प्रविधिलाई चुनौती दिँदै सिँचाइ योजना सम्पन्न– मुक्तिनाथ भुसाल

प्रविधिलाई चुनौती दिँदै सिँचाइ योजना सम्पन्न– मुक्तिनाथ भुसाल


muktiसमाजमा एकता भए असम्भवलाई पनि सम्भव बनाउन सकिने दह्रिलो उदाहरण अर्घाखाँची जिल्लाका सिमलपानीवासीले प्रमाणित गरेका छन् । सन्धिखर्क सदरमुकामदेखि करिब ६० किलोमिटर सडकको यात्रामा पुग्न सकिने सो गाविसको वडा नं. १, मुन्द्रेका बासिन्दाले सीमित बजेट र घरेलु औजारको प्रयोगद्वारा आफ्नो बस्तीमा सिँचाइ–पानी पु-याउन सफल भएका हुन् । गाविसबाट प्राप्त जम्मा रु. ४ लाख र बाँकी स्थानीयकै श्रमदानद्वारा मुन्द्रेवास सिँचाइ योजना सम्पन्न भएको बुझिएको छ । आपसी एकता र अदम्य उत्साहका कारण लामो समयदेखि अन्योलमा रहेको सो योजना सफल बनेको र करिब एक सय पचास रोपनी जमिनलाई सिँचाइ सुविधा पु-याएको खुसियाली मुन्द्रेवास सिँचाइ योजनाका अध्यक्ष लोकनाथ खनाल आफ्ना अभिव्यक्तिमार्फत प्रकट गर्छन् ।
मुख्य बाँधदेखि करिब एक किलोमिटर लम्बाइ रहेको मुन्द्रेवास योजनामा दुई सय मिटरभन्दा बढी दूरी अत्यन्तै जोखिमपूर्ण रहेको छ । माथितिर आँखाले देख्नेजति पहाड र तलतिर उर्लिरहेको खोलाको कोखमा रहेको खतरनाक चट्टान पनि स्थानीयको साहस र जाँगरका सामु सामान्य बन्न पुग्यो । घरेलु औजारको प्रयोगद्वारा सुरुङ खनेर जमिनमा पानी पु-याएको यथार्थ त्यहाँको भौगोलिक बनावट हेर्दा अविश्वसनीय प्रतीत हुन्छ । मुन्द्रेवासीलाई गहिरिएर बुझेका जिल्ला प्राविधिक कार्यालय अर्घाखाँचीका सवइन्जिनियर हरि बोहराका अनुसार असम्भवलाई सम्भव बनाउँदै मुन्द्रेवासीले आधुनिक प्रविधिलाई नै चुनौती दिएका छन् । जिल्लाको विकट गाविसका रूपमा परिचित सिमलपानीका विकास–निर्माणका बजेट र योजना सदरमुकाममा रहेका सरकारी कागजातमा मात्र सम्पन्न हुने गरेका कारण स्थानीयवासीले सास्ती खेप्नुपरेको सन्दर्भ यहाँनेर स्मरण गर्नुपर्ने हुन्छ । मुन्द्रेवास सिँचाइ योजनाको अलावा सोही गाउँआसपासको पावरा सिँचाइ योजनाद्वारा करिब सय घरधुरी र विक्रमसोता सिँचाइ योजनाद्वारा करिब तीन सय घरधुरी स्थानीय कृषकका जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।
दुःखको कुरा के छ भने यसरी निर्माण गरिएका सिँचाइ योजनाहरूको मूल बाँधमा राज्यबाट पटक्कै ध्यान नदिइएको कारण सामान्य वर्षात्मा पनि बाँध भत्काउने गरेको छ । सिमलपानी–१ को वाँणगंगा खोलामा रहेका तीनवटै सिँचाइ बाँधको उपयुक्त व्यवस्थापन गर्ने कार्यमा उपल्लो निकायको ध्यान पुग्न सके कृषि पेसाबाटै सम्बन्धित सबैले सम्पूर्ण पारिवारिक गर्जो टार्न सक्ने स्थानीय वीरबहादुर खाम्चाली बताउँछन् । वाँणगंगा खोला नितान्त चुरे क्षेत्रमा पर्ने कारण राज्य पक्षबाट ढुङ्गा, बालुवा तथा गिटी निकासीका लागि अनुमतिपत्र प्रदान गरिनु विडम्बनाको रूपमा लिन सकिन्छ । सो कार्यले पावरा, हरियाली काउले, वाँणगंगा, बुद्ध, केरेनी सामुदायिक वनलगायतलाई भविष्यमा असर पु-याउने पीडा स्थानीय समाजसेवी भीमबहादुर बुढामगर पोख्दछन् । वाँणगंगाको ढुङ्गा, बालुवा र गिटी निकासीका लागि अड्चन खडा नगरिदिए गाउँमा विकासको मूल फुटाउने आश्वासन दिएका स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले हालका दिनमा पर्केर नहेरेको र निकासी कार्य आफूखुसी भइरहेको पनि बुझिएको छ । सिटामोलका लागि स्वास्थ्यचौकी पुग्न पाँच घन्टा पैदल हिँड्नुपर्ने स्थानीयवासी टेलिफोन सेवाबाट समेत वञ्चित रहेको युवराज दर्लामीको गुनासो छ । अनेक समस्याले ग्रसित सिमलपानी गाविसका साधन–स्रोतको रक्षा र स्थानीयवासीको हितका लागि उपल्लो निकायले बेलैमा ध्यान दिनु आवश्यक देखिएको छ ।