पाँच महिना लामो अन्योल र अनेक चर्चा–परिचर्चापछि अन्ततः चलचित्र विकास बोर्डले नयाँ अध्यक्ष पाएको छ । पुराना चलचित्रकर्मी राजकुमार राईको नियुक्तिसँगै चलचित्र क्षेत्रमा नयाँ उत्साह पनि थपिएको चलचित्रकर्मीहरू बताउँछन् । चलचित्र निर्माता सङ्घमा अध्यक्षसमेत रहेका नवनियुक्त बोर्डअध्यक्ष राईले आफू अब नितान्त रूपमा नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा लाग्ने प्रतिबद्धता जनाएका छन् । चलचित्र क्षेत्रलाई राम्रैसँग बुझेको दाबी गर्ने राजकुमार राईसँग गरिएको कुराकानीको सार :
० अन्ततः जित तपार्इंकै भयो हो कि ?
– यसमा जित–हारको कुरा छैन । मलाई सरकारले उपयुक्त ठान्यो र नियुक्त गरिएँ । चलचित्र विकास बोर्ड कुनै प्रतियोगिता हुने स्थान होइन, जहाँ जित र हारको कुरा हुन्छ ।
० तर, अध्यक्ष पदमा नियुक्तिका लागि अरूको पनि त नाम आएको थियो नि ?
– त्यो त मलाई थाहा भएन । मैले यस विषयमा कुनै चियोचर्चा गरेर पनि हिँडिनँ ।
० तपाईंलाई बोर्डको अध्यक्ष हुन नदिन निकै चलखेल भएको थियो भनिन्छ त ?
– भयो होला, तर सबै परास्त भए । यहाँ आफू के गर्ने भन्ने भन्दा पनि अरू के गर्दै छ भन्नेतिर ध्यान बढी दिने गरिन्छ । त्यसकारणले पनि हामी हाम्रो कर्म र उद्देश्यमा असफल भइरहेका छौँ ।
० चलचित्र विकास बोर्डमा त्यस्तो के आकर्षण छ र गैरचलचित्रकर्मीहरू पनि यो बोर्डतिर आकर्षित भइरहेका छन् ?
– मैले पनि त्यो कुरा बुझिरहेको छैन । जब कि बोर्डको नीतिमा नै अध्यक्ष चलचिकर्मीबाटै हुनुपर्छ भन्ने छ । तर, यहाँ गैरचलचित्रकर्मीहरू पनि हावी हुन खोजिरहेका छन् । मेरो नियुक्तिले फेरि एकपटक विशुद्ध रूपमा एउटा चलचित्रकर्मीले सम्मान पाएको छ र सरकारले बोर्ड केवल चलचित्र क्षेत्रको विकास र विस्तारका लागि गठन भएको हो र बोर्डमा चलचित्रकर्मी नै हुनुपर्छ भन्ने कुरा सञ्चारमन्त्रीज्यूले पनि प्रमाणित गरिदिनुभएको छ ।
० अब के छ नि तपाईंको योजना… ?
– म पहिलेदेखि नै नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा लाग्दै आएको छु । अब पनि मेरो धर्म यही हो । अब चर्चामा रहेको र चलचित्रकर्मीको पक्षमा रहेको बक्सअफिसलाई अगाडि बढाउँछु ।
० तर फिल्म क्षेत्रमा त बक्सअफिसको विरोध भएको छ नि, होइन र ?
– यो त कुरा नबुझ्नेहरूले विरोध गरेका हुन् । विवादरहित हिसाबकिताब राख्न सकिने र चलचित्रकर्मीहरूको लगानी बच्ने बक्सअफिस यतिबेला आवश्यक छ । फटाहाहरू र अरू लगानीको खान पल्केकाहरूले मात्र यसको विरोध गरेका हुन् । विशुद्ध चलचित्र निर्माताहरू यसको विरुद्धमा छैनन् र जो विरुद्धमा छन् उहाँहरूले पनि बक्सअफिसको महत्व बुझेपछि यसको समर्थन गर्नुहुनेछ ।
० अनि चलचित्र निर्माणतिर तपाईंको योजना ?
