‘उहाँ’जस्ता पात्रबाट देश चल्दैन– मोहन चापागाईं (राजनीतिक विश्लेषक)

‘उहाँ’जस्ता पात्रबाट देश चल्दैन– मोहन चापागाईं (राजनीतिक विश्लेषक)


antarbichar० सुशील कोइरालासँग तपाईंको कुनै बेला गज्जबको दोस्ती थियो, सुशीलजी यत्तिको नालायक व्यक्ति ठहरिनुहोला भन्ने तपाईंलाई पहिले आभास थियो ?
– सुशील कोइरालासँग दोस्तीको सवाल त आयो, तर मैले माक्र्सिज्मविरुद्ध उभिनको निम्ति गिरिजाप्रसाद कोइरालासँगको सहकार्यलाई आधार बनाएको थिएँ । तर, उहाँहरू सत्ताका लागि बीपीकै सिद्धन्तसमेत छोडेर लागिपर्नुभयो । यो मैले पटक–पटक दोहो-याउँदै आएको छु, र सत्य पनि यही नै हो । यसै दौरानमा सुशील कोइरालासँग पनि केही उठबस् या हिँडडुल गरेकै हुँ । यहाँसम्म कि गएको चुनावसम्म पनि उहाँ आफैँले टेलिफोन गरेर ‘नरहरिको चुनाव हेरिदिनुप-यो’ भन्नुभएकै हो । जवाफमा मैले ‘म कम्युनिस्टसँग मिल्न सक्दिनँ, त्यो आइडियोलोजी ठीक नलागेर छोडेर आएको व्यक्ति हुँ, तपाईंहरूलाई त्यस्तो बाध्यता छ होला, मलाई त छैन’ भनिदिएँ । मेरो जवाफ सुनेपछि उहाँले ‘पछि कुरा गरौँला’ भनेर फोन राख्नुभयो, त्यसयता हामीबीच कुनै सम्पर्क छैन । जहाँसम्म उहाँको क्षमताको कुरा हो, पहिलेको र अहिलेको जीवनशैलीमा व्यापक फरकपन आएको देख्छु ।
० खास के फरक देख्नुभयो ?
– उहाँको डिसिजन गर्ने क्षमता नै देखिएन ।
० पहिलेचाहिँ डिसिजन गर्ने क्षमता थियो र ?
– कोठाभित्र बसेर भए पनि एउटा समूहको निर्माण गरी पार्टीलाई संस्थागत गर्ने गफ उहाँ लडाउनुहुन्थ्यो । अहिले हेर्दा पार्टीलाई संस्थागत तुल्याउने त होइन कसरी हुन्छ आफ्नो सत्ता बचाउने धुनमा उहाँ तल्लीन देखिनुहुन्छ ।
० यिनी पदलोलुप होइनन्, त्यागी र इमानदार हुन् भनी चलेको हल्लाचाहिँ गलतै देखियो त ?
– त्यो त सोझै गलत देखियो नि । यहीँनेर यो पनि भनिहालौँ कि नब्बे सालको भुइँचालोमा जुद्धशमशेर प्रधानमन्त्री थिए, अहिले भुइँचालो जाँदा सुशील कोइराला प्रधानमन्त्री छन् । सभ्यताको रेसियो हेर्दा त्यतिबेलाको तुलनामा अहिले कता हो कता माथि हुनुपर्ने, तर उसबेला भूकम्प जाँदा जुद्धशमशेरले राष्ट्रको नाममा जारी गरेको सन्देशजत्तिको स्तरीय र प्रभावशाली अहिलेका सुशील कोइरालाले सन्देश जारी गर्न सकेनन् । जनतालाई के राहत दिन खोजेको, विशेष योजना के छ, केही स्पष्ट छैन । उहाँ त केवल पदका लागि मात्र प्रधानमन्त्री बनेर बालुवाटारमा टाँसिन चाहेजस्तो अनुभूति भइरहेछ ।
० त्यसो भए सुशील कोइराला प्रधानमन्त्री बन्नुअघि जे हुनुहुन्थ्यो, प्रधानमन्त्री बनेपछि उहाँ ‘एक्सपोज’ हुनुभयो भन्न मिल्छ ?
– प्रधानमन्त्री बन्नुअघिको उहाँको कार्यशैलीसँग म भलिभाँती परिचित छु, तर प्रधानमन्त्री भएपछि मैले उहाँसँग भेटघाट गरेको छैन र भेट्ने चाहना राखेको पनि छैन । बीपीले त उहाँलाई एन्टिकम्युनिस्टको रूपमा विकसित गर्नुभएकोले त्यही खालको हुनुहुन्थ्यो, तर अहिले त सुशील कोइराला थामथुमे व्यक्तित्व बनेर देखिनुभएको छ । त्यो खालको जीवनशैली, राजनीतिक क्यारेक्टर या पहिलेको व्यक्तित्व म देखिरहेको छैन उहाँमा ।
० सुशील कोइराला प्रधानमन्त्रीमा मात्रै असफल हुनुभएको हो कि पार्टी–सभापतिका रूपमा पनि, के देख्नुहुन्छ तपाईं ?
