काठमाडौंको सौन्दर्य बढाउन विद्युत् प्रणाली भूमिगत गरिँदै

काठमाडौंको सौन्दर्य बढाउन विद्युत् प्रणाली भूमिगत गरिँदै


विद्युतीय दुर्घटनाको जोखिम न्यून गर्दै, शहरको सौन्दर्य बढाउने लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको प्रसारण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न निर्माण व्यवसायी छनोट गरेको छ ।

ती वितरण केन्द्रअन्तर्गतको विद्युतको तारलाई भूमिगत गर्न सबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केइआइ इन्डस्ट्रिज लिमिटेड छनोट भएको हो । प्राधिकरणले यही फागुन ६ गते बोलपत्रको नतिजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ । कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउनुपर्ने व्यवस्था छ । संसारभर नै

शहरी क्षेत्रमा विद्युत वितरण तथा प्रसारण प्रणाली भूमिगत गरिएको छ ।
जेठदेखि कार्यारम्भ, ३० महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य, पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका तार भूमिगत गरिने, ९० हजार ग्राहकका घरमा स्मार्ट मिटर जडान, करिब पौने सात अर्ब खर्च हुने अनुमान

सहरको आफ्नै सौन्दर्य हुन्छ । जताततै विद्युत र टेलिफोनका तारका कारण शहर कुरूप मात्रै बनेको छैन, दुर्घटनाको जोखिमसमेत उत्तिकै बढाएकाले प्रसारण तथा वितरण प्रणाली भूमिगत गर्न लागेको प्राधिकरणको भनाइ छ । कम्पनीसँग महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको कामका करिब रु. तीन अर्ब ६० करोडमा ठेक्का सम्झौता हुनेछ । कम्पनीले रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम करिब रु तीन अर्ब १२ करोड १५ लाखमा सम्पन्न गर्नेछ ।

मध्य तथा उत्तर काठमाडौं (महाराजगञ्ज)का आयोजना प्रमुख अभिषेक अधिकारीका अनुसार कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुनेछ । ठेक्का सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठदेखि काम गर्ने लक्ष्य तय गरिएको अधिकारीले जानकारी दिए । उनका अनुसार कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नुपर्नेछ । प्राधिकरणले यसअघि अनुमानित लागतभन्दा महँगो दर आएपछि पुरानो ठेक्का रद्द गरी नयाँ प्रक्रिया शुरु गरेको थियो ।

पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरका बालुवाटार, गोंगबु, सामाखुसीलगायतका महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा पर्ने विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।

ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्नेछ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४०० भोल्टका प्रणालीलाई भूमिगत र स्वचालित ‘अटोमेसन’ गरिनेछ । प्रसारण लाइन भूमिगत गरिएसँगै ती वितरण केन्द्रअन्तर्गतका करिब ९० हजार ग्राहकका घरमा स्मार्ट मिटर जडान गरिनेछ । स्मार्ट मिटर जडान भएपछि मिटररिडरसमेत नचाहिने र ग्राहकले के–कति मात्रामा विद्युत प्रयोग गर्ने हो आफैँ निर्धारण गर्न सक्नेछन् ।

वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिछ्याउने र बिजुली वितरणको तथ्यांक राख्न बेग्लै केन्द्र स्थापना हुनेछ । सोही केन्द्रले ग्राहकको सम्पूर्ण गतिविधिबारे जानकारी राख्नेछ । दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा समेत भूमिगत लाइन विस्तार गरिनेछ । यस्तै विद्युत प्रणालीको आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजनासमेत प्राधिकरणको रहेको छ ।

सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइनेछ । यो प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै तारसहितको पाइप हाल्न सकिने प्राधिकरणको भनाइ छ ।

रमेश लम्साल (रासस)