– पहिला त म चलचित्र निर्माता नै हो । त्यसैले चलचित्र निर्माणलाई निरन्तरता दिन्छु र चलचित्र निर्माणलाई सरलीकरण बनाउनतिर सबैको राय–सुझावलाई समेटेर अगाडि बढ्नेछु ।
यस्तो रहेछ सरिताको योजना
सबैभन्दा ठूलो कुरा त इच्छा र उद्देश्य नै हो रहेछ । यी कुराप्रति अडिग रहन सक्यो भने आफ्नो उद्देश्यमा मानिस पुग्न सक्छ । यस्तै कुराहरूको गतिलो उदाहरण हुन्– गायिका सरिता कार्की । सरिता लामो समयदेखि गायन क्षेत्रमा सक्रिय रहँदै आएकी छिन् । निकै लामो समय दोहोरी रेस्टुरेन्ट पनि सञ्चालन गरेकी उनी यतिबेला दुबईमा छिन् भने केही दिनका लागि अहिले उनी काठमाडौं आएकी छिन् । यसैबीच उनले काठमाडौं आउनुको कारणबारे यसरी प्रस्ट गरिन्– म धरायसी काम र केही गीत रेकर्डिङका लागि आएकी हुँ । आफूलाई चिनाउने क्षेत्रका लागि केही गरूरुँ भन्ने उद्देश्य छ मेरो ।
विशेष गरेर लोक तथा दोहोरी गायनमा आफूलाई स्थापित गरेकी सरिता अब भने आफ्नो क्षमता र दक्षतालाई फराकिलो पार्ने योजनामा रहेकी छिन् । कस्तो छ त उनको भावी योजना । ‘लोक तथा दोहोरी गायनसँगै अब रिमिक्स र आधुनिक गीत पनि गाउने सोच बनाएकी छु । त्यसको होमवर्कमा लागेकी छु भने अब नयाँ सोचका साथ अगाडि बढ्दै छु,’ उनले भावी योजनाबारे बताइन् ।
अहिले भिडियोको जमाना रहेको कुरा राम्ररी बुझेकी सरिता आफ्नो गीतमा भिडियोलाई पनि महत्व दिने गायिकामा पर्छिन् । त्यसैले उनी अब आफ्ना दुई नयाँ गीतको भिडियो पनि बनाउने योजनामा रहेकी छिन् ।
बाग्लुङ र पर्वतमा भूकम्पसम्बन्धी सांस्कृतिक जनचेतना
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित भूकम्पसम्बन्धी सांस्कृतिक जनचेतना अभियान बाग्लुङ र पर्वतको कुश्मा बजारमा सम्पन्न भएको छ । अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरूभक्त, प्राज्ञ हरिदेवी कोइराला, कलाकारहरू पद्मराज ढकाल, नवराज बराल, खिम गुरुङ, अमन गुरुङ, लक्ष्मी गिरी , पिङ्गला भट्ट, सुनिल बराल, रमेश भण्डारी, रोश्नी गुरुङ, रजनी गुरुङ, सन्तोष सारूमगर, श्रीधर कँडेल, बलराम गिरी, अनिता अधिकारी, बबी सुनार, सुस्मिता चालिसे, ताराबहादुर गुरुङलगायतको सहभागिता रहेको थियो ।
अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान, सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान, प्राचीन, त्रिवेणी सङ्गीतालय, भक्ति सङ्गीत प्रतिष्ठानका उपरोक्त कलाकारहरूले स्वेदश गान, भजन, लोकगीत, लोकनृत्य र भूकम्पसँग सम्बन्धित चेतनामूलक गीतहरू प्रस्तुत गरेका थिए । बाग्लुङको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल, बाग्लुङ नगरपालिकाका प्रमुख जगन्नाथ लामिछाने, साहित्यकार काजी रोशन र प्रेम छोटा अनि पर्वतको कार्यक्रममा नगरपालिकाका प्रमुख चण्डिकाप्रसाद पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक महेन्द्र खत्री, साहित्यकार इन्द्रकुमार विकल्प, पर्वत मिलन क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठ, -याण्डम रिडर्स सोसाइटी पर्वतका सचिव शङ्कर गिरीको आतिथ्यता रहेको थियो । दुवै कार्यक्रमहरूमा उल्लेखनीय जनसमुदायको उपस्थिति थियो ।
प्रतिक्रिया