हेटौँडामा नौ अर्ब रुपैयाँको लागतमा आधुनिक प्रविधियुक्त ऋद्धिसिद्धि सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करिब ४२ बिघा क्षेत्रफलमा तीनजनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो ।
सिमेन्टको लागि चाहिने क्लिंकरलगायतका कच्चा पदार्थसमेत आफैँ उत्पादन गरी गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको सो उद्योगले हाल क्लिंकरलगायतका कच्चा पदार्थ खरिद गरी ओपीसी सिमेन्ट उत्पादन गरी बिक्री–वितरण शुरु गरेको उद्योगका महाप्रबन्धक गणेशकुमार सिंहले बताए ।
ठूलो लगानीमा सञ्चालन भएको सो उद्योगमा उद्योगको उत्पादन बढाउन भीमफेदी गाउँपालिकाबाट चुनढुंगा उत्खनन शुरु गरेको बताइएको छ । हेटौँडामा हाल यो उद्योगलगायत तीनवटा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग र निजी क्षेत्रबाट सञ्चालित शिवम् सिमेन्ट उद्योगको उत्पादन बिक्री–वितरणमा रहेका छन् ।
हेटौँडा सिमेन्टले दैनिक ७५० टन सिमेन्ट उत्पादन गरिरहेको छ भने शिवम् सिमेन्ट आफ्नो उत्पादनको बिक्री वितरणमा लागेको बताएको छ । हाल सिमेन्ट उद्योगबीच प्रतिस्पर्धा बढेको छ ।
प्रतिक्रिया