अन्तरविचारहरू

अन्तरविचारहरू


antarbicharअन्तरविचार –१
हो, मलाई केपी ओलीकै मान्छे भन्छन्– कृपासुर शेर्पा (पर्यटनमन्त्री)
भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचन जितेर संविधानसभामा प्रतिनिधित्व गरेका कृपासुर शेर्पा नेकपा एमालेसम्बद्ध त्यस्ता सीमित भाग्यमानी व्यक्तिमध्ये पर्छन् जो पार्टीमा आबद्ध भएको छोटो अवधिमै मन्त्रीको जिम्मेवारी पाउन सफल भएका छन् । शिक्षकको रूपमा ६ वर्ष र निजामती प्रशासनमा २६ वर्ष बिताएर नायब सुब्बाको जागिरबाट राजीनामा दिई राजनीतिमा होमिएका शेर्पा औपचारिक रूपमा एमालेमा आबद्ध भएको लगभग एक दशक अवधिमै राज्यको उच्च जिम्मेवारीमा पुगेका छन् । समय र मानिस चिनेर व्यवहार गर्न खप्पीस व्यक्तिका रूपमा समेत परिचितहरूमाझ चर्चाको पात्र रहँदै आएका नवनियुक्त पर्यटनमन्त्री कृपासुर शेर्पामा कुनैबेला पर्यटन क्षेत्रसँग सम्बन्धित भई काम गरेको अनुभवसमेत रहेको छ । विनाशकारी भूकम्पका कारण पर्यटन क्षेत्रमा सन्नाटा छाएको परिवेशमा मन्त्री नियुक्त भएका शेर्पा मुलुकको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन आफू दृढसङ्कल्पित रहेको बताउँछन् ।
० विनाशकारी भूकम्पबाट पर्यटन क्षेत्र तहसनहस भएको अवस्थामा तपाईं पर्यटनमन्त्रीमा नियुक्त हुनुभएको छ, तपाईंका तत्कालका काम के–के हुनेछन् ?
– निश्चय पनि भूकम्पका कारण हाम्रा सांस्कृतिक थातथलो, ऐतिहासिक धरोहरहरू र देशकै आर्थिक मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रसम्बद्ध ट्रेकिङ रुटहरू, पर्यटक गन्तव्यस्थलका होटल–लज तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलहरू ध्वस्त भएका छन् । यस पीडादायी अवस्थालाई ध्यानमा राख्दै सर्वप्रथम त म यिनको पुनर्निर्माण गर्ने दिशामा योजनाबद्ध ढङ्गले लाग्ने प्रतिबद्धता जाहेर गर्दछु । पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याएर यस क्षेत्रमा रहेभएका समस्याहरू निराकरण गर्दै अझ समृद्ध व्यवसायका रूपमा स्थापित गराउन गुरुयोजना बनाएर अघि बढ्नेतर्फ मैले तत्काल पहलकदमी लिनेछु ।
० प्रतिबद्धता पूरा गर्न बोलेजस्तो सहज होला भन्ने लाग्छ तपाईंलाई ?
– पक्कै पनि यो काम सहज छैन, त्यसमाथि विपत्तिले घेरेको अहिलेको अवस्थामा त झन् सहज हुने कुरै आउँदैन । मैले यो राम्ररी बुझेको छु । तर, म कठिनाइसँग भागेर हिँड्ने स्वभावको व्यक्ति होइन । विश्वास र भरोसा गरेर अप्ठ्यारो अवस्थामा पार्टीले राष्ट्रसेवा गर्ने जिम्मेवारी सुम्पिएको छ, यसलाई इमानदारीका साथ पूरा गर्न लागिपर्नेछु ।
० पर्यटक आकर्षित गर्न यावत् काम गर्ने कुरा गर्दै हुनुहुन्छ, तर विदेशी पर्यटकले नेपालमा पहिलो पाइलो हाल्ने थलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै अवस्था कन्तविजोग छ, के भन्नुहुन्छ ?
– त्यसलाई कन्तविजोग नै भन्नचाहिँ मिल्दैन । केही कमी–कमजोरी त्यहाँ पक्कै रहेका होलान् । यसलाई सरोकारवाला सबैको सुझाव एवम् साथ–सहयोग लिएर उचित व्यवस्थापनका साथ सुधार गर्ने सोच मैले बनाएको छु । विमानस्थल मर्मत तथा सुधारसम्बन्धी विषयगत ज्ञान भएका वेत्ताहरूको हामीकहाँ अभाव पनि छैन । त्यस्ता जनशक्तिलाई राष्ट्र निर्माणमा अग्रसर हुन उत्पे्ररित तुल्याउँदै तिनको भरपूर सदुपयोग गर्ने कुरालाई मैले विशेष प्राथमिकता दिनेछु ।
० जातीयताको मुद्दा उठाएर तपाईंको पार्टीबाट अशोक राईलगायतका नेताहरू अलगथलग भए, तपाईंचाहिँ आफ्नो जातीय पहिचान खोज्नेतिर किन लाग्नुभएन ?
