कहाँ छ दरबार ? मैले त दरबार देख्नै छोडिसकेँ-कृष्णप्रसाद सिटौला (महामन्त्री, नेपाली काङ्ग्रेस)

कहाँ छ दरबार ? मैले त दरबार देख्नै छोडिसकेँ-कृष्णप्रसाद सिटौला (महामन्त्री, नेपाली काङ्ग्रेस)


० बाह्रबुँदे सहमतिबाट यात्रा आरम्भ भएको शान्तिप्रक्रिया अहिलेसम्म पनि निष्कर्षमा पुग्न नसकेको किन होला ?
– सहमति गर्नेले त्यसलाई गम्भीरताकासाथ पालना नगरिदिएकाले यो समस्या पैदा भएको हो । शान्तिप्रक्रियाको पहिलो परिणाम गणतन्त्र हो भने माओवादी लडाकुको समायोजन या पुनर्स्थापना एवम् माओवादीद्वारा कब्जा गरिएका घरजग्गा फिर्ता र द्वन्द्वकालीन पीडितहरूलाई न्याय दिनुपर्ने विषय शान्तिप्रक्रियाका दोस्रो चरणका काम हुन् । र, तेस्रो चरणमा चाहिँ संविधानसभाबाट नयाँ लोकतान्त्रिक संविधानको घोषणा गर्ने भन्ने थियो । यसअनुसार पहिलो चरण कार्यान्वयन भयो, अर्थात् नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्‍यो । अब दोस्रो चरणमा हुनुपर्ने कब्जा सम्पत्ति फिर्ता गर्ने, पीडितहरूलाई न्याय दिने, लडाकु समायोजन गर्नेलगायतका यावत् मुद्दा हुन् जो प्रक्रियामै छन्- पूरा हुन सकेका छैनन् । यो पूरा हुन नसक्दा तेस्रो चरणको काम पनि अलपत्र परेको छ ।
० दोस्रो चरणमा हुनुपर्ने कामहरू किन पूरा हुन नसकेको होला त ?
– विगतका सहमति पालना गर्ने सवालमा माओवादी पार्टी दृढता र इमानदारीका साथ प्रस्तुत हुन सकेन, त्यसैले ।
० भनेपछि माओवादीकै कारणले हो यो शान्तिप्रक्रिया अवरुद्ध बनेको ?
– यथार्थ त त्यही नै हो । सहमति र सम्झौता भनेका कागजमा लेखेर दस्तावेज बनाएर राख्नका लागि होइनन्, त्यसलाई त प्रक्रियामा लगी कार्यान्वयन गरेर खोजेको परिणाम पो निकाल्नुपर्छ त । यो काम उनीहरूले गर्न सकेनन् ।
० यसमा काङ्ग्रेसकै पनि त कमजोरी रहेको छ नि, होइन र ?
– हाम्रोतर्फबाट पालना गर्न या कार्यान्वयन गर्न बाँकी केही छन् भने भन्नुस् भनेर त हामीले उहाँहरूलाई भनिरहेकै छौँ नि । खै त हाम्रो कमजोरी मूर्तरूपमा औँल्याउन सकेको ? यी सहमतिहरू जनतालाई केन्द्रबिन्दुमा राखेर गरिएका हुन्, जनताको शान्ति, संविधान र समृद्धिका चाहनालाई मूर्तरूप दिनका लागि गरिएका हुन् न कि कुनै पार्टीविशेषका लागि । यो मनन गरेर सहमति पालनामा इमानदारी देखाउनु दलहरूको कर्तव्य हो । जबसम्म यसो हुन सक्दैन तबसम्म शान्तिप्रक्रिया अवरुद्ध भइनै रहन्छ ।
० बाह्रबुँदे यात्रादेखि नै तपाईं प्रचण्डसँग नजिक हुनुहुन्छ, उहाँलाई तपाईं राम्ररी बुझ्नुहुन्छ, तर यतिबेला आएर प्रचण्डप्रति तपाईं किन अविश्वास गर्दै हुनुहुन्छ ?
