श्रमशील विद्यापीठले चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको फाइनलमा श्रमशीलले टाइमलाइनलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
श्रमशीलका रोशन लिम्बूले २ तथा सुनील कटवालले १ गोल गरे । सुरुको संस्करणदेखि सहभागिता जनाउँदै आएको श्रमशीलले पहिलोपटक उपाधि जित्दै नयाँ च्याम्पियन बनेको हो । दुई संस्करणमा नेक्सस च्याम्पियन बनेको थियो भने बाँकी एकमा वेस्ट ग्रुप भिजन विजेता भएको थियो ।
नकआउट प्रतियोगितामा श्रमशीलले फाइनलसहित ५ खेलमा जित हात पा¥यो । फाइनलअघि श्रमशीलले न्यु होलिक्रस, वेस्ट ग्रुप, करिअर र एकलव्य शिक्षा सदनलाई हराएको थियो । उपाधिसँगै श्रमशीलले २० हजार तथा टाइमलाइनले १५ हजार नगद पुरस्कार हात पारे । तेस्रो स्थानका लागि भएको खेलमा विनायकले एकलव्यलाई १–० गोलले पाखा लगायो । विनायकले १० हजार नगद पुरस्कार पायो । एकलव्यलाई ५ हजार नगद पुरस्कार प्रदान गरियो ।
श्रमशीलका रोशन लिम्बू प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । विनायकका युवराज गोर्खाली उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर ५ गोल गरेका श्रमशीलका प्रकाश बस्नेत सर्वाधिक गोलकर्ता बने । ग्लोबल पब्लिकले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, अर्किडका संस्थापक अध्यक्ष प्रेमकुमार भुजेल, आठौँ राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख इन्द्र कार्कीलगायतले पुरस्कृत गरेका थिए । माघ २९ गतेदेखि शुरु प्रतियोगितामा ४० टिम सहभागी थिए ।
प्रतिक्रिया