– हामीले जतिसुकै पहिचानको कुरा गरे पनि पहिला आमनेपालीको हितमा, राष्ट्रको पक्षमा काम गर्नुपर्छ भन्ने मेरो मान्यता रहिआएको छ । नेपाली–नेपालीबीच सदियौँदेखि रहेको जातीय सद्भाव, धार्मिक सहिष्णुता, मित्रता र एकतालाई जीवन्त राख्दै हामी अघि बढ्नुपर्छ भन्ने मान्यता हिजो पनि गहिरोसँग मभित्र रहेको थियो भने आज पनि उत्तिकै अमिट रूपमा यो कुरा मेरो हृदयमा गढेर रहेको छ । हिजोका दिनमा सामन्तवादको पक्षपोषण गर्ने एकात्मक र केन्द्रीकृत शासनको कारण विभिन्न किसिमले जातीय, भाषिक तथा धार्मिक, सांस्कृतिक, सामाजिक रूपमा शोषण, दमन, उत्पीडन तथा बहिष्करणमा परेकाहरूले राज्यको मूलधारमा आउने अवस्थाको विकास आज भएको छ, हुँदै छ । पार्टीको एक निष्ठावान कार्यकर्ता भएको नाताले जातीवादको सङ्कीर्ण घेराबाट मुक्त रही उल्लेखित विषयमा पार्टीको नीति वा सोचलाई लागू गराउने दिशामा कटिबद्ध हुनु नै म आफ्नो कर्तव्य सम्झन्छु ।
० तपाईं जातीवादको यसरी विरोध गर्दै हुनुहुन्छ, तर सङ्घीय प्रदेश निर्माण गर्दा जातीय राज्यको माग गर्नेहरूलाई कसरी मनाउन सक्नुहोला ?
– एकखालको शोषण, दमन र उत्पीडनबाट मुक्ति खोज्दै गर्दा अर्को खालको शोषण, दमन र उत्पीडन जन्माउने खालको सङ्घीयताको पक्षमा म छैन । वास्तवमा सबैले स्वामित्व ग्रहण गर्ने खालको, मुलुकले अग्रगति लिने खालको, समयसापेक्ष प्रगतिशील संविधान ल्याउनुपर्छ भन्नेमा म दृढताका साथ उभिएको छु । यही मान्यतालाई स्थापित गराउन आफूसक्दो म लागिरहन्छु । चाहे हिमालका हुन्, पहाडका हुन् या तराईका, अनि जुनसुकै धर्म, संस्कृति, भाषा र रीतिरिवाज मान्ने हुन्, जो भए पनि हामी सबै नेपाली केवल नेपाली नागरिक नै हौँ । हामी मिले मात्र देशको उन्नति–समृद्धि सम्भव हुन्छ भन्ने सबैले मनन गर्नु अपरिहार्य छ । एक लाइनमा भन्नुपर्दा साझा पहिचानसहितको प्रदेश निर्माण हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
० के कतिपयले माग गरेअनुसार जातीय राज्यको सम्भावना यस मुलुकमा छैन त ?
– त्यो त कदापि सम्भव छैन । किनकि, त्यस्तो राज्य व्यावहारिक हुनै सक्दैन । त्यस्तो सोचले संविधान निर्माण कार्य बिथोल्ने र देशलाई द्वन्द्वकै भासमा लैजाने खतरा मात्रै पैदा गर्छ ।
० संविधान निर्माणको कार्यले अब कसरी पुनर्गति लेला नि ?
– नेपाल र नेपाली जनताको हितमा काम गर्छु भन्ने जिम्मेवार राजनीतिक शक्तिहरूले आफ्ना अव्यावहारिक अडान त्याग्दै हामी र हाम्रो देश भन्ने भावनाको विकास गर्दै संविधान निर्माणको कामलाई गति दिनु आवश्यक छ । म त हरदम सकारात्मक सोच राखेर कर्तव्य निर्वाहमा लागिरहेको हुन्छु, त्यसैले अब संविधान निर्माणको कार्यले पनि सकारात्मक गति लिनेमा आशावादी छु । देशमा गएको प्रलयकारी भूकम्पले पनि वास्तवमा आफ्ना सङ्कीर्ण र अव्यावहारिक चिन्तन तथा व्यवहारबाट मुक्त हुँदै एकढिक्का भएर अघिबढ्न सबै पक्षलाई उत्प्रेरित गरेको अनुभूति मलाई भइरहेछ ।
० एमालेले आफ्ना कार्यकर्ताप्रति न्याय–अन्याय के गर्दोरहेछ भन्ने तपाईंको बुझाई रहेको छ नि ?
