पासपोर्ट बनाउँदै हुनुहुन्छ ?

पासपोर्ट बनाउँदै हुनुहुन्छ ?


पासपोर्टका बारेमा विभिन्न समाचार आइरहेका बेला पासपोर्ट नवीकरण गर्न गत असार ३० गते मङ्गलबार म त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेकी थिएँ । सुरुमा त पासपार्ट दिइरहेको छ कि छैन ? के छ अवस्था भनेर पत्रकार भाइ परशुराम काफ्लेलाई असार २४ गते साँझ फोन गरेर सोधेकी थिएँ । उनी परराष्ट्र बीट हेर्ने पत्रकार भएकाले आफ्नो बीटसँग सम्बन्धित कुरामा प्रायः अपडेट रहन्छन् । ‘सिस्टम अपडेट गर्ने भनेर भोलि बिहीबार र शुक्रबार दुई दिन पासपार्ट नदिने भनेको छ दिदी, सोमबारदेखि नियमित होला, त्यसबीचमा फर्म भर्नु न, सजिलो हुन्छ’, उनले भने ।

राहदानी विभागको वेबसाइटमा जाँदा नयाँ प्रणालीबाट राहदानी सेवा सञ्चालन गर्ने तयारीका लागि दुई दिन सेवा बन्द गरिएको जानकारी राखिएको रहेछ । फर्म भर्न खोज्दा अघि बढेन । धेरैबेर कोशिस गर्दा पनि नभएपछि विभागअगाडि रहेका फर्म भर्न सहजीकरण गर्नेहरूसँग गएर भर्नु पऱ्यो भनेर २४ गते बिहीबार त्यहाँ पुगेँ । उनीहरूले डकुमेन्टहरू फोटोकपी गरेर राखे, सिस्टम खुलेपछि खबर गर्ने बताए ।

दुःखद संयोग नै भनौँ, जुन दिन र समयमा म फर्म भर्नका लागि डकुमेन्टको फोटोकपीहरू दिइरहेकी थिएँ, त्यही समयमा गणेश नेपाली र महानगरकी महिला प्रहरीबीच भनाभन भइरहेको थियो । त्यसदिन राहदानीको काम नभएकाले विभागअगाडि मानिसहरूको भीड थिएन । केही समयपछि त्यति दुःखद घटना हुनसक्छ भनेर अन्दाज गरिनँ, तर ती र अन्य नगरप्रहरीलाई महानगरले मानिसहरूसँग कस्तो ब्यवहार गर्ने भनेर सिकाउनु पर्ने भन्नेचाहिँ लागेको थियो । उनको स्वर पर–परसम्म चर्को सुनिएको थियो ।

असार ३० गते मंगलबारदेखि पासपार्ट नवीकरणको अफिसियल प्रक्रिया सुरु भयो । यो झ्यालबाट त्यो झ्याल त्यो कोठाबाट त्यो कोठा, डकुमेन्ट भेरिफिकेसन, फोटो, बायोम्याट्रिक सकेर आएपछि भोलिपल्ट बुधबार ‘योर एप्लीकेसन ह्याजबीन डिसअप्रुभ्ड, प्लीज फिल द प्लेस अफ बर्थ’ भनेर मोबाइलमा एसएमएस आयो । म छक्क परेँ, जन्मस्थान खोटाङ भनेर फर्ममा त भरेको छ, कसरी त्यस्तो भयो ? पासपोर्ट अफिस गएर बुझ्दा थाहा भयो, सिस्टममा समस्या भएर कसैको के कसैको के छुटिरहेको रहेछ । फेरि सुरुदेखिको प्रक्रिया दोहोऱ्याउनु पऱ्यो । त्यसदिन करारमा रहेका कर्मचारीको आन्दोलन रहेछ, परिस्थिति त्यति सहज थिएन, गरियो । शुक्रबार बिहान पासपोर्ट तयार भयो लिनु आउनु भन्ने म्यासेज आयो । पासपोर्ट हातमा परेपछि थाहा भयो, नयाँ पासपोर्टमा पुरानो पासपोर्टको नम्बर छुटेछ । यसले त विगतमा लिएको पासपोर्टहरूको निरन्तरता टुटाउँछ । कसरी त्यस्तो भयो ? जवाफ आयो, सिस्टममा समस्या भइरहेको छ, अरु पनि कतिपयको यस्तै भइरहेको छ । ‘अब के गर्ने ?, उपाय के हो ?’ फेरि नयाँ प्रक्रियाबाट जानुपर्छ । सबैभन्दा पहिला त अब नयाँ पासपोर्ट रद्द गर्नु पऱ्यो अनि फेरि नयाँ प्रक्रिया सुरु गर्नु पऱ्योे । उपाय छैन, गर्नै पऱ्यो । बायोम्याट्रिक्स र फोटोवाला प्रक्रियामा केही समस्या आएकाले शुक्रबार गर्न पाइएन ।

