लमजुङमा अव व्यवसायिक प्याराग्लाईडिङ

लमजुङमा अव व्यवसायिक प्याराग्लाईडिङ


लमजुङमा अव व्यवसायिक प्याराग्लाईडिङ शुरु गर्न लागिएको छ । विभिन्न ठाउँमा गरिएको प्याराग्लाईडिङको सफल परिक्षण पछि फागुनको तेश्रो साता हुने छैटौ लमजुङ महोत्सवबाट व्यवसायिक शुरुवात गर्न लागिएको हो ।

महोत्सव आयोजक लमजुङ उद्योग बाणिज्य सँघले आईतबार पत्रकार सम्मेलन गरी महोत्सवबाट व्यवसायिक प्याराग्लाईडिङ शुरु गर्न लागेको जनाएको हो । १७ फागुनबाट शुरु हुने छैटौँ लमजुङ महोत्सवको अवसरमा बेसीशहरकै मकैडाँडा र पुमा गाउँबाट प्याराग्लाईडिङ हुने लमजुङ उद्योग बाणिज्य सँघका अध्यक्ष राजेश थापाले बताए ।

व्यवसायिक शुरुवातको लागि परिक्षण गरि सकिएको र महोत्सवको पहिलो दिनबाटनै व्यवसायिक शुरुवात गरिने अध्यक्ष थापाले बताए । “जिल्लामा आयोजित महोत्सवबाट जिल्लाको पर्यटन प्रर्वद्धनका लागि विभिन्न विधामा काम भएका छन्” अध्यक्ष थापाले भने “अव प्याराग्लाईडिङको प्रवद्र्धन गरी व्यवसायिकता दिने तयारीमा छौँ ।”

जिल्लामा प्याराग्लाईडिङको सम्भावना राम्रो हुनुको साथै मनोरम दृष्य र सुरक्षित अवतरणको अवस्था निकै राम्रो पाईएको परिक्षण गर्नेहरुले बताएका छन् । बेसीशहर बाहेक जिल्लाको ऐतिहासिक राईनासकोट गौडा लगायतका ठाउँमा पनि प्याराग्लाईडिङको सफल परिक्षण गरिएकोले यसको प्रवद्र्धनका लागि विशेष प्राथमिकतामा राखेको संघले जनाएको छ ।

पछिल्लो समय पोखराबाट प्याराग्लाईड विस्थापित हुने हल्लासँगै नयाँ सम्भाव्यता खोजि भईरहेका बेला लमजुङको सम्भाव्यताले व्यवसायिक प्याराग्लाईड गर्नेहरु पनि उत्साहित भएका छन् । पत्रकार सम्मेलनमा महोत्सवको तयारीबारे बिस्तृत जानकारी गराइएको थियो । महोत्सवमा पर्यटन प्रवद्र्धनसँगै दिर्घकालिन सोचका साथ कृषि, उद्योग र जलविद्युतका लागि लगानीको वातावरण तय गर्न विभिन्न गतीविधी सञ्चालन गर्ने बताइएको छ ।