– हरपक्षबाट असफल देखिनुहुँदै छ उहाँ । म पार्टीलाई एक इन्स्टिच्युटको रूपमा विकास गरेर लैजान्छु भन्नुहुन्थ्यो, तर अहिलेसम्म पनि कमिटीहरू नै अधुरा छन्, केन्द्रीय कमिटी नै पूरा भएको मैले सुन्न पाएको छैन । यस्तोमा उहाँलाई कसरी सबल र सक्षम सभापति भन्ने ?! नेपालको परिवेशमा मेरो अवधारणा के हो भने जो पार्टी चलाउँछ, जो सरकार चलाउँछ, त्यो व्यक्ति एकप्रकारले डिक्टेटर भएर चलाउने हिम्मतिलो हुनुपर्छ, लैफुङे ताल देखाउने होइन । उहाँको त कुनै नीति पनि भएजस्तो लाग्दैन र कार्यशैली पनि ठीक रहेको देखिएन ।
० यस्तो परिवेशमा काङ्ग्रेसको कमाण्ड समयोचित तवरले सम्हाल्न सक्ने कुनै सम्भावित नेता तपाईंको नजरमा छन् कि छैनन् ?
– काङ्ग्रेसको इतिहास र त्यसको सङ्घर्षको स्वरूपले मात्र अहिलेको परिवेशमा पनि यो जसोतसो चलेको हो । व्यक्ति या व्यक्तित्वको हिसाबले त त्यस्तो आशा गर्न सकिने नेता मेरो नजरमा त अहिलेसम्म कोही परेको छैन ।
० त्यसो भए के काङ्ग्रेस अब यत्तिकै सकिन्छ त ?
– इतिहास छ, तर विकल्प छैन । काङ्ग्रेस यस्तो अभिशापमा परेको छ यतिबेला । विकल्प हुनुप-यो । छिमेकी राष्ट्र भारतको एउटा उदाहरण हेरौँ, हिन्दी र हिन्दुस्तान भन्ने भारतीय जनता पार्टी (भाजपा)को अहिले एकल बहुमतको सरकार बन्यो । कुनै बेला एक सिट ल्याउन पनि हम्मे–हम्मे पर्ने भाजपा अहिले यस्तो बलिष्ट रूपमा देखाप-यो । अपोजिसनसमेत छैन भनेजस्तो अवस्था त्यहाँ छ । यहाँ काङ्ग्रेस समाप्तै भएको त होइन, यसको इतिहास त मासिएको थिएन नि । तर, लिडरसिप या नेतृत्वको कमजोरीले गर्दा बेहाल छ । यस्तै हालत प्रतिपक्षको पनि छ । माक्र्स–लेनिनको नाममा अपोजिसन छ, तर आफू विदेश जानुपर्दा या विदेशी आफ्नो कार्यालयमा आउँदा माक्र्स–माओका तस्बिर निकाल्दै हामी कम्युनिस्ट होइनौँ भन्नुपर्ने दयनीय अवस्था तिनको छ । यसैगरी अन्तिम राजाको पनि कुनै नीति–रणनीति म देखिरहेको छैन । यस्तोमा काङ्ग्रेस मात्रै होइन सबैको हालत नाजुक देखिन्छ ।
० यसको मतलब नेपालको राजनीतिको बाटो एकदम धुमिल र अन्योलग्रस्त छ भन्नुपर्ने भयो, हो ?
– एकदम अन्योलग्रस्त बन्न पुगेको छ नेपालको राजनीति । हाम्रो आफ्नो राजनीति नै छैन भन्दा हुन्छ । विदेशीले खै के–कसरी चलाइदिएका छन्, तिनैका जुठोपुरो खाएर हामी बसेका छौँ । यस्तो नाजुक अवस्था हो यो ।
० यस्तो हालतमा नेपाल धेरै समय बाँच्न सक्ला त ?
– प्रकृतिले त आक्रमण गरिसकेकै छ । नागरिक डराएर बिदेसिँदै छन् । मिल्छ भने जम्मै बिदेसिन बेर छैन भनेजस्तो अवस्था देखिएको छ । सरकारको कुनै आसलाग्दो पोलिसी नै नभएकाले युवाशक्ति बिदेसिन बाध्य छ । छिटफुट देशमा अड्किएकाहरू पनि निराशामा बाँच्न विवश छन् । राज्यको सिस्टम र स्वरूप पनि केही नबुझिने प्रकारको बन्दै छ । सङ्घीय राज्य र सरकारको कुरा जोडतोडले चलाइएको छ । फेडरिज्मको कुरा गर्दा मेरो बुझाइमा अमेरिकाको सङ्घीयता सबभन्दा सफल हो । त्यहाँको इतिहास पढ्दा तेह्रवटा स्टेटले फिलाडेल्फिया सम्मेलन गरी हस्ताक्षर गरेर सङ्घ लागू गर्दा पनि त्यहाँ विद्रोह भयो, सिभिल वार भयो । अनि त्यहाँ जर्ज वासिङ्टन डिक्टेटर बनेर देखापरे । पछि लिङ्कनले पनि दास प्रथा हटाएर परिस्थिति शान्त तुल्याउनुप-यो । अब यहाँको त के कुरा गर्ने र ! लौ, राजतन्त्र हट्यो रे, त्यसपछिको राजनीतिक विकास के त खै ?
