदर


पशुपति शर्मा नाम कमाएका गायक हुन् । उनका हरेक सिर्जनालाई लोकगीतप्रेमीले मनपराउँदै आएका र संगीत बजारमा पशुपतिले अब के ल्याउँदैछन् भन्ने प्रतीक्षामा रहने गर्छन् कलाप्रेमीहरू । यस क्रममा उनको पछिल्लो सिर्जना सार्वजनिक भएको छ– लुट्न सके लुट कान्छा.., जसको चर्चा यतिबेला सडकदेखि सदनसम्म चुलिएको छ ।

गत विहिबार गीत युट्युवमार्फत सार्वजनिक भएलगत्तै जनजिब्रोमा झुण्डिन पुग्यो । वर्तमान सरकारका कमी–कमजोरी र राजनीतिक दूरावस्थाबारे सजीव चित्रण गरिएको उक्त गीतलाई सरकारले आफ्ना कार्यकर्ता प्रयोग गरी गायकलाई धम्क्याएर युट्युवबाट हटाउन लगायो । यो मामलाले चर्को राजनीतिक रूप लियो र सदनदेखि सडकसम्म प्रदर्शनको मसला बन्न पुग्यो ।

यस क्रममा गायक शर्माको गीत ‘लुट्न सके लुट कान्छा..’ युट्युवबाट हटाइएको विषयले संसदमा प्रवेश पाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद डा. अमरेशकुमार सिंहले ‘दुई तिहाइको सरकारका अगाडि यस्तो गीत गाउन मिल्दैनथ्यो, पशुपतिले गाएर अपराध गरे’ भन्दै ब्यङ्ग्य गरे ।

शुन्य समयमा बोल्दै सांसद सिंहले यसरी गीतमार्फत जनताको भावना व्यक्त गर्न पाइन्छ र ? भन्ने ब्यङ्ग्यात्मक प्रश्न गरे र सरकारको यस्तो रवैयाले लोकतन्त्रमाथि नै प्रश्न जन्मिएको तर्क गरे ।

यति मात्र नभई सांसद डा. सिंहले जनबोलीको गीत गाएर जनतामा जागरण ल्याउने गायक पशुपति शर्मालाई आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार नगद सम्मान स्वरुप पारितोषिक दिने घोषणा समेत गरे । यस्ता जनप्रिय गायकलाई सरकारले कदर नगरेकोले आफूले व्यक्तिगत तवरमा भए पनि कदरको प्रयास गरेको उनले प्रष्ट्याए ।