तपाईं किन हिन्दूराष्ट्र भन्नुहुन्छ ?

तपाईं किन हिन्दूराष्ट्र भन्नुहुन्छ ?


  • केशवप्रसाद भट्टराई

पहिला त म सनातनी हिन्दूहरूले धर्म भनेर जेलाई बुझ्दछन् त्यो RELIGION होइन ।
RELIGION ले धर्मको अर्थ बोक्न सक्दैन ।

हिन्दूधर्ममा ईश्वर माने पनि नमाने पनि हुन्छ !
एक ईश्वर माने पनि हुन्छ बहुईश्वर माने पनि हुन्छ !
आकारमा ईश्वर बुझे पनि हुन्छ र निराकारमा बुझे पनि हुन्छ !
कुनै ईश्वर नमाने पनि हुन्छ, आफ्नो कर्म वा कर्तव्यमा च्यूत नभए पनि हिन्दूधर्ममा ईश्वर प्राप्ति हुन्छ !
रूख पनि ईश्वर, पहाड, शिला, नदी, तलाउ पनि ईश्वर !
चन्द्र पनि इश्वर सूर्य पनि ईश्वर !
जे माने पनि हुने !
जसलाई माने पनि हुने !
सारा प्राणीमा ईश्वर देख्ने धर्मप्रति पनि विरोध ???
रावण पनि हिन्दू राम पनि हिन्दू !
नास्तिक चार्वाक पनि हिन्दू, धर्मगुरू वृहस्पति पनि हिन्दू !

हिन्दूधर्म भनेको सभ्यता हो, संस्कृति हो, सामाजिक, आर्थिक र राजनीतिक मूल्य प्रणाली हो !
समाज सञ्चालनको विधि र कर्म सिद्धान्त हो !
सामूहिक विश्वास प्रणाली हो ।
त्यही हिन्दूधर्मले बाँधेको भएर माओवादी विद्रोहताका मुलुक राज्यविहीन थियो तर पनि राष्ट्र बाँचिरह्यो अनि त्यही राष्ट्रले राज्यमा फेरि प्राण भर्न सक्यो !

अर्को कुरा, संस्कृतिको स्रोत धर्म हो !
सामाजिक, राजनीतिक र नैतिक आचार र मूल्यहरूको स्रोत पनि धर्म नै हो ।
धर्मविहीन राज्य मूल्य र संस्कृतिविहीन राज्य हो ।

अहिलेको जस्तो मूल्य, संस्कृति र संस्कारविहीन राज्य बाँच्न सक्दैन !
जब राज्य किन चाहिन्छ भन्ने प्रश्नको उत्तर जनतासँग हुँदैन तब राज्य बाँचेको हुन्न !
तपाईंलाई स्वीकार गर्न गाह्रो होला, तर आफ्नो आन्तरिक ऊर्जाले भन्दा उत्तर र दक्षिणबीच शक्ति सन्तुलनको वर्तमान अवस्थाले राज्यको रूपमा हामी बाँचेका छौँ। तर राष्ट्रको रूपमा हामी छैनौँ !

त्यसैले राष्ट्रसहितको राज्यको लागि म हिन्दूराष्ट्रको पक्षमा !
किनकि राष्ट्रको रूपमा बाँच्न सकिएन, आन्तरिक ऊर्जाको बलमा बाँच्न सकिएन र सीमापारिको रणनीतिक शक्ति सन्तुलनको बलमा बाँचेको राज्यले उन्नति, प्रगति, विकास र समृद्धि आर्जन गर्न सक्दै सक्दैन !
आन्तरिक एकता, शान्ति र स्थिरता दिनै सक्दैन !
आफ्नो शान्ति र स्थिरताको लागि नेपालमा जति शान्ति र स्थिरता हाम्रा छिमेकीहरूलाई आवश्यक हुन्छ त्यति मात्रै शान्ति र स्थिरता हामीले पाउँछौँ !
त्यसैले छिमेकमा बिहारले त्यत्रो प्रगति गर्दा हामी ???
उता तिब्बत कहाँबाट कहाँ पुगिसक्दा हामी ?

हो राजाहरूले दिएको राष्ट्र पूर्ण थिएन !
हामीले राजाबाट खोसेको त्यो अपूर्ण राष्ट्रलाई पूर्ण बनाउनु त कता हो कता राष्ट्रलाई नै मासिदियौँ !
नेपाल राष्ट्रबेगरको नेपाल राज्य अहिले तपाईं हामीले भोगेको राज्य हो !

त्यसैले हिन्दूराष्ट्र भनेर मैले नेपाल राष्ट्र मागेको हो !
अरू कुनै कुराको लागि होइन, नेपाल राष्ट्र र नेपाल राज्यको सुरक्षा र जीवनको लागि मैले हिन्दूराष्ट्र मागेको !
नेपाल राष्ट्र र नेपाल राज्य !