सत्ता काङ्ग्रेसको क्यान्सर प्रजापरिषद्कै नियति

सत्ता काङ्ग्रेसको क्यान्सर प्रजापरिषद्कै नियति


-राजेश ढुंगाना
नेपाली काङ्ग्रेसका नेताहरूले अघिल्लो हप्ता लगभग एक स्वरमा नेपाली काङ्ग्रेसको लक्ष्य सत्ता होइन, शान्ति र संविधान हो भन्न थालेका थिए । कुन तत्त्वज्ञान भएर हो एकाएक काङ्ग्रेस नेताहरूले त्यसो भने, त्यो गुप्त र महान् रहस्य अहिलेसम्म खुलेको छैन
तर, सत्ता लक्ष्य होइन भन्ने काङ्ग्रेसको जोडदार स्वर एक साता पनि टिक्न सकेन र त्यो महान् तत्त्वज्ञान अल्पायुमै सहिद भएको छ र काङ्ग्रेसले आफ्नो निशाना सीधै सत्तातर्फ सोझ्याएको छ । सभापतिले समेत विदेशबाट फकर्ंदाफकर्ंदै प्रधानमन्त्रीको राजीनामा मागेर यसको शुभारम्भ गर्नुभएको छ । मूल कुरोचाहिँ के हो भने सत्तामा केन्द्रित हुने वा नहुने दुवै कुरा काङ्ग्रेसलेे कुनै नीतिगत सैद्धान्तिक आधारमा गरेको थिएन र छैन । सत्ता काङ्ग्रेसको केन्द्र होइन भन्ने कुरा नीतिगत र सैद्धान्तिक आधारमा आएको भए त्यो टिकाउ हुन्थ्यो । त्यो केवल आन्तरिक कलहलाई रोक्ने प्रयत्न थियो । त्यसैले त्यसले कलह रोक्नुको सट्टा बढाएर लग्यो ।
अहिले आन्तरिक दबाबपछि पुन: सत्तालाई केन्द्र बनाइएको छ । राजनीतिमा सत्ता बहिष्कार गरेरै बस्नुपर्छ भन्ने होइन । तर, यतिबेला सत्तामा जान मरिहत्ते गर्नु र त्यो पनि संसदीय दल पूरै विभाजित गरेर सत्ताका लागि मरिहत्ते गर्नुमा कुन त्यस्तो प्राप्ति हुनेवाला छ जसले काङ्ग्रेसलाई, प्रजातन्त्रलाई र राष्ट्रलाई कुन त्यस्तो दूरगामी उपलब्धि दिनेवाला छ –
काङ्ग्रेसको यतिबेलाको पहिलो प्राथमिकता भनेको आफंैभित्रका अन्तरद्वन्द्वलाई समाप्त पार्नु हो । नत्रभने आगामी निर्वाचनमा अहिले आएकोजति पनि सिट नआउने पक्का छ । तराईकेन्द्रित दलहरूले काङ्ग्रेसको आधार-इलाकामा हिर्काएको चोटको क्षतिपूर्तिका लागि रणनीति नथाल्ने र आन्तरिक कलह यही रूपको रहने हो भने आगामी चुनावले काङ्ग्रेस प्रजापरिषद्मा अनुवाद हुने हेक्का नेतृत्वलाई किन नभएको ? नेतृत्व भन्न्ााले दुवै गुटको ।
सत्ताले काङ्ग्रेसको क्यान्सरयुक्त जीवनमा कुनै अर्थ राख्दैन । केही मान्छेको सम्पन्नतामा निश्चय नै यसको महत्त्व होला । बरु सत्ता सदैव काङ्ग्रेसका लागि क्यान्सर भएको छ । त्यसैले सत्ता लक्ष्य हो वा होइन भन्ने विवादमा नअल्झेर काङ्ग्रेसका दुवै फ्याकले संयुक्त रूपमा सङ्गठन सुदृढीकरण र त्यसका लागि नीतिगत सैद्धान्तिक नयाँ आधारहरू पक्का गरोस् । नभए दुवै गुटलाई इतिहासले सराप्ने छ, त्यो पनि आगामी चुनावपछि नै ।