उच्च हिमाली जिल्लामा फेरि हिमपात, स्थानीयको दैनिकी कष्टकर

उच्च हिमाली जिल्लामा फेरि हिमपात, स्थानीयको दैनिकी कष्टकर


हिमाली जिल्ला हुम्लामा बहीबार फेरि हिमपात शुरु भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरु भएको हुम्लामा पुसको मध्यदेखि फागुनसम्म निरन्तर भएको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।

उत्तरी नाम्खा गाउँपालिकामा हिमपातकै कारण एक महिनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा भारी हिमपातले गर्दा नाम्खा गाउँपालिकामा रहेको नमस्ते टेलिफोन टावर बिग्रँदा एक महिनादेखि मर्मत नहुँदा टेलिफोन गर्न नपाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए । त्यस क्षेत्रका स्थानीयले नमस्ते, स्काइ टेलिफोन सेवाले काम नगर्दा जिल्लाबाहिर रहेका आफन्तसँग सन्चो–बिसन्चो सोध्नलाई समस्या बनाएको छ ।

माघमा परेको भारी हिउँ पग्लिन नपाउँदै बिहीबारबाट फेरि हिउँ पर्न थालेको छ । आज बिहान निरन्तर परेको हिउँ करिब चार इन्च जमिसकेको छ । हिमपातले चिसो बढ्दै गएको छ ।

प्रहरीको वासस्थान सऱ्यो

नाम्खा गाउँपालिका–६ मुचुमा रहेको प्रहरी चौकी भारी हिमपातको चिसोले तीन घन्टा पैदल हिँडेर पुग्ने स्थान तुम्कोटमा सारिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । नेपाल प्रहरीको सञ्चारसेटबाहेक अन्य टेलिफोन सेवा बिग्रँदा समस्या बनाएको उनले जानकारी दिए । नाम्खा गाउँपालिकाको खबर प्रहरी सञ्चार सेटमा लिने गरेको जानकारी प्राप्त भएको छ । उत्तरी नाम्खा गाउँपालिका उच्च हिमाली गाउँपालिकामा पर्ने भएकाले हिमपातले चिसो बढाएको तीन घन्टा तल बेँसीतिर सारिएको उनले बताए ।

दाउराको माग

जिल्ला सदरमुकाम सिमकोटमा यतिबेला दाउराको माग बढ्दै गएको छ । हिमाली जिल्ला हुम्लामा लगातार हिमपात हुँदा चिसो बढेसँगै दाउराको माग बढ्दै गएको हो । उता हिल्दुम साना जलविद्युत केन्द्रले विद्युत भार कटौती समय तालिका बढाउँदै गएपछि दाउराको माग बढेको हो ।


जिल्लाका खार्पुनाथ सिमकोट गाउँपालिकाका स्थानीयले सिमकोट बजारमा ल्याएका दाउरा एक भारीको रु. ५०० देखि एक हजारसम्मको मूल्य तिरेर खरिद गर्नुपरेको सिमकोटमा बस्दै आएका विनिता महताराले बताइन् । लगातार हिमपात हँुदा घार बनाउन वनमा गएर दाउरा ल्याउन असहज हुँदा महँगो मूल्यमा किन्नुपरेको उनको भनाइ छ । दाउरा बिक्री गर्ने खच्चड व्यवसायीले पनि राम्रो आम्दानी गरेका छन् ।

डोल्पालीहरू अलपत्र

केही समयदेखि परेको हिमपातले डोल्पा जिल्लाको उत्तरी क्षेत्रको जनजीवन कष्टकर बनेको छ । चार–पाँच फिटसम्मको हिउँ जमेका कारण यहाँका बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् । विगतका वर्षहरूमा सामान्यतः माघको अन्तिमसम्म मात्रै हिमपात हुने गरेकामा यस वर्ष फागुनको मध्यसम्म पनि हिउँ पर्ने क्रम रोकिएको छैन ।

हिमपातकै कारण कतिपयको घरभित्र जोहो गरेको खाद्यान्न सकिन लागेकाले भोकमरीको अवस्था आउने सम्भावना देखिएको छ । बिरामी हुँदा औषधोपचार गर्ने तथा चौँरीलगायतका पशुहरूलाई खुवाउने कुराको अभावमा भोकै मर्ने स्थितिसमेत उत्पन्न हुन सक्ने खतरा देखिएको छ ।

हिमपात नरोकिएका कारण जाडो छल्न काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा झरेका कतिपय डोल्पाली घर फर्किन सकेका छैनन् । महिनौँसम्म राजधानीमा बस्नुपर्दा खर्च धान्न पनि मुस्किल भएको डोल्पा बुद्ध गाउँपालिका–१ धो तरापका नाम्ग्याल गुरुङले बताए । उनका अनुसार यतिबेला राजधानीमा मात्रै ५०० भन्दा बढी डोल्पाली बौद्धलगायतका स्थानमा अलपत्र परेका छन् । गुरुङ भन्छन्, ‘अधिकांशको राजधानीमा आफन्तको घर नभएकाले बौद्धका गलैँचा कारखानाहरूमा बस्नुपरेको छ ।’