शनिबार र आइतबार छुट्टी भइहाल्यो । सोमबार बिहानदेखि फेरि नयाँ प्रक्रिया सुरु भयो । फोटो, बायोम्याट्रिक्स, यो कोठा, त्यो कोठा… करिब-करिब पूरै दिन गयो, जाने नै भयो । सोमबार थप काम के गर्नु पऱ्यो भने पहिला राजश्व तिर्दा असार थियो, त्यसदिन श्रावण ४ गते भइसकेको थियो । आर्थिक वर्ष नै फेरिएकाले पहिला तिरेको राजश्व रद्द गरेर नयाँमा ढाल्नु पऱ्यो । छुट्टै पैसा तिर्नु परेन तर समय यस्तो पऱ्यो कि त्यहाँ तिरेको पैसा भन्दा ब्यवसायिकरूपमा आफूले निकै मूल्य चुकाउनु पऱ्यो । सोही साँझ पासपोर्ट तयार भयो भनेर मोबाइलमा एसएमएस आयो । श्रावण ५ गते मंगलबार बिहान साढे दश बजे पासपोर्ट अफिस पुगेँ । पटक-पटक जाँदा कहिल्यै देखभेट नभएका कर्मचारीहरूले पनि चिन्ने भइसकेका थिए । आफूजस्तै भुक्तभोगीहरू पनि फेरि भेटिए । अचम्म त के भने फेरि पनि अघिल्लो पासपोर्टमा जे समस्या आएको थियो त्यही देखियो । आफूले आफैलाई हेर्दा अबचाहिँ अलि धैर्य पनि कम भए जस्तो, थाके-थाके जस्तो लाग्यो । तर त्यहाँ म मात्रै नभएर त्यस्तो समस्या भोग्नेहरूको सङ्ख्या ठुलै थियो ।

मंगलबार पनि फेरि उही प्रक्रिया सुरु भयो । बायो म्याट्रिक्स, फोटो, डिजिटल हस्ताक्षर हस्ताक्षर… सुरुको दिनमा फोटो खिच्दा टीका निकाल्नुस्, कानमा लाएको खोल्नुस् भन्नु परेको थियो । दोश्रोपल्टदेखि केही भन्नु परेन, क्यामेराअगाडि बसेपछि निधारमा लाएको टीका, कानको गहना क्यामेराअघि बस्नुअघि नै खोलियो । पहिलो, दोश्रो, तेश्रो पल्टसम्मको फोटो अलि-अलि हँसिलो नै थियो, चौथोपटकको चाहिँ अलि गमक्क परेको आएछ । पटक-पटकको आवतजावत, कति दिनदेखि छुटेका कामहरू, ब्यक्त नगरेपनि मुहारमा झल्किने रहेछ । बुधबार केही खबर आएन, अब जहिले आउँछ-आउँछ, फलोअप पनि गरिनँ । अन्ततः प्रक्रिया सुरु गरेको १० दिनपछि श्रावण ७ गते बिहीबार नवीकरण भएको नयाँ पासपोर्ट पाएँ ।

