कोमलले गाउँदा नाचिन् करिश्मा
अभिनेत्री करिश्मा मानन्धर बाहिरी मात्र होइनन् कि भित्री रूपमा पनि सुन्दर छिन् भन्ने चर्चा त उहिल्यैदेखि चल्दै आएको हो, तर यो व्यवहारतः प्रस्ट भयो यो हप्ता । भूकम्पपीडित जनताको मनस्थिति तन्दुरुस्त तुल्याउन उनले सिन्धुपाल्चोकवासीबीच व्यक्त गरेको अभिव्यक्ति साँच्ची नै ऊर्जाशील लाग्दथ्यो । ‘घर भत्किए पनि हाम्रो मन, सोच र उद्देश्य भत्किएको छैन । सबैभन्दा ठूलो कुरा त जीवनको उद्देश्य अनि मन या सोच भाँचिनुहुन्न । त्यसैले तपाईंहरू नआत्तिनुस्, हामीसँग सिङ्गो जीवनयात्रा अनि समृद्ध सपना साथमै छ ।’ सिनेमाको पर्दामा मात्रै देखिँदै आएकी अभिनेत्री करिश्माले आफ्नै आँगनमा आएर यति मात्र के बोलेकी थिइन् सिन्धुपाल्चोक कर्थली गाविस पोखरेमा रहेको ईश्वरीमाला प्राथमिक विद्यालयमा जम्मा भएका भूकम्पपीडित स्थानीय र विद्यार्थीमा ऊर्जा थपियो । साथमा गायिका कोमल वली र हास्यकलाकार जितु नेपाल आएपछि त भूकम्पबाट आफूहरू पीडित भएको कुरै बिर्सिए उनीहरूले ।
प्रसङ्ग भने विद्यालय निर्माण, जेहेनदार विद्यार्थीका लागि अक्षय कोष खडा, बाल उद्यान उद्घाटन र आर्थिक सहयोगको थियो, तर यससँगै काठमाडौंबाट गएका सेलिब्रेटीहरूसँग उनीहरूले आफूहरूलाई हराए । धन सबैसँग छ, तर धनसँगै मन हुनेहरूको खडेरी परिरहेको अवस्थामा लामो समयदेखि हङकङमा बस्दै आएका निर्मल श्रेष्ठ र सुरज गुरुङको पहलमा हङकङ, मकाउ र चीनमा रहेका नेपालीबाट सङ्कलित करिब चाीलस लाखबराबरको सहयोग उक्त विद्यालयले पाएपछि अब विद्यालयको मुहार नै फेरिने भएको छ ।
कार्यक्रममा गायिका कोमल वलीले त निर्मल र सुरजलाई कर्थलीको छोरोको रूपमा नै परिचय गराइन् भने उनको भनाइमा सभासद् मोहन बस्नेतले सही पनि थपे । उनी भन्दै थिए, ‘मनोरञ्जनका साथै सम्भावनायोग्य, स्वागतयोग्य र उदाहरणीय सहयोगले सिन्धुपाल्चोक धन्य भएको छ । डर र त्रासले भरिएका मनहरू कलाकारहरूको सहभागिताले साँच्चि नै फुरुङ भएको छ ।’
हङकङवासी नेपाली निर्मल श्रेष्ठ र सुरज गुरुङले कर्थलीवासीलाई गरेको उपकार कर्थलीवासीले जीवनपर्यन्त बिर्सन नसक्ने कुरा बताए । हास्यकलाकार जितु नेपालले कार्यक्रम सञ्चालन गर्दा बीचबीचमा उनले दुखेको मनहरूलाई शान्त बनाउन प्रयोग गरेका संवाद र ठट्यौलीले माहौल नै हाँसोले गुञ्जायमान भएको थियो । नवोदिता अभिनेत्री शिल्पा पोखरेलको उपस्थितिले पनि कार्यक्रममा सुनमा सुगन्ध थपेको थियो । कार्यक्रमका दुई नायक निर्मल र सुरजले सहयोग सबैले सबैलाई गर्नुपर्दछ र हामीले पनि ग-यौँ भन्दै आगामी दिनमा हाम्रो सहयोग उदाहरण र अरूले पनि सिक्ने खालको होस् भन्ने चाहन्छौँ भन्ने कुरा बताए । ‘यो सहयोगमा साथ र हात दिने सबै हङकङ, चीन र मकाउका नेपालीलगायत विदेशीलाई साधुवाद छ,’ उनीहरूले भने ।
काठमाडौंबाट सेलिब्रेटीहरू आउने खबरले चर्को घामको पनि पर्वाह नगरीकन बसेका कर्थलीवासीको न्यानो स्वागतले कलाकर्मीको मन नै फुरुङ्ग भएको थियो । ‘यस्तो पीडा र व्यथामा पनि उहाँहरूको माया देख्दा साँच्चै मन रोयो,’ करिश्मा एकछिन् भावुक बनिन् भने उता त्यो माहौललाई पीडा भुल्न आह्वान गर्दै गायिका कोमल वलीको गीतमा स्थानीय मात्र होइन करिश्मा पनि नाचिन् ।
मनकारी निर्माताले गरे सहयोग
सिनेमा निर्माण गर्नुअघि ठूला कुरा गर्ने अनि रिलिज भएपछि लापत्ता भएर कलाकार तथा प्राविधिकहरूलाई दुःख दिने थुपै्र चलचित्र निर्माता छन् यहाँ । तर, यो भीडमा चलचित्रले असफलता हात पारे पनि बोलेको र गर्छु भनेको कुरा जसरी पनि गरिछाड्ने एकजना मनकारी चलचित्र निर्माता हुन्– मोहनकृष्ण श्रेष्ठ । करिब आधा दर्जन चलचित्र बनाइसकेका श्रेष्ठलाई पहिलोपटक अर्का निर्माता भद्रबहादुर शाहीले पनि साथ दिएका छन् ।
सामाजिक संस्थाहरूसँग पनि आबद्ध यी निर्माताले गत साता लायन्स क्लब अफ एभरेष्ट र लाइन्स क्लब अफ एभरेष्ट हाइटसँग मिलेर भूकम्पपीडितलाई सहयोग गरे । आफ्नो चलचित्रमा काम गरेका कलाकार तथा प्राविधिकहरूलाई पनि सकेसम्म र भ्याएसम्म सहयोग गर्ने श्रेष्ठ र शाहीले लायन्स क्लबका डिपिन श्रेष्ठ, किशोर श्रेष्ठको साथमा सिन्धुपाल्चोकको मार्मिक गाविसको वडा नं. १ र २ का भूकम्पपीडितलाई सहयोग गरेका थिए । ‘एउटा नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नु नेपालीको विशेषता नै हो । हामी पनि त्यो विशेषताबाट अलग हुन सकेनौँ,’ चलचित्र निर्माता मोहनकृष्ण श्रेष्ठले भने ।
प्रतिक्रिया