महाशिवरात्रिको तयारीमा समन्वय नगरेको स्थानीय प्रतिनिधिको आरोप

महाशिवरात्रिको तयारीमा समन्वय नगरेको स्थानीय प्रतिनिधिको आरोप


–छविलाल बगाले
महाशिवरात्रि पर्व नजिकिएको छ । पशुपति विकास कोषले महाशिवरात्रिका लागि आवश्यक तयारी पुरा भएको दाबी गरेको छ । तर, कोषसँग जनप्रतिनिधि रुष्ट देखिएका छन् । कोषले गरेको पत्रकार सम्मेलनमा भेटिएका स्थानीय तहका जनप्रतिनिधिले आफूहरुसँग समन्वय नभएको गुनासो गरे । जनप्रतिनिधिको गुनासोमा कोषको स्पष्ट भनाई भने आएन ।

स्थानीय तहलाई अहिलेको संविधानले विशेष अधिकार दिएको छ । संस्कृति, पर्वमा स्थानीय तहको विशेष सक्रियता हुनुपर्ने हो । त्यसैले पनि महाशिवरात्रि पर्वको तयारीमा काठमाडौं महानगरपालिकाका तीन वटा वडाले सहभागिता खोजेका छन् । वडा नम्बर ८ ले महाशिवरात्रि जस्तो विशेष पर्वमा पशुपति क्षेत्र विकास कोषले स्थानीय तहलाई वेवास्ता गरेको आरोप लगाएको छ ।

स्थानीय तहको सहभागिता हुन नसक्दा महाशिरात्रिकै रौनकतामा कमी आउने काठमाडौं महानगरपालिका वडा नं ८ का अध्यक्ष दिनेश कुमार डंगोलको भनाई छ । उनले जनप्रतिनिधि आएपछि पनि कोषले समन्वय नगरेको गुनासो गरेका छन् । उनीहरुले कोषको स्पष्ट योजनाको अभावले महापर्वको उल्लासमा कमी आएकोसम्मको आरोप पनि लगाएका छन् । पशुपति क्षेत्रको सिंगारपटारमा भने खासै ध्यान नदिएको जनप्रतिनिधिको गुनासो छ । संरचना भएर पनि कोषले खासै प्रयोगमा नल्याएको, मन्दिर क्षेत्रमा सरसफाई नगरेको प्रति त्यस क्षेत्रका जनप्रतिनिधि आक्रोशित छन् । उता, वडा नं ७ का अध्यक्ष शुद्ध डंगोलले पनि तयारी विना नै महाशिवरात्रिजस्तो पर्व संचालन गर्न लागेको आरोप लगाएका छन् ।


तर, कोष वडा अध्यक्षको दाबीमा सहमत छैन । तयारी पूरा भएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले बताए । विगतका बर्षहरुभन्दा यसबर्ष भक्तजनलाई दर्शनका लागि सहज वातावरण बनाउने योजनामा पशुपति विकास कोष छ । उनका अनुसार फागुन २० गते महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने लाखौँ भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । यसैगरी नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका पाँच हजार स्वयंसेवक खटाइनेछ ।

भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि मूल मन्दिरको बाहिरपट्टि नै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एम्बुलेन्स सेवासहित ५० स्वास्थ्य संस्थाले शिविर राख्ने तयारी गरेका छन् । पशुपति क्षेत्रको वातावरणलाई स्वच्छ बनाउन एकहप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थानीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् । महाशिवरात्रिका दिन बिहानैदेखि दर्शनार्थीको भीड व्यवस्थापन गर्न पाँच स्थानमा जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको छ ।

महशिवरात्रि व्यवस्थापनका लागि अघिल्लो बर्ष ५० लाख बजेट विनियोजन गरेको पशुपति क्षेत्र विकास कोषले यसबर्ष ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । महाशिवरात्रि पर्व नजिकिदैं गर्दा पशुपति क्षेत्रको चहलपहल पनि बढ्न थालेको छ ।