सरकारी कुकुर संरक्षण

सरकारी कुकुर संरक्षण


  • चट्याङ मास्टर

कुकुर सङ्ख्या भयो धेर, घटाउनु नै परे पनि ।
दिनु सरकारलाई जिम्मा, संरक्षण गर लौ भनी ।।
हराउनेछन् कुकुर सारा, खोज्दा नपाइने गरी ।
संरक्षणमा बसी गैँडा, मृग लोप भएसरि ।।

कुकुर मन्त्रालय खोल्थे, कुकुर मन्त्री हुने थियो ।
कुकुर विभाग, भुकाइ शाखा, देखी कुकुर रुने थियो ।।
कुकुर दिवस मनाइन्थ्यो, ऱ्याली, गोष्ठी अनेक गरी ।
मोटर गुड्थे, नियम बन्थे, संसदै थर्कने गरी ।।
बजेट बन्थ्यो दानाको सिक्री र हाड औषधि ।
वर्कसप र योजना साथै कर्मचारी कति–कति ।।
विदेशी ऋण मागिन्थ्यो, कुकुरकै नाममा पनि ।
आयोग दुई–चार नयाँ हुन्थे भ्रष्टाचार भयो भनी ।।
सरकारी क्षेत्रबाहिर, कुकुर एक भेटिए पनि ।
पाल्नेले चैँ कुटाइ खान्थ्यो, ‘लौ त घुस तँ नदे’ भनी ।।
राष्ट्रिय अन्तर्राष्ट्रिय एनजीओ पनि लाग्नेथे ।
कुकुरको बखान भाषण, सुनेर कान पाक्नेथे ।
कुकुर दुब्लाउँदै जान्थे, हाकिम आउँथे मोटाउँदै ।
गाउँ डुल्थे विशेषज्ञ, चेतना खुब जगाउँदै ।।
यस्तै सरकारी संरक्षण पाँच वर्ष चल्यो भने ।
डाँको छोडी रुनुपर्ला, कुकुर एक मऱ्यो भने ।।

कस्तुरी, मृग, गैँडा व्यक्तिले पाल्न पाउँछ ?
खसी, भेडा, बिरालो र गाई कैले हराउँछ ?
मूल्यवान् पशु दुर्लभ व्यक्तिले पाल्ने हो भने !
कुकुरजस्तै सुलभ हुन्थे, सरकारी फाल्ने हो भने !!