– यो कुनै व्यक्तिविशेषप्रति विश्वास या अविश्वासको कुरा नभई राजनीतिक दलहरूबीचको सम्बन्धको सवाल हो । प्रचण्डजीको मात्रै कुरा भएन, माओवादी नेतृत्वमा अरू साथीहरू पनि छन्, सबैको जोड सहमति पालना गरेर इमानदारी प्रस्तुत गर्ने र जनताको मन जित्नेतिर हुनुपर्‍यो भन्ने मेरो व्यक्तिगत आग्रह पनि हो ।
० एउटा समय त यस्तो पनि थियो कि तपाईंलाई माओवादीको प्रवक्ताकै आरोप लगाइन्थ्यो, तर यतिबेला माओवादी पार्टीको कट्टर आलोचकका रूपमा किन प्रस्तुत भइरहनुभएको छ ?
– कसैले मलाई माओवादीको प्रवक्ताकै रूपमा आरोपित गरे होलान् भन्ने मलाई लाग्दैन । यथार्थता केचाहिँ हो भने शान्तिप्रक्रियाको नेतृत्व दलहरूका तर्फबाट गिरिजाबाबुले गर्नुभएको हो । उहाँको निर्देशनअनुरूप पार्टीको एक बफादार सिपाही भएर मैले काम गर्दा कतिपय साथीहरूले अनावश्यक आशङ्का गरेका हुन् ममाथि । शान्तिप्रक्रिया सुरु गर्दा ममाथि उग्र दक्षिणपन्थी कोणबाट प्रहार भयो भने अब बाटो नबिराई यस प्रक्रियालाई टुङ्गोमा पुर्‍याऔँ भनी मैले आग्रह गर्दा यतिबेला उग्रवामपन्थी कोणबाट प्रहार भएको अनुभूति मलाई भएको छ । यसर्थ यी दुवै अतिवादी धारलाई परास्त गरेर विशुद्ध शान्तिवादी धारलाई सफलीभूत बनाउनुपर्छ, मेरो या हाम्रो पार्टीको कोसिस यही हो ।
० दरबारिया र माओवादी शक्ति मिलेर तपाईंमाथि प्रहार गर्‍यो भन्न खोज्नुभएको हो ?
– को दरबार ? मुलुक गणतन्त्रमा प्रवेश गरेर कहाँ पुगिसक्यो, अब कहाँको दरबारिया शक्तिको कुरा आयो ? दरबार त मैले देख्नै छोडिसकेको छु । राजा छैनन् यो देशमा न त दरबार नै, तसर्थ इतिहासका कुरा उप्काएर असान्दर्भिक तरङ्ग पैदा गर्न खोज्नु उचित होइन भन्ने लाग्छ । कोही व्यक्तिविशेषमाथि टिप्पणी गरेर समय खेर फाल्न पनि चाहन्न म ।
० तपाईं यसरी शान्तिप्रक्रियाप्रति चिन्तित भएर लागिरहेको व्यक्तिमाथि आज चौतर्फी आक्रमण भइरहेको छ, तपाईंको पार्टीभित्रैबाट पनि सुडान काण्डलगायतका मुद्दा झिकेर आक्रमण भएको किन होला ?
– मेरो आफ्नो पार्टीबाट त कुनै आक्रमण भएको अनुभूति मलाई छैन । सबै साथीहरूको सहमतिबाट म पार्टीको महामन्त्रीसमेत बनेको छु भने कुन साथीले त्यसरी आक्रमण गरे र ? यो बुझाइ र विश्लेषणमा भएको कमजोरी मात्र हो । तर, केही समययता ममाथि राजनीतिक पूर्वाग्रह राखेर कतिपय प्रेसले समेत अतिरञ्जनापूर्ण र झुटा सामग्री प्रकाशन-प्रसारणचाहिँ गरेकै हुन् । किन ममाथि यति पूर्वाग्रही बन्नुपरेको हो, मैले बुझेको छैन । तर पनि तिनीहरूप्रति म केही गुनासो गर्ने पक्षमा छैन ।
० सुडान प्रकरणको यथार्थ के हो ? तपाईंको यसमा संलग्नताको कुरा के हो, प्रस्ट्याइदिनुस् न त ।
– कुनै पनि मन्त्री मन्त्रीस्तरको निर्णयप्रति मात्र जिम्मेवार हुन्छ । त्यो निर्णय मन्त्रीस्तरको होइन, थिएन । प्रहरी कल्याण कोष भनेको छुट्टै निकाय हो, उसको आफ्नै विधान छ, आफ्नो छुट्टै सञ्चालक समिति बोर्ड छ, यूएन मिसनमा गएर आउने प्रहरीहरूले त्यस कोषमा केही रकम दाखिला गर्दछन्, उनीहरूकै कल्याणका लागि उनीहरूबाटै व्यवस्था भएको सञ्चालक समितिले त्यस कोषको प्रयोग गर्ने हो । त्यसैले यसमा मन्त्रीको कुनै भूमिका हुँदैन र मन्त्रीको नाम मुछ्नु सरासर झुट र पूर्वाग्रही कुराबाहेक केही हुन सक्दैन भनेर मैले बार-बार स्पष्ट पार्दै आएको छु । म मन्त्री हुन्जेलसम्म यो विषयमा कुनै फाइल मेरो टेबलमा आएन, कुनै सिकायत या उजुरी पनि यस विषयमा म मन्त्री रहँदासम्म आएन । यसमा सम्बन्धित विभागहरू नै स्वतन्त्र छन् आफ्नो निर्णय गर्न । यस्तोमा मेरो नाम किन जोडिरहनुपर्‍यो ?
० त्यही त, किन जोडियो तपार्इंको नाम ? किन लाग्यो आरोप तपाईंमाथि ?
– गलत कुरा सम्प्रेषण गर्न खोज्दै हुनुहुन्छ तपाईं । कहाँ लागेको छ ममाथि आरोप ? अख्तियारले छानबिन गरेर त्यो विषयलाई विशेष अदालतमा पेस गरेको छ, त्यहाँ त्यो विचाराधीन नै छ, एकप्रकारले अख्तियारले त सफाइ दिइसकेको छ, यस्तोमा पूर्वाग्रहवश एक-दुई व्यक्ति या अखबारले अनर्गल बोल्दैमा या लेख्दैमा आरोप लागेको ठहरिन्छ र ? पे्रसमा कसैका बारे पूर्वाग्रहवश जथाभावी लेखिन्छ भने के त्यो व्यक्ति आरोपी बनिहाल्छ ? यस्तो गर्न मिल्छ ? यसमा म के आग्रह गर्न चाहन्छु भने प्रेसका साथीहरूले एकपटक प्रहरी कल्याण कोषको विधान पढून््, यो कहिले के प्रयोजनबाट स्थापना भयो, कसरी चल्छ या चलेको छ भन्नेबारेमा विस्तृत अध्ययन गरून् । अनि मात्र के बोल्नुपर्छ, बोलून् न ।
० तपाईं गृहमन्त्री हुँदा ४४ करोड निकासा भएर गयो भने तपाईंले जिम्मेवारी लिनुपर्दैन र ?
– त्यो सरकारले विनियोजन गरेको रकम होइन भन्दै छु म, अनि कसरी गृहमन्त्री जिम्मेवार हुन्छ ? मन्त्रालयसँग अनुमति लिएर निकासा हुने बजेट नै होइन त्यो । न त त्यो मलाई सोधेर टेन्डर गरिएको हो न मैले बजेट पास गरिदिएकै हो । कल्याण कोष सञ्चालक समितिले मन्त्रीलाई सोधिरहनै पर्दैन आफ्नो बजेट खर्च गर्नका लागि । यो कुरा म कतिपटक दोहोर्‍याऊँ ?
० नेपाली समाजमा तपाईंले सुडान प्रकरणबाट ठूलो मात्रामा अनुचित लाभ लिनुभयो भन्ने विश्वास बढिरहेको छ नि त ?
– तपाईंजस्ता सञ्चारकर्मीका कारण यस्तो भएको हो । पूर्वाग्रह राखेर कसैले एउटा आरोप लगाइदिन्छ अनि तपाईंजस्ता प्रेसवालाहरू विषयको गम्भीरता र वास्तविकता बुझ्नेतिरभन्दा त्यसलाई उछाल्नतिर लाग्नुहुन्छ, अनि यस्तो हुन्छ क्या । झुटा प्रश्नलाई स्थापित गर्ने काम नेपाली प्रेसले गरेकै हो यसमा ।
० त्यसो भए हावा नै नचली पात हल्लियो होला त ?
