राजनीतिले बाटो बिराउँदा देशले दुःख पायो– कुमार पण्डित (अध्यक्ष, एनआरएनए नर्वे)

राजनीतिले बाटो बिराउँदा देशले दुःख पायो– कुमार पण्डित (अध्यक्ष, एनआरएनए नर्वे)


antarbicharअध्ययनको सिलसिलामा १६ वर्षअघि नर्वे पुगेका काठमाडौं सुन्दरीजलका कुमार पण्डितलाई नेपालको राष्ट्रिय राजनीतिबारे त्यति ज्ञान छैन । तर, हालै गैरआवासीय नेपाली सङ्घ (नर्वे)को अध्यक्षको जिम्मेवारी पाएपछि भने नेपाली राजनीति र अन्य परिस्थितिबारे विशेष बुझ्नुपर्ने सोच उनमा पलाएको छ । हेल्पिङ ह्यान्ड फर नेपाल नामक संस्थाका सल्लाहकारसमेत रहेका कुमारलाई यसै साता सम्पन्न चौथो साधारणसभाले आगामी दुई वर्षका लागि अध्यक्ष चयन गरेको हो । नर्वेमा रहँदै आएका एनआरएन युवाहरूमाझ लोकप्रिय पण्डितले अध्यक्ष बनेपछि त्यहाँ रहेका नेपाली समुदायबीचको सौहार्दतालाई बढाउने र नर्वेमा रहेका नेपाली समुदायलाई नेपालमा लगानीका लागि आकर्षित गर्ने कार्यक्रमलाई प्राथमिकता दिने सोच बनाएका छन् ।
० एनआरएनए नर्वेको अध्यक्ष बनेपछि तपाईंको पहिलो प्राथमिकता केमा रहन्छ ?
– गैरआवासीय नेपाली सङ्घको विधानले नर्वेमा रहेका विद्यार्थी र अन्य प्रकारले बसोबास गरिरहेकाहरूलाई पनि सदस्य बन्नबाट रोकेको छ । त्यसैले मेरो पहिलो प्राथमिकता भनेको नर्वेमा रहेका नेपालीबीचको सौहार्दतामा अभिवृद्धि गर्नु नै हो । सदस्य बन्नबाट बन्चित भए पनि उनीहरूलाई हाम्रै समुदायभित्र अनुबन्ध गरेर अगाडि बढ्ने सोच मैले लिएको छु । नर्वेमा बस्ने नेपालीको भावनामा एकात्मकता ल्याउन म विशेष जोड दिनेछु । नर्वेमा बस्ने युवाहरूमाझ पनि लोकप्रिय भएकाले उनीहरूका लागि विशेष कार्यक्रम ल्याउने अवधारणा मेरो छ । नर्वेमा महिला र युवाका लागि विशेष कार्यक्रम ल्याउने नीति हाम्रो कार्यसमितिले लिएको छ । हामी त्यसैअनुसार काम गर्नेमा प्रतिबद्ध छौँ । यसको निम्ति पहिलो चरणमा नर्वेमा भएका नेपालीको तथ्याङ्क जम्मा गर्ने काम गर्नेछौँ । त्यसपछि नर्वेमा भएका नेपाली व्यापारीहरूलाई नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने वातावरण छ भन्ने सन्देशसहितको माहोल तयार गर्न पनि हाम्रो समितिले काम गर्नेछ ।
० नर्वेमा बस्ने नेपालीले तपाईंलाई नै अगुवा रोज्नुको कारण के हुनसक्छ ?
– मुख्य कारण भनेको नेपाली समुदायबीच मैले आफ्नो स्थानबाट बनाएको पहिचान र उक्त पहिचानले सिर्जना गरेको लोकप्रियता नै हुनसक्छ । नर्वेमा रहेका युवामाझ र नेपाली समुदायबीच हुने विविध कार्यक्रम आयोजना तथा सञ्चालन गर्ने सन्दर्भमा पनि मेरो सक्रियता बढी नै रहने भएका कारण पनि सामाजिक क्रियाकलापमा उहाँहरूले मलाई अघिसार्न चाहनुभएको होला भन्ने लाग्दछ । अर्को कुरा भनेको एनआरएन (नर्वे) स्थापना गर्ने विषयमा पनि मेरो भूमिका अग्रस्थानमै थियो । एनआरएन नर्वेको तदर्थ समितिको संयोजक भएरसमेत काम गरिसकेका कारण पनि म उहाँहरूको रोजाइमा परेको हुँ । तर, यसरी रोजाइमा पर्नुलाई नै महत्वपूर्ण ठानेर बस्ने मेरो सोच छैन । आफ्नो कार्यकालमा राम्रो भूमिका निर्वाह गरेर संस्थाको गरिमा उच्च तुल्याउन लागिपर्ने अठोट लिएको छु । सबैको साथ–सहयोग लिएर जिम्मेवारी निर्वाहमा सफलता हासिल हुने विश्वास पनि छ मलाई ।
० नेपाली जहाँ पुगे पनि गुटबन्दीबाट मुक्त हुन सक्दैनन् भन्ने गरिन्छ, यस्तोमा संस्थाको नेतृत्वका लागि निर्वाचन नै भएपछि अब गुटबन्दी हुँदैन भन्ने कुराको ग्यारेन्टी छ त ?
