नेपाल तेक्वान्दो संघका प्रशिक्षक दिनेश प्रधान र रामकृष्ण श्रेष्ठको नेतृत्वमा ७ सय ५० तेक्वान्दो खेलाडी र सहायक प्रशिक्षक डम्बरकुमार श्रेष्ठ र सोनम महर्जन राष्ट्रिय तेक्वान्दोे संघ नेपालमा प्रवेश गरेका छन् । फागुन ११ गते शनिबार राष्ट्रिय तेक्वान्दो संघको स्वयम्भूस्थित सानोभऱ्याङमा आयोजित प्रवेश तथा स्वागत कार्यक्रममा उनीहरू राष्ट्रिय तेक्वान्दो संघमा औपचारिक रूपमा प्रवेश गरेका हुन् ।

प्रधान र श्रेष्ठको नेतृत्वमा इचंगु तेक्वान्दो डोजाङसहित काव्य तेक्वान्दो डोजाङ, अरनिको स्कुल, मञ्जुगोल्छा स्कुल र काठमाडौं भ्याली स्कुलका ७ सय ५० खेलाडी राष्ट्रिय तेक्वान्दो संघमा प्रवेश गरेका हुन् । नवप्रवेशी प्रशिक्षक तथा खेलाडीलाई राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष शिव कोइराला (ज्वाला), वरिष्ठ उपाध्यक्ष एकनाथ थापा, राखेपका वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा संघका उपाध्यक्ष ध्रुव गुरुङ, महासचिव राजकुमार कार्की, सहसचिव राकेशकुमार राई, सल्लाहकार शेरबहादुर थापामगर र राखेपका कानुनी शाखाका अधिकृत तथा संघका सल्लाहकार नारायणराज अर्यालले टीका र खादा लगाएर स्वागत गरेका थिए ।
सो प्रवेश तथा स्वागत कार्यक्रमसँगै नवप्रवेशी प्रशिक्षकद्वय दिनेश प्रधान र रामकृष्ण श्रेष्ठलाई राष्ट्रिय तेक्वान्दो संघले प्रदेश ३ तदर्थ समितिको सदस्यमा मनोनीत गर्दै नौलो जिम्मेवारी प्रदान गरेको थियो । प्रदेश सदस्यको जिम्मेवारी पाएसँगै दुवै प्रशिक्षकले आफूले पाएको जिम्मेवारी अनुशासित र निष्ठाका साथ निभाउने प्रतिबद्धता जाहेर गरेका थिए । स्मरण रहोस्, दुवै प्रशिक्षक लामो समयदेखि नेपाल तेक्वान्दो संघमा कार्यरत रहेर तेक्वान्दो खेलको विकास र विस्तारमा अहं भूमिका निभाएका थिए ।

प्रशिक्षक र खेलाडीलाई स्वागत गर्दै संघका अध्यक्ष ज्वालाले अहिले खेलकुद जुन गतिले चलेको छ त्यो अब सम्भव छैन भन्दै आगामी दिनमा यो सहकार्यले खेलाडीलाई खेलकुद क्षेत्रबाट स्वावलम्भी बनाउन मद्दत पुग्ने बताए । साथै यतिबेला तेक्वान्दोस्तरमा ह्रास आएको स्मरण गराउँदै त्यसको लागि यो सहकार्य परिपूरक र सफल हुने बताए ।
प्रतिक्रिया