– मुलुकका राजनीतिकर्मीले पैसा नलिई काम नै गर्दैनन् भन्ने दूषित मानसिकता लिएर तपाईं प्रश्न गर्दै हुनुहुन्छ । यो बुझ्नुस् कि पैसा नलिई काम गर्ने मानिस पनि नेपालको राजनीतिमा छन् । जस्तो चस्मा लगाएर हेरियो त्यस्तै रंगको दृश्य देखिन्छ । तपाईंले चस्माको रंग सही चुन्नुभएन ।
० नेपालका गृहमन्त्रीहरू त प्रहरीका साधारण तहमा भर्ना, सरुवा र बढुवा गर्दा त चासो रख्छन् भनिन्छ नि, यो याथार्थ होइन त ?
– यो यथार्थ होला-नहोला म जान्दिनँ, तर त्यस्तो गृहमन्त्रीमा मचाहिँ परिनँ । प्रहरीहरूसँग नराम्रो व्यवहार गरेर काम गर्ने गृहमन्त्री म परिनँ भन्ने राम्ररी बुझ्नुहोस् । गृहमन्त्रीले रोजीरोजी, खोजीखोजी, सोधीसोधी प्रहरीको भर्ना, सरुवा र बढुवा गर्छ भन्ने मानसिकता नेपाली समाजमा विद्यमान छ भने घुस नलिई मन्त्रीले काम गर्दैन भन्ने खराब सोचको उपज हो यो । मेरो राजनीतिक भविष्य ध्वस्त तुल्याउने नियतले मात्र यस्ता सवाल उब्जाइएका र फैलाइएका हुन्, तर म यस्ता आरोपको सामना गर्न तयार छु ।
० जुन उच्चतहका प्रहरी यसमा फसे, उनीहरूले त यसमा राजनीतिक नेतृत्वको पनि हात छ भनेका छन् नि ?
– को आएर कहाँ भन्यो ? तपाईंको घरमा आएर खुसुक्क भन्ने त्यो व्यक्ति को होला, बताइदिनुस् न त । कुनै प्रहरी अधिकृतले त्यसो भने होलान् भन्ने कुरामा म विश्वास गरि्दनँ । बरु मलाई त दु:ख लागेको छ- त्यत्तिका प्रहरीहरू कसरी त्यो मुद्दामा तानिए ? म गृहमन्त्री हुँदा त आईजीपी ओम राणादेखि तल्तिरका सबै प्रहरीले इमानदारीका साथ काम गरेको नै अनुभूति गरेको थिएँ ।
० त्यसो भए तपाईंलाई अनाहक फसाइयो ?
– म फसेकै छैन । कसैले फसाएर कोही फस्दैन, आफैंले फसाउने हो आफूलाई । मैले आफू फस्ने काम या कुनै निर्णय नै गरेको छैन भने म कसरी फस्ने ?
० बिचरा ती प्रहरीहरू मात्र फस्ने भए, होइन त ?
– त्यसमै म पनि दु:खी र आश्चर्यचकित छु । तर, अख्तियारले छानबिन गरेर मुद्दा विशेष अदालत पुर्‍याएको छ, अब उसले आफ्नोतर्फबाट छानबिन गरेर दूधको दूध पानीको पानी छुट्याउला भन्ने मलाई लाग्छ । वास्तवमा ठेक्का प्रक्रियाको आरम्भदेखि रकम भुक्तानीसम्ममा कहाँनेर चुक भयो, समस्याको निकास त्यही छ्रि्रबाट खोजिनुपर्छ । राज्य नोक्सानीमा परेको छ भने त्यसको असुलउपर गरिनुपर्छ । प्रहरी कल्याण कोषको दुरुपयोग भएको रकम फिर्ता हुनुपर्छ । मलाई अचम्म लागेको एउटा कुरा के हो भने यत्तिका चर्चा भइसक्दा पनि मुख्य ठेकेदार कसरी बचिरहेको छ ?
० प्रसङ्ग थोरै बदलौँ, गत जेठ १४ गते संविधानसभाको म्याद नथप्न तपाईं दिलोज्यानले लाग्नुभएको थियो भन्ने पनि आरोप लगाउँदा रहेछन् नि तपाईंमाथि, किन होला ?
– शान्तिप्रक्रियालाई जस्ताको तस्तै राख्ने अनि संविधानसभाको म्यादचाहिँ थप्दै जाने हो भने संविधान १० वर्षमा पनि बन्दैन भन्ने धारणा राख्ने व्यक्ति हुँ म । यही मान्यता र पार्टीले लिएको नीतिको जगमा उभिएर त्यतिबेला मैले सवाल उठाएको हुँ, शान्ति र संविधानका लागि सवाल उठाएको थिएँ मैले, तर अतिवादी सोच राख्नेहरूले गलत अर्थ लगाएर त्यसमा पनि मलाई आरोपित तुल्याउन खोजे भन्ने मेरो बुझाइ छ । दुईवर्षे म्याद सकिएर पहिलोपटक एक वर्ष म्याद थप्ने बेला वाचा गरिएको थियो- शान्तिप्रक्रियाका बाँकी काम तत्काल पूरा गरेर एक वर्षभित्रमा संविधान लेखिनेछ भनेर । तर, शान्तिप्रक्रिया अलपत्र पारियो र म्याद मात्र बढाउने काम भइरहेको छ । यो प्रश्न उठाउन मैले किन नपाउने ? यो त सबै नेपालीले उठाउनैपर्ने प्रश्न हो नि । यस्तोमा संविधानसभा नै भङ्ग गर्न कृष्णप्रसाद सिटौला लागिपर्‍यो भन्ने आरोप लगाउनु दुर्नियतको उपजबाहेक केही होइन ।
काङ्ग्रेस पार्टी पनि कलहमा पर्न थालेको देखिँदै छ, यसमा के भन्नुहुन्छ नि तपाईं ?
– केही कलह छैन, पार्टीमा विचारमाथि बहस र छलफल हुन्छ, यदाकदा मतमतान्तर पनि देखिन्छ, तर त्यसले पार्टीलाई राम्रै गर्छ । काङ्ग्रेस एक भएर अघि बढ्ने क्रममा छ भनेर पार्टीको महामन्त्रीका रूपमा म आश्वस्त गराउन चाहन्छु ।-ऋषि धमला

त्यसबाट म सन्तुष्ट छैन : लीलामणि पोखरेल (एकीकृत नेकपा माओवादी)
एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य लीलामणि पोखरेल पार्टीभित्र खरो नेताको रूपमा चिनिनुहुन्छ । बौद्धिक एवम् चिन्तक नेता पोखरेल अहिले पार्टीभित्रको अन्तर्संघर्ष व्यवस्थापन गर्न सक्रिय रूपमा लाग्नुभएको छ । उहाँसँग बुधबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा घटना र विचारका लागि ऋषि धमलाले गरेको कुराकानीको मुख्य अंश:
केन्द्रीय समितिको बैठकको एजेण्डा के हुन्छ ?
शान्ति, संविधान, स्वाधीनता, पार्टीको सङ्गठनात्मक कामको बाँडफाँड, योजना, सङ्घर्ष, पार्टीभित्रको अन्तर्संघर्षको समाधान यिनै कुराहरू केन्द्रीय कमिटीको बैठकका एजेण्डा हुन् ।
पार्टीको अन्तर्संघर्ष समाधानको सूत्र के छ ?
पार्टीभित्रको अन्तर्संवादबाट, छलफल र बहसको प्रक्रियाबाट पार्टीको आन्तरिक समस्याहरूको समाधान गर्ने विधिहरूलाई अङ्गीकार गर्ने नै हो । छलफल हुन्छ, समाधान हुन्छ । नमिली त धरै छैन ।
कस्तो विधि अङ्गीकार गर्ने, फुटाउने कि जुटाउने ?
हा.. हा.., यस्तो कुरा पनि गर्ने, पार्टी फुटाउने कुरा पनि कहीँ समाधानको विधि हुन्छ र ?
केन्द्रीय समितिको बैठकबाट पद बाँडफाँडको मुद्दा कसरी टुङ्ग्याउनुहुन्छ ?
पार्टीभित्र नेताहरूलाई जिम्मेवारी दिने कुरा त स्वाभाविक नै हो । त्यो काम हुनुपर्छ र यो केन्द्रीय कमिटीको बैठकले त्यो विषयलाई टुङ्ग्याउँछ ।
तपाईं अहिले चटक्कै अध्यक्षलाई छोडेर बाबुराम भट्टराई र मोहन वैद्यतिर लाग्नुभयो नि, किन ?
मलाई थाहा छैन त्यो कुरा तपाईंहरूलाई नै थाहा होला । म पार्टीमा लागेको मान्छे हुँ, कुनै व्यक्तिको पछि लागेको मान्छे होइन । कसैको पक्षमा पनि छैन । म पार्टी र जनताको पक्षको मान्छे हुँ ।
अहिलेको पार्टीभित्रको झगडालाई कसरी लिनुभएको छ ?
