सरोज फर्किंदा को–को पलायन ?

सरोज फर्किंदा को–को पलायन ?


funtimeचलचित्रहरूका छायाङ्कन बन्द छन् । नयाँ चलचित्रहरूको रिलिज हुन सकिरहेका छैनन् । यसकारण पनि कलाकारहरू यतिबेला कामविहीनको अवस्थामा पुगेका छन् । यस्तो अवस्था रहँदा उनीहरूमा विदेश पलायनको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ । १७ वर्ष अगाडिदेखि अमेरिकामा बस्दै आएका अभिनेता सरोज खनाल अब नेपाल फर्किए भन्ने समाचारले प्रमुखता पाएकै समयमा नेपालमा केही नायक र नायिका गुपचुप रूपमा अमेरिका भासिएको समाचारले भने खासै स्थान पाएको देखिएन । सरोज नेपाल फर्कनुभन्दा नेपालमा चलेका केही कलाकार विदेश भासिनु अर्को महत्वपूर्ण विषय हुन पुगेको छ । अभिनेता खनाल काठमाडौं आएको केही घन्टा नबित्दै नेपालबाट अभिनेता सुवास थापा र अभिनेत्री निशा अधिकारी अमेरिका पलायन भएका छन् भने गत महिना मात्र नायक मुकेश ढकाल र निर्देशक श्याम भट्टराईले त अमेरिकामा काम पनि सुरु गरिसकेका छन् । राजबल्लभ कोइराला उतै बसे भने जीवन लुइँटेल पनि आफूलाई सुरक्षित बनाउँदै ग्रिनकार्ड लिएर नेपाल आए ।
चलचित्र क्षेत्रको खस्कँदो बजारसँगै चलचित्रकर्मीहरूमा देखिएको यो पलायनको रोग यतिबेला साँच्ची नै महामारीको रूपमा अगाडि बढेको छ । चलचित्र प्रदर्शन गर्न वा कार्यक्रममा सहभागी हुने बहानामा अमेरिका छिर्ने अधिकांश चलचित्रकर्मीको एउटै भनाइ छ, ‘जति गरे पनि नहुने र नसकिने भयो नेपालमा…’ । एक महिनाअगाडि अमेरिका छिरेका नायक नीरज बराल पनि यतिबेला ग्रिनकार्ड बनाउनका लागि दिलोज्यानले लागिपरेका छन् । यसकारण अमेरिबाट फर्कने चलचित्रकर्मीको सङ्ख्या कम छ भने उताको आकर्षणले तान्नेको सङ्ख्यामा कमी आएको छैन ।
चलचित्र ‘शक्ति’मा समावेस गरिएको ‘अमेरिकामा सरोज खनाल नेपालमा राजेश हमाल…’ बोलको गीत पनि अब असान्दर्भिक हुने देखिन्छ । सधैँ नेपालमै बस्ने निधो गरेर पुराना पुस्ताका नायक सरोज खनाल नेपाल फर्किएका छन् भने खनालको भनाइ र तर्कले खासै प्रभाव पार्न नसकेपछि युवा पुस्ताका कलाकारहरू भने अमेरिका छिर्न लालयित देखिन्छन् । हिसाबै गर्ने हो भने यतिबेला नेपालमा भन्दा अमेरिकामा नाम चलेका र कुनै समय व्यस्त मानिएका नायक–नायिकाहरूको सङ्ख्या बढी छ । रेखा थापा यतिबेला अमेरिकामा नै छिन् । तर, उनको अमेरिका भ्रमणचाहिँ सधैँ उतै बस्नका लागि नभएर कामका लागि हो । तर, उनीभन्दा अगाडि र पछाडि गएका अभिनेत्रीहरू भने अमेरिकामा बस्ने निधो गरेर उतै पुगेका छन् । पछिल्लोपटक भारतको बाटो हुँदै अभिनेत्री उषा पौडेल पनि अमेरिका पुगेकी छिन् भने ग्रिनकार्ड पाउनका लागि उनी यतिबेला नेपालमा रहेका केही मिडियाहरूसँग कागजपत्र बनाइदिन आग्रह गरिरहेकी छिन् ।
त्यसो त अमेरिकामा बसिरहेका सबै कलाकारको अवस्था सुखद नै छ पनि भन्न सकिने अवस्था छैन । कसैले चाँडै ग्रिनकार्ड हात पारेर स्वदेश फर्कने र फेरि आवतजावत गर्ने अवसर पाइरहेका छन् भने केही ग्रिनकार्डको आसमा उतै दशौँ वर्षदेखि तड्पिइरहेका छन् । यस्तै तड्पाईमा रहेकी अभिनेत्री रञ्जना शर्मा र गायक कर्ण दासले दशौँ वर्ष भइसक्दा पनि ग्रिनकार्ड हात पार्न सकिरहेका छैनन् । ग्रिनकार्ड हात नपारीकन नेपाल फक्र्यौं भने फेरि जिन्दगीभर अमेरिका जान प्रतिबन्धित भइने र ग्रिनकार्डको आसमा बस्दा कहिले पाइने हो निश्चित नहुने ? यस्तै हविगत व्यहोरिरहेका छन् केहीले । अमेरिकाको कानुनअनुसार जीवनभर अमेरिका जान नपाउने गरी स्वदेश फर्किएका हास्य कलाकार राजाराम पौडेल र अभिनेत्री गौरी मल्ल पनि ग्रिनकार्ड नभएपछि आजित भएर नेपाल फर्किएका थिए ।

