विद्यार्थी अलपत्र पार्नेलाई कारवाही माग

विद्यार्थी अलपत्र पार्नेलाई कारवाही माग


अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई परेको मर्काप्रति आज राष्ट्रियसभाको शून्य समयमा भाग लिने सांसदद्वारा चासो प्रकट गरियो । नेपाली विद्यार्थीलाई परेको समस्या, हरिसिद्धि इँट्टा तथा टायल कारखानाको दुरुपयोगलगायत विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अस्ट्रेलियामा एआइविटीको कलेज खारेजीपछि सयौँको सङ्ख्यामा नेपाली विद्यार्थी अलपत्र परेकाले त्यस्तो कलेजमा पढ्न पठाउन सिफारिश गर्ने परामर्शदातालाई कारवाहीको दायरामा ल्याउन सांसद अनिता देवकोटाले माग गरिन् ।

यस्तै, सांसद उदय शर्माले सरकारले २५ वर्षअघि कौडीको मूल्यमा हरिसिद्धि इँट्टा तथा टायल कारखाना बेचे पनि न सरकारले पैसा पायो, न जनताले इँट्टा नै पाउन सके भन्दै यसबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे ।

खगेन्द्रप्रसाद पुरीले चाहिँ सल्यानलगायत मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रबाट सम्बन्धनका लागि सिफारिश भइआएका कलेजलाई त्रिभुवन विश्वविद्यालयबाट हालसम्म स्वीकृति प्रदान नहुनुको कारण के हो भनी प्रश्न गर्दै छिटो यो विषय टुङ्गोमा पुगोस् भन्ने माग अघि सारे ।

सांसद तारादेवी भट्टले मुलुकको आर्थिक विकासका परिसूचक एवम् विवादित वक्तव्य र निर्माला हत्यामा संलग्न अपराधीलाई पत्ता लगाउन नसक्दा देशको अन्तरर्राष्ट्रिय छवि खस्केको बताइन् ।

pic: rss