– निर्वाचन नहोस् भनेर हामीले अन्तिम समयसम्म पनि प्रयास गरेकै हौँ । तर, कारणवश निर्वाचन नभइरहन सकेन । तथापि, लोकतान्त्रिक पद्धतिलाई आत्मसात् गर्ने हामी नेपालीले निर्वाचनलाई गुटबन्दीका रूपमा लिनुहुँदैन र लिएका पनि छैनौँ । वास्तवमा गुटबन्दी हुँदैन भन्ने कुराको सुनिश्चितताको सुरुवात हामीले गरिसकेका छौँ । निर्वाचनमा उम्मेदवार बनेका प्रतिद्वन्द्वी साथीहरूको समेत साथ लिएर अघि बढ्ने योजना बनिसकेको छ । निर्वाचन सकिएलगत्तै हाम्रो गुटबन्दी पनि समाप्त भइसकेको छ । एनआरएन नर्वेमा थोरै साथीभाइ छौँ । सबै मिलेर बस्छौँ र बसेका पनि छौँ । मैले यो विषयमा सबै मित्रजनसँग कुरा गरेको छु र सबैलाई सकारात्मक पाएको पनि छु । त्यसैले नर्वेमा गुटबन्दी हुँदैन भन्नेमा म निश्चिन्त छु । जहाँसम्म नेपाली जहाँ गए पनि गुटबन्दी गर्छन् भन्ने कुरा छ, यो आरोप मात्र होजस्तो लाग्छ । नेपाली पनि आज विश्वभर फैलिएका छन्, संसार देखेका छन्, बुझेका छन् र विश्वकै चालमा ताल मिलाएर अघि बढ्न प्रयासरत छन् । सङ्कीर्ण सोच राखेर आजको प्रतिस्पर्धात्मक विश्वमा अस्तित्व जोगाउन सकिन्न भन्ने सोच नेपालीमा व्यापक रूपले विकसित हुँदै छ । यसर्थ, जहाँ पुगे पनि गुटबन्दी गरिरहन्छन् भन्ने कुरालाई फगत आरोपका निम्ति आरोप भनी अथ्र्याउन सकिन्छ । कमसेकम हामी नर्वेनिवासी नेपाली यस्तो प्रवृत्तिबाट पर छौँ भन्ने मेरो विश्वास हो ।
० नर्वेवासी नेपालीबीच राजनीतिक खिचातानीचाहिँ कत्तिको छ नि ?
– नर्वेमा नेपालीको सङ्ख्या एकदमै थोरै छ । यहाँ भएका साथीभाइबीचमा अहिलेसम्म त्यस्तो अवस्था देखिएको छैन । सङ्ख्यामा थोरै र सबैबीच सौहार्द सम्बन्ध रहेकाले पनि राजनीतिक खिचातानी पटक्कै नभएको होला । अर्को कुरा स्वदेशदेखि यति टाढा रहेर केका लागि राजनीतिक खिचातानी गर्नु र ? राजनीति होस् या समाजसेवा, हरेक कार्यमा लगन र इमान हुनुपर्छ, जिम्मेवारी निर्वाहमा हरदम सचेत रहनुपर्छ । जब असल नियतले स्वस्थ र स्वच्छ ढङ्गमा काम गरिन्छ, त्यहाँ खिचातानीको कुनै गुञ्जायस नै रहँदैन भन्ने मेरो बुझाइ छ ।
० नेपालमा हालै गएको भूकम्पले निम्त्याएको महाविपत्तिबाट पार दिलाउन तपाईंहरू पनि केही गर्दै हुनुहुन्छ कि ?