हलवाला र निर्माताको जुहारी
कहिले मागभन्दा बढी निर्माण भएर हैरान त कहिले चलचित्र नभएर पीडा । यस्तै हालत छ यतिबेला नेपाली सिनेमाघरहरूको ।
कुनै समय आवश्यकताभन्दा बढी सिनेमा बन्यो भनेर लगभग चलचित्र क्षेत्रका सबैले गुनासो गर्दथे । अनि चलचित्र निर्माणको सङ्ख्या घटाउनुप-यो भन्ने आवाज पनि चलचित्र क्षेत्रबाटै उठ्न गर्दथ्यो । तर, अहिले अवस्था त्यो रहेन । बढी चलचित्र निर्माण भए भनेर आवाज उठाउनेहरूले नै चलचित्र चलाउन हललाई चलचित्र दिन नमानेपछि यतिबेला सिनेमाहलहरू खाली–खाली भएका छन् ।
वैशाख, जेठ र असारमा करिब दुई दर्जन नयाँ चलचित्रले प्रदर्शनको डेट फिक्स्ड गरेका थिए, तर विडम्बना ! वैशाख १२ गतेको भूकम्पपछि तयार भएका यी सिनेमाले आफ्नो रिलिज अनिश्चितकालसम्म सारेपछि यी चलचित्रहरूको कारण सिनेमाहलहरू अहिले खाली हुन पुगेका हुन् ।
त्यसो त कुनै समय निर्माताहरू आफ्नो चलचित्र चलाउन हललाई चाकडी गर्दथे भने अहिले त्यसको ठीक उल्टो भएको छ कि सिनेमाहलहरू अहिले निर्माताहरूसँग सिनेमा माग्न हारगुहार गरिरहेका छन् । ‘यो सब समयको खेल हो । पालो हाम्रो पनि आउँदोरहेछ,’ एक चलचित्र निर्माताको भनाइ छ । नयाँ चलचित्रहरूले आफ्नो रिलिजको डेट सारिदिँदा सिनेमाहलहरू पुरानो चलचित्र चलाउन बाध्य भएका छन् । ‘सधैँभरि पुराना चलचित्र चलाउँदा वास्तविक नेपाली चलचित्र हेर्ने दर्शकहरू भाँडिन सक्छन् । त्यसैले अब जतिसक्दो चाँडो नयाँ चलचित्रहरू रिलिज गर्नुपर्दछ,’ हल सञ्चालकहरूको यो भनाइमा पनि सत्यता देखिन्छ ।
समग्र नेपाली चलचित्र र सिनेमाहलहरूको विकासका लागि हलसञ्चालक र चलचित्र निर्माताहरूबीच जुहारी नभएर समझदारी हुनुपर्ने कुरा यतिबेला समग्र उठेको छ । एकले अर्कोलाई देखिस् भन्नुभन्दा पनि मिलेर अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ ।