■ विनोद नेपाल
जम्मु–कास्मिरको पुलावामामा आफ्ना सुरक्षाकर्मीको समूहमाथि भएको आतङ्कवादी आक्रमणपछि भारत–पाकिस्तानबीचको चिसो सम्बन्धमा झनै चिसोपन आएको थियो । कतिखेर के हुन्छ भन्ने अनुमान गर्न नसकिइरहेको अवस्थामा आफ्ना ४० जना सुरक्षाकर्मीको हत्या गरिएको तेह्रौँ दिन, फेब्रुअरी २६को एकाबिहानै भारतीय सेनाले पाकिस्तान अधीनस्थ बलाकोटमा प्रवेश गरी आतङ्ककारीका शिविरमाथि हवाई आक्रमण गरेको छ । भारतीय वायुसेनाको आक्रमणबाट दुई सयदेखि तीन सयसम्म आतङ्ककारीको समूह मारिएको अनुमान गरिएको छ । भारतीय वायुसेनाले पाकिस्तान अधीनस्थ कास्मिर क्षेत्रमा प्रवेश गरी आतङ्कवादीका आश्रयस्थलका साथै खैबर पख्तुनख्वाको बलाकोटमा जैस–ए–मोहम्मद नामक आतङ्कवादी सङ्गठनको सबैभन्दा ठूलो केन्द्रमा शक्तिशाली बम प्रहार गरेको हो । बलाकोटको आतङ्ककारी क्याम्पको प्रमुख मौलाना युसुफ अजहर उर्फ उस्ताद गौरी थियो जो जैस प्रमुख मसुद अजहरको नातेदार हो ।
सुरक्षासम्बन्धी मन्त्रिमण्डलको बैठकपछि भारतका विदेशसचिव विजय गोखलेले आफूहरूसँग जैस–ए –मोहम्मदले मुलुकका अन्य स्थानमा पनि आत्मघाती आक्रमण गर्ने तयारी भइरहेको र यसका लागि आत्मघाती आक्रमणकारीहरूलाई प्रशिक्षण प्रदान गरिरहेको विश्वसनीय सूचना प्राप्त भएको र यसैलाई रोक्न जैसको बलाकोटस्थित सबैभन्दा ठूलो क्याम्पमा आक्रमण गरिएको जानकारी गराए । यो आतङ्ककारी क्याम्प घना जङ्गलमा एक पहाडमा थियो र यो बस्ती वा आवासीय क्षेत्रभन्दा निकै टाढा छ । उनले भने कि आतङ्ककारी क्याम्पमाथिको आक्रमणमा आमसर्वसाधारणलाई कुनै नोक्सान नपुगोस् भन्ने कुराको विशेष ख्याल राखिएको पनि उनले बताए ।
स्मरणीय छ, १४ फेब्रुअरीमा पुलवामामा जैस–ए–मोहम्मदका आत्मघाती आक्रमणमा सीआरपीएफका ४० जवानको मृत्यु भएको थियो । यस घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो आक्रमण गर्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने घोषणा गरेका थिए । यही पृष्ठभूमिमा भारतले गरेको यो आक्रमणबाट ठूला आतङ्कवादी, प्रशिक्षकहरू, वरिष्ठ कमान्डरहरू र लडाकुहरू मारिएको दाबी भारतको छ । यस आक्रमणमा आमनागरिकहरूलाई कुनै हानि–नोक्सानी नपुगेको पनि भारतको दाबी छ ।
पाकिस्तान विश्वमै आतङ्ककारीको आश्रयस्थलको रूपमा चिनिएको छ । अमेरिकालगायत मुलुकले उसलाई विभिन्न किसिमका प्रतिबन्ध लगाउँदै र आतङ्ककारीको संरक्षण नगर्न चेतावनी दिँदै आएका छन्, तर पाकिस्तानले अटेर गरिरहेको छ । पुलावामा आक्रमणपछि भारतभरि पाकिस्तानप्रति ठूलो आक्रोश थियो । सबैतिरबाट पाकिस्तानलाई पाठ पढाउनुपर्ने माग भएको थियो ।
भारतीय वायुसेनाको १२ मिराज २००० लडाकु विमानले बलाकोट, चकोटी र मुजफ्फरावादमा जैस–ए–मोहम्मदका क्याम्पलाई लक्षित गरी २१ मिनेटसम्म प्रहार गरे जसले ती स्थानका क्याम्प ध्वस्त भएको बताइएको छ । वायुसेनाका सूत्रहरूले यो पूरा अपरेसन भारतीय वायुसेनाको पश्चिमी कमान्डले गराएको बताएका छन् । पाकिस्तानले भारतीय वायुसेनाका विमानले आफ्नो सीमाभित्र प्रवेश गरी बम आक्रमण गरेको थाहा पाएपछि आफ्ना एफ १६ विमानको उडान भरे पनि भारतीय वायुसेनाको विमानको समूह ठूलो भएको थाहा पाएपछि फर्किएको बताइन्छ ।