– स्वाभाविक रूपमा कहिलेकाहीँ पार्टीका कदम निर्मम पनि हुन सक्छ । तर, कुनै पनि पार्टी–सङ्गठनमा आबद्ध भएर चल्ने प्रतिबद्धता जनाइसकेपछि पार्टीको सिद्धान्त, नीति–नियम र अनुशासनलाई शिरोधार्य गर्दै अनुशासित भएर अघि बढ्न हरेक कार्यकर्ता प्रतिबद्ध हुनुपर्छ । आफूखुसी जथाभावी चल्न खोजे पार्टी उसप्रति निर्मम पनि हुन सक्छ । यो एमालेमा मात्र नभई हरेक पार्टीमा लागू हुने कुरा हो जस्तो मलाई लाग्छ ।
० तपाईंलाई त केपी ओलीको मान्छे भन्दारहेछन् नि, किन होला ?
– खै ! मैले पनि यस्तै सुन्ने गरेको छु । किन त्यसो भन्छन्, त्योचाहिँ भन्नेहरूलाई न थाहा होला । योचाहिँ सत्य हो कि अध्यक्ष ओलीका विचार, अभिव्यक्ति र व्यवहारबाट म सुरुदेखि नै विशेष प्रभावित रहँदै आएको छु । यसको मतलब पार्टीका अन्य नेताप्रतिचाहिँ मेरो हृदयमा सम्मान भाव नरहेको भन्ने होइन ।
० एमालेले अठार महिनाबीच पर्यटन मन्त्रालयमा तीनजना मन्त्री फेर्नुपरेकोचाहिँ किन होला नि ?
– यो कुराको जवाफ दिने हैसियतमा म छैन जस्तो लाग्छ । मैले त अब पार्टीले सुम्पिएको जिम्मेवारी बहन गर्न लागिपर्ने र कसरी आफ्नो जिम्मेवारीमा खरो उत्रिने भन्ने कुरामा मात्र चिन्तन सुरु गरेको छु । कति समयमा कतिजना मन्त्री बदलिए भनेर औंला भाँचिबस्नु सायद उचित पनि नहोला ।
० निवर्तमान पर्यटनमन्त्रीले त चाहेअनुसार काम गर्न नदिएर मलाई पार्टीले अन्याय ग-यो भन्ने दुखेसो पोखेका छन् नि ?
– खै ! यसरी दुखेसो गर्नुभएको कुरा मेरो जानकारीमा त छैन । यो कुरामा सत्यता छ जस्तो पनि लाग्दैन मलाई । कुन सन्दर्भमा कसरी उहाँले आफ्नो अभिव्यक्ति दिनुभएको थियो र त्यसलाई मिडियाले कसरी प्रस्तुत ग-यो भन्ने कुराले पनि फरक पर्न सक्छ । जहाँसम्म लाग्छ, उहाँ पनि पार्टीको एक निष्ठावान कार्यकर्ता भएकाले पार्टीनेतृत्वको बर्खिलाप हुनेगरी पार्टीको र उहाँ आफ्नै मर्यादामा पनि आँच पुग्ने खालको अभिव्यक्ति दिनुभयो होला भन्नेमा मलाई विश्वास लाग्दैन ।
० तपाईंलाई मन्त्री बनाउन पार्टीले नै सहमति दिएको हो कि अध्यक्ष केपी ओलीको इच्छाले मात्र काम गरेको होला ?
– हाम्रो पार्टी सहमतिबाटै चल्ने भएकाले सहमतिबाटै यो निर्णय भयो भन्नेमा विश्वस्त छु । एउटा व्यक्तिले मात्रै चाहेर यत्रो विशाल सङ्गठन भएको पार्टी कसरी सञ्चालन हुन सक्छ र ? तसर्थ, मलाई मन्त्री बनाउने सन्दर्भमा पनि शीर्षनेतृत्व पङ्क्तिमा काउन्सिलिङ भएकै हुनुपर्छ ।

अन्तरविचार–२
बहुराष्ट्रिय सेनाले आफूखुसी काम गर्ने अवस्था रहेन– जगदीशचन्द्र पोखरेल (प्रवक्ता, नेपाली सेना)
० वैशाख १२ को भूकम्पपछि मुलुकमा आइपरेको विपत्तिबाट पार पाउन नेपाली सेनाले प्रधानमन्त्री राहत कोषमा २४ करोड प्रदान गरेको छ, राहत कोषको रकम सदुपयोग हुनेमा तपाईंहरू कत्तिको विश्वस्त हुनुहुन्छ ?
