बलात्कार घटनामा छिमेकी र चिनजानकै व्यक्ति

बलात्कार घटनामा छिमेकी र चिनजानकै व्यक्ति


  • नवीनबाबु अधिकारी

सिन्धुलीमा भएका बलात्कारका घटनामा छिमेकी र चिनजानकै व्यक्तिबाटै बलात्कार हुने गरेको पाइएको छ । नजिकका व्यक्तिबाट नै बलात्कारका घटना घटेको र बालिका बढी यसको सिकार बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कले देखाएको हो ।

विगत तीन वर्षको तथ्याङ्कअनुसार सिन्धुलीमा १६ वर्षभन्दा मुनिका बालिका बढी बलात्कारको सिकार भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जनाएअनुसार उमेर समूहका आधारमा आर्थिक वर्ष २०७२र७३ देखि तीन आवमा १६ वर्षभन्दा मुनिका १४, १६ वर्षदेखि २५ वर्ष उमेर समूहका किशोरी आठ, २५ वर्षदेखि ३५ वर्ष उमेर समूहका पाँच र ४५ वर्षभन्दा माथिका ६ बलात्कृत भएका छन् । यसबाट सबैभन्दा बढी बालिका पीडित बनेका छन् ।

सबैभन्दा बढी १६ वर्षभन्दा मुनिका बालिका नै पीडित रहेको र अघिकांश बलात्कारका घटनामा छिमेकी र चिनजानका व्यक्ति नै पीडक रहेको प्रहरी उपरीक्षक सिंहको भनाई छ । उनकाअनुसार आव २०७२÷७३ देखि तीन आवभरिमा छिमेकीबाट १८, चिनजानका व्यक्तिबाट १५ र अपरिचित व्यक्तिबाट दुई यस्ता घटना भएका छन् । जसमा निरक्षर व्यक्तिबाट छ, सामान्य लेखपढ गर्न सक्ने व्यक्तिबाट १९, एसइई पास गर्ने व्यक्तिबाट चार र सोभन्दा माथि शैक्षिक योग्यता भएको व्यक्तिबाट एक घटना घटेको छ ।

जबर्जस्ती करणीका घटना न्यूनीकरणका लागि आवश्यक जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै प्रहरी उपरीक्षक सिंहले त्यस्ता कार्यक्रमतर्फ प्रहरी अग्रसर हुने बताए ।

बलात्कार हुनेमा विवाहितभन्दा पनि अविवाहितको सङ्ख्या धेरै रहेको छ । तीन वर्षको तथ्याङ्क हेर्दा पनि विवाहित ११ र अविवाहित २७ बलात्कारको सिकार भएको पाइयो, हालसम्म आव २०७२र७३ मा १५, २०७३र७४ मा १२ र चालू आवको सात महीनामा ११ घटना जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दर्ता भएका छन् ।

जबर्जस्ती करणीका घटना बिहानकै समयमा बढी हुने गरेको र महीनाको हिसाबले पनि असोज र कात्तिकमा यस्ता घटना बढी रहेको पाइएको छ । प्रहरी एक्लैले यस्ता घटना न्यूनीकरण गर्न नसक्ने भन्दै उनले प्रहरीले ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत यस्ता घटना न्यूनीकरण गर्ने लक्ष्य रहेको बताए ।

बलात्कारका घटना न्यूनीकरणका लागि प्रहरीले सिन्धुलीका सबै विद्यालय र समुदायमा जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम गर्ने लक्ष्य रहेको पनि प्रहरी उपरीक्षक सिंहको भनाइ छ । ‘कसरी कार्यक्रम सञ्चालन गर्ने भन्नेबारे अवधारणा बनाउँदैछौँ, बलात्कारका घटनाबाट धेरै बालिका पीडित भएको पाइयो, सबैभन्दा पहिला विद्यालयस्तरमा र समुदायस्तरमा कार्यक्रम गरी जबरजस्ती करणीलाई निरुत्साहित बनाई सभ्य समाज बनाउन प्रेरित गर्दै यससम्बन्धीका कानूनी प्रक्रियाका बारेमा समेत जानकारी गराउने छौँ’, उनले भने ।

प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएको र यसको अवधारणाले पनि अपराधमुक्त समाज बनाउन सहयोग पुग्ने भएकाले समुदायका साना बालबालिकादेखि सबैसँग सहकार्य गरिने उनको भनाइ छ । बलात्कारजन्य घटना न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन हुने र यसमा जिल्लामा क्रियाशील सामाजिक सङ्घसंस्थासँग पनि साझेदारी गरिने उनले बताए ।

समुदायमा जनचेतनाको कमी, पुरातन सोच तथा घर परिवारका अभिावकको रिसइवीका कारण बालिका बलात्कारको सिकार पर्ने गरेका छन् । विश्वासिला व्यक्ति, छिमेकी तथा चिनजानका व्यक्तिबाटै बलात्कारका घटना बढिरहेकाले प्रहरी यसप्रति अन्यन्तै संवेदनशील रहेको दाबी गरिएको छ ।

अबोध बालिकाले त्यस्ता नजिक व्यक्तिसँग क्रूर मानसिकताको बारेमा बोध गर्न नसक्ने भएकाले आफु कहाँ जाँदैछु र कोसँग जाँदैछु भनेर बालिकाले पनि घरपरिवारका अभिभावकलाई जानकारी गराउने र कहीँकतै कुनै पनि व्यक्तिबाट त्यस्ता क्रियाकलाप गर्ने आशयले कुनै पनि गतिविधि गरे तत्काल अभिभावकलाई खबर गर्ने र प्रहरीलाई जानकारी गराए त्यस्ता व्यक्तिलाई कारवाही गरिने उनको भनाइ छ ।

कतिपय बलात्कारका घटना प्रहरीसम्म नआई स्थानीयस्तरमै मेलमिलाप गराउँदा बालिका सदैव पीडित बन्ने र पीडकको मनोबल बढ्ने पनि उनले जानकारी दिए । जघन्य अपराध गर्नेलाई कारवाही गर्नुपर्ने भएकाले समुदायस्तरमा मेलमिलाप नगराई कानूनी प्रक्रियामा आउन प्रहरीको आग्रह छ ।

सिन्धुलीमा दर्जनौँ सामाजिक सङ्घसंस्थाले घरेलु हिंसा, बलात्कार न्यूनीकरण, बालविवाह रोक्ने सवालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि लक्षित वर्गसम्म नपुगी सुविधासम्पन्न स्थान सिन्धुलीमाढीमा मात्र छलफल गर्ने गरेको गुनासो आउने गरेको छ । जिल्लामा रहेका सामाजिक सङ्घसंस्थासँग मिलेर अब जनचेतनामूलक कार्यक्रम स्थानीय समुदायस्तरसम्म सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।