विदेशसचिव गोखलेले जैस पाकिस्तानमा रहेर विगत २० वर्षदेखि आतङ्ककारी षड्यन्त्र रचिरहेको र भारतमाथि पटकपटक जाइलागेको, तर पाकिस्तानले त्यसमाथि कुनै कारबाही गरिरहेको छैन भन्दै जैसको नेतृत्वकर्ता मसुद अजहर अन्तर्राष्ट्रिय आतङ्कवादी भएको पनि बताए । उनका अनुसार जैस २००१ मा भारतीय संसद्मा आतङ्कवादी आक्रमण र जनवरी २०१६ मा पठानकोट आक्रमणमा पनि संलग्न थियो । पाकिस्तानलाई यस आतङ्ककारी सङ्गठनबारे जानकारी दिइएको थियो । भारतले जैसका विरुद्ध कारबाहीको निरन्तर माग गरिरहे पनि पाकिस्तानले त्यसको बेवास्ता गरिरहेको भन्दै आएको छ । पाकिस्तानको संरक्षण र सहयोगबिना सयौँ लडाकु जन्मन नसक्ने भारतको ठहर छ ।
पुलावामा आक्रमणपछि भारतभरि पाकिस्तानप्रति ठूलो आक्रोश थियो । सबैतिरबाट पाकिस्तानलाई पाठ पढाउनुपर्ने माग भएको थियो । प्रधानमन्त्री मोदीले यस आतङ्कवादी घटनापछि सेनालाई स्वतन्त्र निर्णयको अधिकार दिने बताएका थिए । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले केही दिनपछि आतङ्कवादी आक्रमणमा पाकिस्तान सरकारको संलग्नताको प्रमाण खोजेका थिए, सँगसँगै उनले कुनै पनि आक्रमणको पूर्णक्षमताका साथ जवाफ दिने चेतावनी पनि दिएका थिए ।
यो आक्रमणपछि भारतमा सबैतिर मोदीको वाहवाही भएको छ । पाकिस्तानमाथिको हवाई आक्रमणको समर्थन भइरहेको छ । उता पाकिस्तानमा भने त्यहाँको राजनीति तातेको छ । त्यहाँको विपक्षीले संसद्मै ‘इमरान खान मुर्दावाद’को नारा लगायो । विपक्षले प्रधानमन्त्रीले संसद्मा आएर स्पष्ट पार्नुपर्ने माग राख्यो भने सरकारले आमनागरिकहरू यसबाट प्रभावित नभएको बतायो । त्यहाँका सैन्य प्रवक्ता मेजर जनरल आसिफ गफुरले एकाबिहानै भएको हवाई आक्रमणलगत्तै भारतमाथि सीमा उल्लङ्घनको आरोप लगाउँदै ट्विटरमा वायुसेनाले मुजफ्फरावाद सेक्टरबाट घुसपैठको कोसिस गरेको, तर पाकिस्तानी सेनाले समयमै त्यसको जवाफ दिएको र यसपछि भारतीय विमानहरू बलाकोटतर्फ लागेको कुरा लेखेका थिए ।
पाकिस्तानले आत्मरक्षाका लागि आफ्नो सामरिक रणनीति बनाइरहेको बताएको छ । पाकिस्तानले अन्तर्राष्ट्रिय एजेन्सी र मुस्लिम राष्ट्रहरूलाई आफ्नो पक्षमा ल्याउने रणनीति बनाउन सक्ने सम्भावना पनि छ । नेसनल एसेम्बलीमा यस हवाई आक्रमणलाई लिएर भारतमाथि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न माग गरिएको थियो ।
भारतको आक्रमण आकस्मिक होइन । उसले योजनाबद्ध रूपमा नै आक्रमण गरेको हो जसको अनुमान केही दिन अघिदेखि गरिएको थियो । पाकिस्तान विश्वमै आतङ्ककारीको आश्रयस्थलको रूपमा चिनिएको छ । अमेरिकालगायत मुलुकले उसलाई विभिन्न किसिमका प्रतिबन्ध लगाउँदै र आतङ्ककारीको संरक्षण नगर्न चेतावनी दिँदै आएका छन्, तर पाकिस्तानले अटेर गरिरहेको छ । यस्तो अवस्थामा कहिल्यै सुमधुर नरहेको भारतसँगको उसको सम्बन्ध, सन् २०१६ मा पठानकोट, त्यसपछि उरी हुँदै पुलावामा घटनासम्म आइपुग्दा अत्यन्त बिग्रेको हो । भारतका पछिल्ला व्यवहार तथा नेताहरूका अभिव्यक्तिले यो आक्रमण अवश्यम्भावी थियो यसैले यो आकस्मिक नभई योजनाबद्ध आक्रमण नै हो । लामो असन्तुष्टिपछिको घटना भएकाले यो घटनाले कुन मोड लिने हो अनुमान गर्न भने निकै कठिन छ ।
प्रतिक्रिया