म पार्टीभित्रको आन्तरिक द्वन्द्वको विधिबाट सन्तुष्ट छैन । पार्टीभित्रको कुरा छ्यालब्याल हुने जुन विधि चलेको छ त्यसबाट म सन्तुष्ट छैन ।
तपाईंहरूमाथि अध्यक्ष प्रचण्डलाई कमजोर बनाउन लाग्नुभएको आरोप छ नि ?
हामी पार्टी अध्यक्ष मात्रै होइन कसैलाई पनि कमजोर बनाउन लागेका होइनौँ, सबैलाई सबै अङ्गहरूलाई बलियो र शक्तिशाली बनाउने हाम्रो उद्देश्य हो ।
तपाईंहरू पार्टीको संसदीय दलको नेता परिवर्तन गर्ने योजनामा हुनुहुन्छ कि हुनुहुन्न ?
यो पार्टीको आन्तरिक विषय हो, पार्टीभित्रको कुरा पार्टीभित्र गएर नै बहस हुन्छ । पार्टीजीवनका कुरा हुन् यी, पार्टीमा छलफल भएपछि मात्रै बाहिर ल्याउने कुरा हो । बाबुरामजीले, किरणजीले के पाउनुहुन्छ त्यो पार्टीभित्र छलफल हुन्छ ।
बाबुराम भट्टराई संसदीय दलको नेता हुने सम्भावना बढेको छ भनिन्छ नि ?
सम्भावना कसैको बढ्ने र कसैको घट्ने भन्ने कुरो होइन, पार्टीको आन्तरिक जीवनमा पार्टीले आफूले आफ्ना विधि, पद्धति र प्रक्रियाहरूलाई अङ्गीकार गरेर पार्टीका नेता तथा कार्यकर्ताहरूलाई क्षमताअनुसार जिम्मेवारी प्रदान गर्ने गर्छ ।
भनेपछि यो बैठक जिम्मेवारी बाँडफाँड गरेर टुङ्गिन्छ ?
जिम्मेवारी बाँडफाँड केही हदसम्म भएको छ तर आवश्यकताअनुसार फेरि पनि हेरफेर हुन सक्छ । त्यो आमनियम हो ।
भावी प्रधानमन्त्री को, प्रचण्ड कि बाबुराम ?
यो व्यवस्थापिकाका सांसदले तय गर्ने कुरा हो । उम्मेदवारी दिने बेलामा मात्रै थाहा हुन्छ को प्रधानमन्त्रीको उम्मेदवार भन्ने कुरा । पार्टीको उम्मेदवार को भन्ने कुरा उम्मेदवार दिने प्रक्रिया सुरु भएपछि तय हुन्छ । हाम्रा हरेक केन्द्रीय सदस्य मन्त्री, प्रधानमन्त्री बन्न योग्य छन् । सबैको सम्भावना छ ।
शान्ति, संविधान र जनविद्रोह पार्टीको लाइन के हो ?
पार्टीमा छलफल भएर त्यसमा स्पष्ट निकास निस्कन्छ । जनविद्रोह नेपाली जनताको सार्वभौम अधिकारको कुरा हो, कुन बेला कस्तो सङ्घर्ष गर्ने भन्ने कुरो पार्टी र परिस्थितिले तय गर्छ ।
तपाईं जनविद्रोहको कि शान्ति र संविधानको पक्षमा ?
म नेपाली जनताको सार्वभौम अधिकारको पक्षमा पनि छु । अहिले पार्टीले अङ्गीकार गरेको नीतिको पक्षमा पनि छु ।

काङ्ग्रेसमा युवा पछि पारिएकै हुन् -रुद्रबहादुर कन्दङ्वा, युवा नेता, नेका
तेह्रथुमको आठराई, छातेढुङ्गा- २ मा जन्मिएका रुद्रबहादुर कन्दङ्वा नेपाली काङ्ग्रेसका सक्रिय युवा नेताहरूमध्ये एक हुनुहुन्छ । विद्यार्थीजीवन अर्थात् २०३५ सालदेखि काङ्ग्रेसको सक्रिय राजनीतिमा लाग्नुभएका कन्दङ्वा पेसाले कानुन व्यवसायी पनि हुनुहुन्छ । नेपाल तरुण दलका पूर्वसदस्य कन्दङ्वा तेह्रथुम जिल्ला कार्यसमिति सदस्य पदमा रहेर जिल्लामा काङ्ग्रेसको भूमिका बलियो बनाउन सक्रियताका साथ लागिरहनुभएको छ । प्रस्तुत छ उहाँसँग घटना र विचारले गरेको कुराकानीको सार :
० काङ्ग्रेसमा युवा नेताहरू अन्य पार्टीको तुलनामा पछिपर्दै गएका देखिन्छन्, किन होला ?
