मध्यमर्स्याङ्दी-दमौली-मर्स्याङ्दी प्रसारण लाइन संचालनमा

मध्यमर्स्याङ्दी-दमौली-मर्स्याङ्दी प्रसारण लाइन संचालनमा


मध्यमर्स्याङ्दी–दमौली– मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले २२ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरी सोमबारदेखि संचालन (चार्ज)मा ल्याएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारण लाइन संचालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताए । ‘मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन ओभरलोड हुँदा लमजुङस्थित निजी क्षेत्रका जलविद्युत आयोजनाबाट वर्खामा उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने सम्भावना थियो अब मध्यमस्र्याङदी–दमौली–मस्र्याङदी लाइन संचालनमा आएपछि विद्युत खेर जाने सम्भावनाको अन्त्य भएको छ’ उनले भने । ‘मर्स्याङ्दी–काठमाडौं र मर्स्याङ्दी–भरतपुर प्रसारण लाइनमा फल्ट आउँदा प्राधिकरणका मध्यमर्स्याङ्दी, मर्स्याङ्दी सहित निजी क्षेत्रका आयोजनाको विद्युत प्रवाह गर्न नसक्ने अवस्था थियो, अव यसको पनि अन्त्य भएको छ, अब ती आयोजनाको विद्युत दमौली सबस्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिने भएको छ ।’

निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करिब ६६ मेगावाट विद्युत र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमस्र्याङदी ७० मेगावाट तथा तल्लो मर्स्याङ्दी ६९ मेगावाट गरी २०५ मेगावाट विद्युत् मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन हुँदै काठमाडौं र चितवको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ ।

मध्यमर्स्याङ्दी-दमौली–मर्स्याङ्दी लाइन संचालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युत्लाई पोखरा र भारतपुर तर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताए । उनले दमौली सबस्टेसनबाट दमौली– लेखनाथ र दमौली–भरतपुर प्रसारण लाइनमार्फत क्रमश: पोखरा र दमौली–भरतपुर तर्फ विद्युत् पठाउन सकिने बताए । ‘यही आयोजना अन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२/३३ केभी सब स्टेसन केही दिनमै संचालनमा ल्याउँदैछौ’, उनले भने । ‘मर्स्याङ्दी, दमौली र मध्यमर्स्याङ्दी सबस्टेसनमा बे पनि थपेका छौं, मध्यमर्स्याङ्दीमा थपिएको यसबाट लमजुङको दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिने छ ।’