० यो मुलुक राम्रोसँग अघि बढ्न के हुनुपर्ला त, कुनै सुझाव छ तपाईंसँग ?
– सबैभन्दा पहिलो कुरा त जनताले मुलुकको परिस्थितिको राम्रो बोध गर्नुप-यो । आफ्नो कर्तव्य बोध गर्नुप-यो । लिडरसिपको विकास जनताबाटै हुने हो । ०३९ सालतिरको एउटा उदाहरण लिऊँ । बाबुराम भट्टराई, जो अहिले ठूलै नेतामा दरिनुभएको छ, उहाँ एउटा सङ्घको अध्यक्ष हुनुहुन्थ्यो इन्डियामा, त्यहाँ आयोजित एक कार्यक्रममा भट्टराईजीको पनि सहभागिता थियो भने म प्रथम वक्ताकै रूपमा थिएँ– माक्र्सवाद होइन नेपालवाद हुनुपर्छ भनेर मैले त्यतिबेलै घोषणा गरिदिएको थिएँ । भट्टराईजीले माक्र्सवादको मच्ची–मच्चीकन वकालत गर्नुभयो । यहाँ मैले अहिले किन उहाँको नाम लिएँ भने, माक्र्सवाद भनेर मच्चिए पनि उहाँको कार्यशैली अलिक फरक रह्यो, कमसेकम काठमाडौंको बाटो विस्तार गर्ने निर्णय त लिनुभयो उहाँले । यहाँ सिद्धान्त फलाकेर मात्र त केही हुनेवाला छैन । ठोस डिसिजन लिएर काम गर्ने–गराउने स्तरका नेतै छैनन् । काम गर्ने पात्र देखिँदैदेखिँदैन । यो विडम्बनाको विषय हो । सुशील कोइरालाजस्ता पात्रको स्थानमा अर्को ल्याउनुपर्ने चर्चा चलेको छ । म पनि उहाँजस्ता पात्रबाट काम चल्दैचल्दैन, छोडेर भागे हुन्छ भन्छु । तर, उहाँपछि को त भन्ने प्रश्न उब्जिएको छ । बदलामा कसलाई ल्याएर के होला र ? भन्ने खालको निराशा कायम छ यहाँ ।
० किन, केपी ओलीले काम गर्न सक्नुहुन्न र ?
– काम गर्न नसक्ने या सक्दिनँ भन्ने त को पो छ र यहाँ, जसले पनि चलाइरहेकै छन् नि चलाउन त । तर, जुद्धशमशेरले जति काम देखाउन सक्ने पनि यहाँ कोही छैनन् । एउटा भुइँचालो जाँदा उचित तवरले परिचालन गर्न पनि नसक्ने सरकार छ । सरकार छैन भन्न पनि नमिल्ने, काम देखायो भन्न पनि नसकिने अवस्था छ नि अहिले त । हुन त केपीजी पनि बेलाबेलामा ठोस पारा देखाउन खोज्नुहुन्छ, ‘म बाँचेसम्म नेपाल टुक्रिन दिन्नँ’ भन्ने प्रतिबद्धता उहाँ जनाउनुहुन्छ । तर, त्यसमा अडान लिएर काम देखाउन उहाँले सक्नुहोला कि नहोला, प्रश्न कायमै छ । किनकि, एमाओवादीको कुरामा बहकिन्न भन्नुहुन्थ्यो, अहिले उहाँ प्रधानमन्त्री र प्रचण्ड राष्ट्रपति बन्ने खालको समीकरण बन्दै छ भन्ने चर्चा चल्न थालेको छ । यो समीकरणमा ओलीजीले कसरी आफ्नो अडान कायम राख्न सक्नुहोला त ? प्राइममिनिस्टर भएपछि उहाँ पनि थामथाम–थुमथुमको राजनीतिमा अल्झिन बाध्य नहुनुहोला भन्ने के ग्यारेन्टी ?
० तपाईंको मतलब संविधानभन्दा पनि देश बनाउने नेता चाहियो भन्ने हो ?
– संविधान नहुँदा पनि मुलुक त चलिहाल्दो रहेछ नि । अहिले केको संविधान छ र ? त्यसैले म त प्रस्टसँग भन्दै आएको छु कि देश बनाउने, जनता बनाउने, नेपाल बनाउने नेता चाहियो, त्यो खालको राजनीति हुनुप-यो । स्पष्ट विचार हुनुप-यो र त्यसमा कायम रहन सक्ने हुनुप-यो ।