– विगत र अहिलेको काङ्ग्रेसमा केही भिन्नता आएको छ । विगतमा युवाहरूको भूमिका थिएन भन्दा पनि हुन्छ । पछिल्लो समयमा युवाहरूको पहुँच बढ्दै गएको छ । तर, त्यो सङ्ख्यामा पूर्णता भने छैन । किनकि पार्टी नेतृत्वले काङ्ग्रेसलाई पुरानो संरचनाबाट चलाउन खोजिरहेको छ । उनीहरूले नै काङ्ग्रेसका युवा नेतालाई पछि पारिरहेका छन्, पछि परेका होइनन् ।
० काङ्ग्रेस नेतृत्वले युवालाई पछि पार्नुको कारण को हो जस्तो लाग्छ ?
– आफू रहेसम्म अरूलाई जिम्मेवारी दिन नचाहने सोचको हावी भएकाले यस्तो भएको हो । आफू नेतृत्वमा रहिरहने सोच सामाजिक संरचनाजस्तै बनिसकेको छ काङ्ग्रेसका पुराना नेतामा । यस्ता सोच भएको मानिसले कहिल्यै शक्ति बाँड्न चाहँदैन । तर, पछिल्लो समयमा भने काङ्ग्रेसका जुझारू युवा नेताले केही हदसम्म स्थान पाउन सफल भएको देखिन्छ ।
० काङ्ग्रेसी नेताका पुराना सोचको कारणले युवाले भूमिका नपाएको हो ?
– यति मात्र त होइन, कारण धेरै छन् । मुलुकले के चाहिरहेको छ त्यो नयाँ पुस्तालाई बढी जानकारी हुन्छ । त्यसैले युवालाई अघि बढाउनुको विकल्प छैन । काङ्ग्रेसका नेताले त्यो सोच्नु जरुरी छ । तर, सत्य यो यो हो कि ९५ प्रतिशतभन्दा नेता पुराना पिँढीका छन् ।
० निजी जीवनको कुरा गर्दा तपार्इं काङ्ग्रेसको निकै सक्रिय युवा नेतामध्ये एक हुनुहुन्छ र पनि पछि पर्नुभएको जस्तो देखिन्छ, किन होला ?
– तपाईंले भनेजस्तो मैले आफूलाई पछि परेकोजस्तो देखेको र ठानेको छुइनँ । तर, समग्र युवाको कुरा गर्ने हो भने काङ्ग्रेसमा मजस्ता धेरै युवा नेता पछिपरेका छन् । तिनलाई केही माथि उकास्ने काम पछिल्लो आन्दोलनले गरेको देखिन्छ । मेरो सवालमा कुरा गर्दा पार्टीले मेरो विचार र सिद्धान्तलाई लिन नचाहेको वा मैले दिन नसकेको हुनसक्छ । यसका साथसाथै पारदर्शी मूल्याङ्कन नभएको पनि हुनसक्छ । अब हामी कति समयसम्म पर्ख र हेरको अवस्थामा रहने हो यो युवाबीच छलफल र बहसको विषय बनेको छ । तथापि, काङ्ग्रेसको हालै सम्मन्न १२औँ महाधिवेशनलाई हेर्दा त्यहाँ सबैभन्दा बढी मत युवाले नै ल्याएको छ ता पनि यहाँ पुराना पुस्ताका नेताको सिन्डिकेट कायम रहेकाले समस्या देखिएको हो । यसखालका सिन्डिकेट तोडिनु जरुरी छ ।
० नेतृत्वले पछि पारेका तपाईंहरूजस्ता युवा नेताहरू सङ्गठित रूपमा नेतृत्वविरुद्धमा आउने सोचमा त हुनुहुन्न ?
