भ्यागुते रोगले दाङमा सत्र भैँसी मरे

भ्यागुते रोगले दाङमा सत्र भैँसी मरे


दाङमा भैँसीमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगका कारण दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरको खरदरियाका १७ वटा भैँसी मरेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष धनपति यादवका अनुसार भैँसी, पाडापाडी १७ र दुईवटा गाई मरेका छन् । त्यहाँका भैँसीमा ऱ्याल छोड्ने, घाँटी सुन्निने एवं श्वासप्रश्वास बन्द भएर मर्ने गरेको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख अनन्त रेग्मीले बताउनुभयो ।

एक हप्तादेखि भ्यागुते रोगले गर्दा भैँसी मरे पनि किसानले स्वास्थ्य शाखालाई जानकारी नगराउँदा रोग झनै फैलिएको प्रमुख रेग्मीको भनाइ छ । ‘एक हप्ताअघि देखि यो रोगले भैँसीहरु मर्ने गरेका रहेछन्,’ उहाँले भन्नुभयो, ‘तर किसानले रोग लागेको भनी कुनै जानकारी नगराउँदा यसरी धेरै पशुहरु मरे ।’अहिले ११ वटा भैँसीलाई उपचार गराइरहेको समेत उहाँले बताउनुभयो ।

उक्त रोग नियन्त्रण गर्नका लागि प्राविधिक टोलीसमेत खटिएको भन्दै छिट्टै नियन्त्रणमा आउने प्रमुख रेग्मीले बताउनुभयो । उहाँका अनुसार मौसम परिवर्तनसँगै भैँसी तथा गाईमा यस्तो रोग देखापर्छ । ‘प्रायः मौसम परिवर्तनसँगै फागुन, चैत, साउन, भदौतिर पशुहरुमा यस्तो रोग देखिन्छ,’ उहाँले भन्नुभयो ।

यस्तो रोग लागेका पशुलाई अन्य पशुसँग सँगै राख्दा सर्ने भएकाले सङ्क्रमित पशुलाई छुट्टै राख्न किसानलाई सुझाव दिएको पनि बताउनुभयो । प्रायः त्यस क्षेत्रमा बढी भँैसीपालन हुने गरेको र सँगै चराउन लैजाने गर्ने भएकाले यस्तो रोग महामारीका रुपमा फैलिएको प्रमुख रेग्मीले बताउनुभयो । यो रोग ‘ब्याक्टोरिया’ बाट सर्ने भएकाले फैलिन नदिन रोगले सङ्क्रमण नगरेका भैँसीहरुलाई समेत ‘भ्याक्सिन’ लगाउने कार्य भइरहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार अबको एक/दुई दिनमा यो रोग नियन्त्रणमा आउँछ । यसका लागि किसानलाई पनि सङ्क्रमित पशुलाई लसपस नगराउन, भैँसी राख्ने ‘खोर’ सरसफाइ गर्न सुझाव दिने गरेको उहाँको भनाइ छ । ‘सङ्क्रमित पशुहरुलाई अन्य पशुसँग लसपस गराउनु हुँदैन’, उहाँले भन्नुभयो, ‘भैँसी तथा गाई राख्ने ठाउँपनि सुरक्षित हुनुपर्छ ।’

आफूले पालेका भैँसीहरु मर्न थालेपछि किसान भने चिन्तित बनेका छन् । प्रायः भैँसीपालन गर्ने गरेका त्यस क्षेत्रका किसान भैँसी मर्न थालेपछि दैनिकी समेत प्रभावित हुने गरेको छ । आसपासका किसान पनि रोग पशुमा रोग सर्ने त्रासमा छन् ।