– नेपाली सेनाका सकल दर्जाका तर्फबाट प्रधानमन्त्री राहत कोषका लागि प्रधानसेनापतिज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष २४ करोड ३६ लाख ६ हजार नौ सय ८६ रुपैयाँ ६७ पैसाको चेक हस्तान्तरण भएको छ । भूकम्पका कारण पीडित बन्न पुगेका, अनेक क्षति व्यहोर्नुपरेका आहत नेपालीजनको पीडामा मल्हम लगाउन यस रकमले केही मद्दत पुग्ने र रकमको सदुपयोग हुनेमा नेपाली सेना विश्वस्त छ ।
० उद्धार, राहत र अन्य सहयोगमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको चौतर्फी प्रशंसा भइरहेको परिवेशमा कतिपय दुर्गम स्थानमा आवश्यक राहत नपुगेको गुनासो पनि आइरहेको छ । जनताको घरदैलोमा राहत कसरी पु-याउने सोच नेपाली सेनाले राखेको छ ?
– निश्चय पनि यो संवेदनशील विषय हो । यसमा व्यवस्थित र समन्वयात्मक ढङ्गबाट हामी काम गरिरहेका छौँ र आवश्यकताअनुसार नयाँ–नयाँ योजनासमेत बनाइरहेका छौँ । अतिप्रभावित जुन चौधवटा जिल्ला छन्, ती जिल्लाका अति विकट स्थानमा नेपाली सेनाको टुकडीहरू पुगिसकेका छन् । ती टुकडीले मोटर बाटो नभएको स्थानमा आवश्यक राहत तथा खाद्य सामग्री पु-याउने, हेलिप्याड बनाउन मद्दत गर्ने, प्रभावित ठाउँका आवश्यक सूचना सम्बन्धित निकायसम्म पु-याउने, स्थानीयवासीलाई छाप्रो निर्माणलगायतमा सघाउने काम गर्छन् । नेपाली सेनाले आफ्ना समस्त हवाईसाधनहरू परिचालित गरेकाले विकट स्थानहरूमा पनि राहत सामग्री र खाद्यान्न पु-याउन सहयोग पुगेको छ ।
० अति प्रभावित जिल्लाका कतिपय विकट स्थानमा अहिलेसम्म हेलिकोप्टरहरू पुगेका छैनन्, राहत पुग्न सकेको छैन भन्ने गुनासो त आइरहेकै छ नि ?
– नेपाल सरकारले बनाएको योजनाअनुसार समन्वयात्मक रूपले हामी काम गरिरहेका छौँ । नेसनल इमर्जेन्सी अपरेसन सेन्टरअन्तर्गत रही मल्टिनेसनल मिलिटरी को–अर्डिनेसन सेन्टरको व्यवस्थापनको काम नेपाली सेनाले नै गरेको हो । कुन स्थानमा के–कति राहत तथा खाद्यान्न र मेडिकल सेवा आवश्यक परेको छ, निर्देशनअनुसार प्राथमिकताका आधारमा विमानस्थलमा रहेको वयर हाउसबाट गाडी जाने ठाउँमा गाडीबाट र नजाने ठाउँमा हवाईसाधनमार्फत सामग्रीहरू लैजाने काम सेनाले गरिरहेको छ । चौधै जिल्लामा रहेका फौजलाई सकभर विकट स्थानमा पुगेर सेवा गर्न केन्द्रबाट निर्देशन रहेकाले सोअनुसार ६ सयभन्दा बढी स्थानमा स–साना टुकडीमा विभक्त सेनाका जवानहरू खटेका छन् । उनीहरूले सबै स्थानका सूचना पनि दिइरहेका छन्, त्यो सूचना हामीले माथिल्ला निकायमा पास गर्छौं र आवश्यकताअनुसार समन्वयात्मक रूपबाट सेवा पु-याइरहेका छौँ । केन्द्रको निर्देशनअनुसार हामीले प्रभावित जिल्लामा पु-याएका राहत तथा खाद्य सामग्रीको समुचित वितरण गर्ने जिम्मेवारी जिल्ला दैवी प्रकोप उद्धार समितिको पनि हुने हुनाले समितिले कसरी गरिरहेको छ, कुनै कमी–कमजोरी भएको छ कि, यसको डिटेल्स जानकारी लिने काम त नेपाली सेनाको होइन । जिल्लाले आफू पुग्न–पु-याउन नसक्ने स्थानमा सेनालाई अनुरोध गर्छ, त्यतिबेला हामी निर्देशनअनुसार सेवा दिन प्रतिबद्ध छौँ र गरिरहेका पनि छौँ ।
० विपत्तिमा सघाउन आएका मित्रराष्ट्रका सेनामध्ये कैयन अझै पनि यहीँ रहेका बुझिन्छ, अब नेपाली सेनालगायतका सुरक्षाकर्मीबाटै बाँकी काम गर्न सकिन्न र ? विदेशी सेना कहिलेसम्म राखिरहने ?
