हेटौंडामा आजदेखि राष्ट्रिय औद्योगिक मेला शुरु

हेटौंडामा आजदेखि राष्ट्रिय औद्योगिक मेला शुरु


मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडाको क्याम्पाचौरमा राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु भएको छ । शनिबारबाट शुरु भएको मेलाको प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोडेलले मेलामा भीड जम्मा गर्नको लागि मञ्चमा मनोरञ्जनको नाममा अश्लिलता प्रदर्शन गर्ने परम्परालाई अन्त्य गर्दै आफ्नो गाउँठाउँका उत्पादनलाई प्रबद्र्धन तथा प्रदर्शन गर्न र आफ्नो कला, संस्कृतिलाई प्रबद्र्धन, संरक्षण गर्न आयोजकलाई आग्रह गरेका छन् । कला संस्कृतिको नाममा पश्चिमा संस्कृतिलाई प्रदर्शन गर्ने र आफ्नो संस्कृतिलाई ओझेल पार्ने काम हुँदै आएकोले आफूले त्यसो नगर्न मकवानपुर उद्योग वाणिज्य संघलाई यस अघि पनि सुझाव दिएको मुख्यमन्त्री पौडेलको भनाई रहेको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चण्डिराज ढकाल, प्रदेश सांसद मुनु सिग्देल लगायतले शुभकामना मन्तव्य राखेका थिए । १ करोड ३० लाखको कारोबार लक्ष्य लिईएको मेलामा झण्डै पाँच लाख दर्शकहरुको उपस्थिति रहने आयोजकले अनुमान गरेको छ । मेलामा दैनिक मनोरञ्जनात्मक कार्यक्रमका साथै स्थानीय उत्पादन, पर्यटन प्रबद्र्धन गर्ने वस्तुहरुको प्रदर्शनी रहेको संघले जनाएको छ ।