– नेपालमा गएको विनाशकारी भूकम्पले हामी विदेशमा रहेका नेपालीलाई अत्यन्त मर्माहत बनाएको छ । विदेशमा भए पनि हाम्रा घर–परिवार, नातागोता र लाखौँ नेपालीजन पीडित भएका छन् । यस्तो बेलामा हामी पनि स्वदेशी दाजुभाइ–दिदीबहिनीको साथमा नउभिने भन्ने कुरै हुँदैन । त्यसैका लागि भनेर हामीले राहत र उद्धारका लागि अहिलेसम्म १८ लाख रुपैयाँ जम्मा गरिसकेका छौँ । रकम जम्मा गर्ने क्रम जारी छ । त्यसमध्ये सात लाख रुपैयाँ हामीले गैरआवासीय नेपाली सङ्घको खातामा जम्मा पनि गरिसकेका छौँ र बाँकी रकम पीडितको पक्षमा कसरी सदुपयोग गर्ने भन्नेका लागि हामीले एउटा टिम बनाएका छौँ । सो समितिले भूकम्पपीडितका लागि कसरी खर्च गर्ने भनेर निर्णय गर्नेछ ।
० तपाईंको नेतृत्वले नर्वेमा बस्ने नेपालीलाई विशेष के–के फाइदा पुग्छ होला, बताउन सक्नुहुन्छ ?
– आफ्नो कार्यकालमा नर्वेमा बस्ने नेपालीमाझ सौहार्दपूर्ण सम्बन्ध स्थापित गराउनेतर्फ मेरो भूमिका रहनेछ । सम्भव भएसम्म मासिक रूपमा नै भए पनि नेपाली समुदायबीच अन्तरक्रिया गर्ने र सुख–दुःखमा आत्मिक तवरले सहभागी हुन खोज्नेछु । मेरो पहिलो प्राथमिकता भनेको कम्युनिटी डेभलपमेन्ट हो । त्यसपछि नर्वेमा रहेका नेपाली व्यापारीहरूलाई नेपालमा लगानी गर्नका लागि आकर्षित गर्न प्रयास गर्नेछु । साथै मैले नर्वेका सरकारी र गैरसरकारी संस्थासँग समन्वय गरेर विभिन्नखाले सहयोग जुटाउने र नेपालीलाई सहयोग गर्नेतर्फ प्रभावकारी भूमिका खेल्नेछु ।
० नेपालको राजनीतिक अवस्थाबारे तपाईंको धारणा के छ ?
– सबैभन्दा पहिलो कुरा त म युवा अवस्थामा नै नर्वे प्रवेश गरेँ । धेरै समय नर्वेमै बिताएकाले नेपालको राष्ट्रिय राजनीतिबारे म त्यति जानिफकार छैन, त्यति बुझ्न सक्दिनँ भन्दा हुन्छ । तर, आफ्नै मुलुकको राजनीति नबुझेर पनि चित्त बुझ्दैन । त्यसैले अहिले यसमा चासो बढाएको छु । थोरै–थोरै बुझ्ने प्रयास गरिरहेको छु । यत्तिचाहिँ मलाई थाहा छ कि नेपालको राजनीतिले अझै सही बाटो पक्रिसकेको छैन । राजनीति सङ्लिन नसकेकाले आमजनता राजनीतिक दल तथा दलका नेताहरूको भूमिकाप्रति सन्तुष्ट छैनन् । राजनीति त देश र जनताको भलाइकै लागि हुनुपर्ने हो, तर नेपालमा यस्तो सोचको व्यावहारिक विकास अझै हुन सकेको छैन । अर्थात्, राजनीतिले उल्टो बाटो अवलम्बन गर्दा परिणाम पनि नकारात्मक आएको छ । अस्थिर राजनीतिको कारण मुलुकको विकास र समृद्धिको बाटो नै अवरुद्ध बनिरहेको छ । यथाशीघ्र यो कमजोरीबाट नेपालका राजनीतिक दल र यसका नेताहरू मुक्त हुनैपर्छ ।
० गैरआवासीय नेपाली सङघको बारेमा चाहिँ तपाईंको भनाइ के छ नि ?
– अन्य देशका गैरआवासीय संस्थामा प्राय धनाढ्य र व्यापारीहरू मात्रैले नेतृत्व गर्ने गरेको देखिएको छ । तर, नेपालीको संस्थामा भने यस्तो देखिएको छैन । विशेषगरी नर्वेमा त झन् सामान्य स्तरका नेपाली नै संस्थाको सदस्य भएका छन् । त्यसैले यो संस्था नेपालीको सुख–दुःखमा थप सहयोगी हुन सक्छ भन्ने मलाई लागेको छ ।
० तपाईंको विशेष व्यक्तिगत भावी योजना के छ नि ?
– नर्वे प्रवेश गरेपछि म थोरै समय रोजगारीमा लागे पनि बाँकी समय मैले व्यापारमै बिताएको छु । त्यसैले आगामी दिनमा पनि व्यापारलाई नै निरन्तरता दिने सोच मैले बनाएको छु । व्यापारमा निश्चित समय दिने र बाँकी समय संस्थागत तथा सामाजिक क्रियाकलापमा लगाउने सोच बनाएको छु ।