–छविलाल बगाले
निजी क्षेत्रले पनि जनताको विश्वास जितेर जलविद्युत आयोजना निर्माण थालेका छन् । सरकारी आयोजनाको लागत प्रति मेगावाट ५२ करोडसम्म पुग्दा लमजुङमा निर्माणाधिन ५४ मेगावाटको सुपर दोर्दी–ख ले भने १६ करोड ३० लाखमै आयोजना निर्माण गर्नु सह्रानिय छ । तर सरकारले निजी आयोजनालाई हेर्ने दृष्टिकोण भने फेरिएको छैन् ।
२०७५ देखि ०८५ सम्मको अवधिलाई सरकारले उर्जा दशकको रुपमा लिएको छ । यो अवधिमा सरकारले १५ हजार मेगावाटको लक्ष्य बोकिरहँदा निजी क्षेत्रले पनि यसलाई साथ दिन थालेका छन् । यही सरकारी लक्ष्यलाई साथ दिन लमजुङको विकट क्षेत्र ताँजेमा ५४ मेगावाट क्षमताको सुपर दोर्दी–ख जलविद्युत आयोजना निर्माणाधिन छ ।

प्रतिमेगावाट १६ करोड ३० लाखमै विद्युत
प्रतिमेगावाट १६ करोड ३० लाखको लागतमा निर्माण अघि बढेको यो आयोजनामा बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम एकसाथ अघि बढेको छ । स्वदेशी लगानीमै बन्न लागेको यो आयोजना पिपुल्स हाइड्रोपावर कम्पनीद्धारा प्रवद्र्धित छ । कुल ३० प्रतिशत काम सकिएको आयोजनामा ५० प्रतिशत सुरुङ निर्माण सम्पन्न भएको प्रवद्र्धक कम्पनीको दावी छ । आगामी २ बर्षभित्रै विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ आयोजनामा ६ ठाउँबाट सुरुङ खन्ने काम शुरु गरिएको आयोजनाका निर्देशक अर्जुन गौतमको भनाई छ । उनका अनुसार सबै संरचना भूमिगत भएको नेपालकै पहिलो जलविद्युत आयोजना हो । अहिले आयोजनामा मूख्य र अडिट सुरुङ गरि नौ हजार एक सय ४० मिटर सुरुङमध्ये पाँच हजार मिटर भन्दा बढी सुरुङ खनिसकेको छ । विद्युत गृह निर्माण गर्ने ठाउँसम्मको सुरुङ खनिसकिएकोले अव विद्युत गृह निर्माणको काम सुरु हुने गौतमको भनाई छ ।

आयोजना गाउँ विकासको संवाहक
भूकम्पबाट जोगिनका लागि आयोजनाले विद्युत गृह, डिसेन्डर लगायतका संरचना भुमिगत रहने गरी निर्माण शुरु गरेको छ । दोर्दी गाउँपालिका वडा नं ६ को ताँजे गाउँ नजिकै बाँध बाँधेर ५ हजार १ सय मिटर लामो भुमिगत सुरुङमार्फत ल्याइएको पानीलाई लोदो र दोर्दी खोलाको दोभानमा खसालिनेछ । प्रभावित क्षेत्रमा आयोजनाले ५० करोडको लागतमा सडक, विद्युतीय लाइन र अन्य पूर्बाधार निर्माणको काम गरेको छ । यस्तै आयोजनाले प्रभावित क्षेत्रको विकासका लागि साढे ५ करोड बजेट विनियोजन गरेको छ । जलविद्युत आयोजना निर्माणसँगै गाउँको विकासमा आयोजनाले जोड दिएपछि स्थानीय पनि खुशी छन् । स्थानीय बाइबर घलेका अनुसार आयोजना निर्माणको सुरुवातीसँगै गाउँमा विकासको लहर आएको छ । ‘विकट गाउँ भएपनि आयोजनाले गाउँसम्म मोटरबाटो ल्याइदिएको छ ।’ उनले भने, ‘गाउँबाट मोटरमा चढेर सिधै सदरमुकाम लगायत अन्य शहरमा जान आउन सजिलो भएको छ ।’

प्रसारण लाइन निर्माणको आशमा प्रवद्र्धक कम्पनी
२०७७ असार मसान्तभित्रै विद्युत उत्पादन थाल्ने आयोजनाको लक्ष्य भएपनि प्राधिकरणले निर्माण गर्नुपर्ने प्रसारण लाइन भने अन्योलमै छ । अहिले प्राधिकरणले दोर्दी करिडोरको किर्तिपुर शवस्टेशन र किर्तिपुर–उदिपुर १३२ केभी प्रसारण लाइन निर्माण अघि बढाएपनि उदिपुर–मार्किचोक २२० केभी प्रसारण लाइनको अन्योल भने कायमै रहेको प्रवद्र्धक कम्पनी पिपुल्सका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले जानकारी दिए । ‘आयोजनाको विद्युत उत्पादन हुनु अगावै प्रसारण लाइन निर्माण नभए आयोजनाको विद्युत खेर जानेछ ।’ उनले भने, ‘प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण गर्ने आशमा छौं ।’ भूमिगत संरचनाको हिसाबले माथिल्लो तामाकोशी जलविद्युत आयोजना सरहनै रहेको सुपरदोर्दीमा डिसेन्डर पनि भूमिगत नै रहेकोले पूर्ण भूमिगत आयोजना भन्ने गरेको उनले बताए । माथिल्लो तामाकोशीमा विद्युत गृह भूमिगत भएपनि डिसेन्डर भने बाहिर रहेको छ । सुपरदोर्दीमा भने सुरुङ मार्गबाट पानी हालेपछि विद्युत उत्पादन गरेर सुरुङमार्गबाटै नदीमा खसालिनेछ । अहिले आयोजनामा ४ सय बढि कामदार कार्यरत छन् ।

आयोजनामा स्थानीयको १० प्रतिशतसहित ७० प्रतिशत संस्थापक शेयर
८ अर्ब ८० करोडको लागतमा निर्माणाधिन यस आयोजनामा स्थानीयको १० प्रतिशतसहित ७० प्रतिशत संस्थापक शेयर र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । सानिमा बैंकको नेतृत्वमा ७ बैंकले आयोजनामा ऋण लगानी गरेका छन् । अन्य आयोजनाको तुलनामा छिटो प्रतिफल दिने आयोजनाको रुपमा स्थानीयले लिएका छन् । लमजुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष एवं आयोजनाका लगानीकर्ता रामकुमार श्रेष्ठले लगानीको हिसावले सुपरदोर्दी–ख सुरक्षित रहेको बताए । आयोजनाको ग्रस हेडदेखि अन्य संरचना राम्रो भएकोले प्रतिफल पनि राम्रै हुने बताउँछन् ।
प्रतिक्रिया