– पीडितलाई भग्नावशेषबाट उद्धार गरी जोगाउने सवालमा मित्रराष्ट्रहरूका सुरक्षाकर्मीले ठूलो सहयोग पु-याएका हुन् । हामीले आफूसँग भएका इक्विपमेन्ट, सीप, कौशल र जनशक्ति पनि यथासम्भव उपयोग ग-यौँ । त्यसका बाबजुद अपुग हुने अवस्था निम्तिएपछि या हामीले मात्र नभ्याउने अवस्था देखेर लगभग चार हजारको सङ्ख्यामा विदेशी फौज सघाउन नेपाल आएका थिए । चीन, क्यानडा, अमेरिका र भारतका गरी जम्माजम्मी १२६१ जति विदेशी सुरक्षाकर्मी यहाँ बाँकी छन् । उहाँहरू पनि व्यवस्थित योजना बनाएर बिस्तारै फिर्ता जाने क्रममा हुनुहुन्छ ।
० कहिलेसम्ममा विदेशी फौज नेपालबाट बाहिरिइसक्नेछन् त, केही अन्दाज छ तपाईंहरूसँग ?
– आउँदाखेरि पनि योजनाबद्ध रूपले उहाँहरू आउनुभएको हो र जाँदा पनि योजनाबद्ध किसिमबाटै जानुहुनेछ । कुन खालको म्यानपावरको कतिबेला जरुरत थियो, अहिले कति र कस्तो म्यानपावरको खाँचो छ, कहाँ के–कति काम बाँकी छन् भन्ने कुराको मिहीन लेखाजोखाका आधारमा जरुरत नरहेका विदेशी फौजहरू फर्किने क्रम जारी छ । मेडिकल सेक्टरमा सहयोग पु-याइरहेका बहुराष्ट्रिय सेनाका सुरक्षाकर्मीहरूको जरुरत अझै पनि रहेकाले उहाँहरू अझै कार्यरत हुनुहुन्छ । उहाँहरूबाट उपचार सेवा पाइरहेका बिरामीको उचित व्यवस्थापन भएपछि उहाँहरू पनि फर्कनुहुनेछ । बहुराष्ट्रिय सेनाका फौज जथाभावी किसिमले आएका पनि होइनन्, योजनाबद्ध र व्यवस्थित ढङ्गबाटै आएका र सोहीअनुसार सहयोगका चरण पूरा गरी फर्कने छन्, जुन क्रम जारी छ ।
० नेपाली सेनाको अनुमति या जानकारीमै सबै काम भइरहेको छ त बहुराष्ट्रिय सेनाबाट ?
– यहाँ जति पनि बहुराष्ट्रिय सेनाका व्यक्तिहरू छन्, मल्टिनेसनल मिलिटरी कोअर्डिनेसन सेन्टरको कोअर्डिनेशसनमै काम गरिरहेका छन् । कति फौज कुन स्थानमा बस्ने, आज कहाँ के काम गर्ने, दिनभरमा के–कति काम भयो, के काम बाँकी छ, भोलिको काम कसरी बाँडफाँड गर्ने आदि बारेमा सेन्टरमा हरेक दिन छलफल र निर्णय हुन्छ ।
० विदेशी सेनाले आफूखुसी काम गरे भन्ने कुरा पनि आएका छन् नि ?
– यस्तो होइन । सबै काम हामी समन्वयात्मक ढङ्गले नै गर्छौं । जस्तो कि स्वास्थ्य सेवासम्बन्धी काम छ भने स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, सम्बन्धित स्थानविशेषको कुरा पनि यसमा जोडिएर आउँछ । आफूखुसी गर्ने भन्ने त प्रश्नै आउँदैन, त्यो व्यावहारिक नै हुँदैन नि ।