– अहिलेसम्म हामीले त्यस्तो सोचाइ बनाएका छैनौँ र युवाहरूबीच छलफल पनि चलाएका छैनौं । तर, अब युवाहरूबीच छलफलको खाँचोचाहिँ देखिएको छ ।
० पार्टी नेतृत्वले त युवाहरू गाउँ जाँदैनन्, सहरमै बसेर पद खोज्छन् भन्ने आरोप लगाउँछ नि !
– यस्तो आरोप लगाएको मैले सुनेको छैन । तर, सत्य के हो भने काङ्ग्रेसका युवा नेताहरूलाई अझै गाउँ जाने वातावरण छैन, नेपालमा शान्त र अमनचयन छ भनिन्छ तर, काङ्ग्रेसका युवाले गाउँमा त्यसको महसुस गर्न पाएका छैनन् । काङ्ग्रेसको कुनै युवा नेता गाउँ गयो भने यसलाई एमाओवादीदेखि विभिन्न पार्टीका मानिसले यो त धनी पार्टीको नेता हो, हामीलाई यस्तो सहयोग गर्नुपर्‍यो, फलानो कामका लागि यति चन्दा सहयोग दिनुपर्‍यो, यो हाम्रो इलाका हो यहाँ हामीले भनेको मात्र मान्नुपर्छ, कुनै राजनीति गर्न पाइँदैन जस्ता अनेकखाले दबाबको सामना गर्नुपरेको छ । त्यसैले पनि हाम्रा धेरै युवा कार्यकर्ता गाउँमा जान सकिरहेका छैन । यसबारेमा पार्टी नेतृत्वले सोच्नु जरुरी छ ।
० तपाईंमाथि पनि यस्ता घटना घटेका छन् ?
– घटेका छन्, गाउँमा मलाई अनेकखाले दु:ख दिने गरेका छन् । होला सहरमा बसेका माओवादीले दुृ:ख दिएका छैनन् । तर, गाउँका माओवादीले फरक विचार बोक्ने दलका नेता तथा कार्यकर्तालाई टिक्न दिएका छैनन् । अनेकखालका मानसिक तथा भौतिक दु:ख दिइरहेका छन् ।
० काङ्ग्रेसकालाई मात्र कि अरू दलका नेता तथा कार्यकर्तालाई पनि दु:ख दिने गरेका छन् उनीहरूले ?
– बढी काङ्ग्रेसका नेता तथा कार्यकर्तालाई गाउँमा जान कठिन छ । उनीहरू निशानामा पर्ने गरेका छन् । यस विषयमा हामीले पार्टी नेतृत्वलाई पटक-पटक जानकारी गराइरहेका छौँ ।
० यसको मतलब काङ्ग्रेसका नेता-कार्यकर्ता डराएर गाउँ नै नजाने रहेछन्, होइन त ?
— कतिपय घटना-परिघटनाले पनि त्यसलाई साथ दिएको छ । विभिन्नखाले धाकधम्कीबाट मानिसलाई आतङ्कित बनाएपछि ऊ स्वाभाविक रूपमा गाउँ जान सक्दैन । तर, अहिले काङ्ग्रेसले विभिन्न कार्यक्रम ल्याएर गाउँमा जागरण कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँ जाने योजना बनाइरहेको छ । नयाँ अवधारणाका साथ अघि बढ्न खोजिरहेको छ । यसमा काङ्ग्रेसका लाखौँ युवा कार्यकर्ता सहभागी हुन्छन् ।
० अन्त्यमा ?
– युवाले विचारको राजनीतिलाई अघि बढाउनुपर्छ । अहिलेको सङ्क्रमणकालीन राजनीतिकबाट पार लगाउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ र त्यसका लागि युवाले आफ्नो पार्टी नेतृत्वलाई सधैं खबरदारी गरिरहनुपर्छ । अहिलेसम्म भएका आन्दोलनका उपलब्धि सबै पूरा हुने चरणअन्तर्गत पाइपलाइनमा छन् । ती पूरा भइसकेका छैनन्, त्यसैले ती पाइपलाइनमा रहेका मुद्दालाई पूरा गर्न हामी सबै युवा सकारात्मक सोचका साथ लाग्नुपर्छ र यसको अगुवाइ काङ्ग्रेसले नै गर्नुपर्छ ।
– आर. पाण्डे