युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदमुक्त गरेपछि सुरु भएको राजनीतिक र सार्वजनिक असन्तुष्टिले युक्रेनी सेनाको शीर्ष नेतृत्वमै व्यापक फेरबदल गराएको छ । केही दिनको विरोध प्रदर्शनपछि सेनाका कमान्डर-इन-चिफ ओलेक्सान्डर सिर्स्की पनि पदबाट हटाइएका छन् भने उनको स्थानमा युद्धमैदानमा अनुभवी कमान्डर मिखाइलो द्रापाती नियुक्त भएका छन् ।
फेडोरोभको बर्खास्तीपछि सुरु भएको प्रदर्शन सुरुमा उहाँको पुनर्बहालीको मागमा केन्द्रित भए पनि पछि सिर्स्कीको नेतृत्वविरुद्ध केन्द्रित भएको थियो । प्रदर्शनकारीहरूले सिर्स्कीलाई हटाएर सेनामा व्यापक सुधार अघि बढाउन माग गरेका थिए । फेडोरोभ र सिर्स्कीबीच सैन्य रणनीति र सुधारका विषयमा लामो समयदेखि मतभेद रहेको बताइएको छ ।
राष्ट्रपति जेलेन्स्कीका लागि यो पछिल्लो एक वर्षभित्र सार्वजनिक दबाबपछि महत्त्वपूर्ण निर्णय परिवर्तन गर्नुपरेको दोस्रो घटना हो । यसअघि सन् २०२५ मा भ्रष्टाचारविरोधी निकायको अधिकार सीमित गर्ने प्रयासपछि पनि उनले आलोचनाको सामना गरेका थिए ।
नवनियुक्त सेनाप्रमुख द्रापातीलाई आधुनिक युद्धको अनुभव, व्यावहारिक नेतृत्व र सुधारप्रति सकारात्मक दृष्टिकोण भएका कमान्डरका रूपमा हेरिएको छ । विश्लेषकहरूका अनुसार उनको नियुक्तिले सोभियत सैन्य सोचबाट प्रभावित पुरानो नेतृत्वलाई विस्थापित गर्दै नयाँ पुस्ताको नेतृत्वलाई अघि ल्याएको सङ्केत दिएको छ ।
किएभस्थित सैन्य विश्लेषक ओलेक्सान्डर मुसियेन्कोले द्रापातीप्रति सैनिकहरूमा उच्च विश्वास रहेको र उनको नियुक्तिले सेनाको मनोबल बढाउन तथा लडाकू क्षमता सुदृढ बनाउन सहयोग पुग्ने बताए ।
पश्चिमी रक्षा अधिकारीहरूले फेडोरोभ र सिर्स्कीबीचको कार्यशैलीलाई ‘फरक ग्रहका व्यक्ति’ जस्तै रहेको टिप्पणी गरेका छन् । फेडोरोभले प्रविधिमा आधारित आधुनिक युद्ध रणनीतिलाई प्राथमिकता दिनुभएको थियो भने सिर्स्की परम्परागत स्थल–सैन्य रणनीतिमा जोड दिने पक्षमा रहेको बताइएको छ । विश्लेषकहरूका अनुसार द्रापाती यी दुई दृष्टिकोणबीच सन्तुलन कायम गर्न सक्ने नेतृत्वका रूपमा उदाएका छन् ।
सिर्स्कीमाथि अत्यधिक केन्द्रीकृत कमान्ड प्रणाली, जटिल प्रशासनिक संरचना र सीमित भूभागका लागि सैनिकको अत्यधिक क्षति हुने रणनीति अपनाएको आरोप लाग्दै आएको थियो । विशेषगरी ४२५औँ सेपरेट असल्ट रेजिमेन्टसँग सम्बन्धित विवाद, प्रशिक्षण शिविरमा दुर्व्यवहार र गैरयुद्धजन्य मृत्युका आरोप सार्वजनिक भएपछि सेनाको नेतृत्वमाथि थप प्रश्न उठेको थियो । ती आरोपपछि अनुसन्धान सुरु भई सम्बन्धित रेजिमेन्टका कमान्डर निलम्बनमा परेका छन् ।
कतिपय सांसद र विश्लेषकले यो घटनालाई युद्धकालमा पनि युक्रेनमा लोकतान्त्रिक उत्तरदायित्व कायम रहेको उदाहरणका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार सार्वजनिक दबाबपछि राष्ट्रपतिले निर्णय पुनरावलोकन गर्नु जनमतप्रतिको उत्तरदायित्वको सङ्केत हो । तर केहीले भने सार्वजनिक दबाबका आधारमा सैन्य नेतृत्व परिवर्तन गर्नु दीर्घकालीन रूपमा जोखिमपूर्ण नजिर बन्न सक्ने चेतावनी दिएका छन् ।
युक्रेनको भ्रष्टाचारविरोधी कार्य केन्द्रकी बोर्ड सदस्य टेटियाना सेभचुकले चुनाव स्थगित भएका अवस्थामा नागरिकका लागि विरोध प्रदर्शन नै आफ्नो आवाज सुनाउने प्रमुख माध्यम बनेको बताएका छन् । उनका अनुसार सरकारले जनअसन्तुष्टि सडकमा पुग्नुअघि नै सम्बोधन गर्नुपर्ने थियो ।
फेडोरोभको बर्खास्तीपछि सामाजिक सञ्जालमा राष्ट्रपति जेलेन्स्कीको निर्णयको व्यङ्ग्य गर्दै अनेकौँ टिप्पणी र सामग्री सार्वजनिक भएका छन्, जसले घटनाको राजनीतिक प्रभावलाई थप उजागर गरेको छ ।
रक्षामन्त्रीका रूपमा करिब ६ महिनाको कार्यकालमा फेडोरोभले युक्रेनी सेनाको आधुनिकीकरणलाई तीव्रता दिने प्रयास गर्नुभएको थियो । उहाँले लामो दूरीका प्रहार प्रणाली, फाइबर–अप्टिक ड्रोन, निगरानी प्रणाली तथा अन्य अत्याधुनिक प्रविधिमा लगानी बढाउनुभएको थियो । साथै, ड्रोन खरिद विस्तार, प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीसम्बन्धी नयाँ सम्झौता, ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण र सैन्य खरिद प्रणालीमा सुधारलाई पनि प्राथमिकता दिएका थिए।
उनले अग्रपङ्क्तिमा खटिने सैनिकका लागि उच्च तलब, थप बिदा तथा सेवा सर्तमा लचकता ल्याउने प्रस्तावसमेत अघिसारेका थिए, जसले सैनिक समुदायमा व्यापक समर्थन पाएको थियो । यद्यपि फेडोरोभले पुनर्बहाली नभएसम्म अर्को सरकारी जिम्मेवारी स्वीकार गर्न इच्छुक नरहेको बताइएका कारण उनको आगामी राजनीतिक भूमिकालाई लिएर युक्रेनमा चासो बढेको छ ।
प्रतिक्रिया