यो सबै प्रक्रिया र चरणमा मलाई लागेको कुरा के हो भने फोटो, बायोम्याट्रिक्स त सेभ गरेर पासपोर्ट नपाउन्जेलसम्म राख्ने ब्यवस्था गर्न पाए पटक-पटक एउटै काम गर्नुपर्ने थिएन । कर्मचारीहरू पनि कामको बोझले थिचिएको देखेँ । जतिबेला पनि काममै खटिएका, दिनभरी बस्दा पासपोर्टमा काम गर्ने कर्मचारीले चिया-खाजा खाएको पनि देखिनँ । जुन राम्रो कुराचाहिँ होइन, कामसँगै समय-समयमा ब्रेक जरुरी हुन्छ । सेवाग्राही सबैलाई हतार छ, हुन पनि जरुरी नभइ दोब्बर दस्तुर तिरेर त्यहाँ कोही पनि जाँदैन । सेवाग्राहीले कर्मचारीलाई के हो यस्तो तपाईंहरूको ताल ? भनेर ठुलो स्वरले बोल्दा पनि कर्मचारीको आवाज भने सानो र मधुर नै सुनियो । मेसिनले गरेको गल्तीको गाली कर्मचारीले खाइरहेका थिए । मैले देखेको त्रुटीचाहिँ के हो भने यदि नयाँ प्रणालीमा जाँदा थप समय लाग्ने थियो भने दुई दिनको साटो पाँच दिन लगाएर गरेको भए हुन्थ्यो । हतारमा सुरु गर्दा सेवाग्राहीले दुःख त पाए नै, कर्मचारीलाई पनि कामको बोझ बढ्यो । नियमित कामसँगै एक हप्ताअघिकै काम दोहोरिँदा काम बढ्नै नै भयो । यता पासपोर्टको कपी पनि चित्तदुख्दो गरी नाश भए । जनताले तिरेको करबाट बनेको राहदानीको कपी त्यसरी नाश हुँदा स्वभाविकै रूपले नराम्रो लाग्ने नै भयो ।

के यस्तो समस्या सबैमा आएको छ ? कर्मचारीका अनुसार, सबैमा होइन तर समस्या भइरहेको छ । एक जनाको पाँच पटकसम्म रद्द गर्नु परेको मैले आँखाअगाडि देखेँ । चाँडै यात्रा गर्नुपर्ने भएकाले उनी यति ‘स्ट्रेस्ड’ थिए कि बोकी रहेको नागरिकता कति नम्बरको कोठामा छोडेँ उनलाई थाहा थिएन । भनिरहेका थिए, धाउँदा-धाउँदा, पासपोर्ट समयमा नबन्ने हो कि भनेर मेरो माइण्डले काम नै गर्न छोडेजस्तो भइसक्यो । हिजोआज पासपोर्ट अफिस मानिसहरूको भीडले भरिएको छ । विभागको वेवसाइटमा राखिएको प्रेस विज्ञप्तिमा नयाँ प्रणालीको स्थिरीकरणको अवधि ३ महिनासम्म रहने र प्रारम्भिक चरणमा केही त्रुटीहरू हुनसक्ने भनिएको छ । अति आवश्यक हुने र प्रक्रिया सुरु गरिसकेकाले त बनाउनै पऱ्यो । यदि अलि पछि बनाउँदा पनि हुनेहरूका लागि भने अहिले पासपोर्ट नबनाउन सल्लाह दिन्छु । विभागलाई सुझाव, समस्या आएपछि सेवाग्राहीले पटक–पटक फोटो खिच्ने, बायोम्याट्रिक गर्ने कामबाट मुक्ति पाउन सम्बन्धित ब्यक्तिको पासपोर्ट हात नपरुन्जेल ‘सेभ’ गर्ने ब्यवस्था गर्न सकन्छि कि ?