अमेरिकामा के गर्दै छन् रेखा र सुदर्शन ?
अवसर पाउनासाथ विदेश सयर गर्ने, रमाइलो गर्ने अनि फर्कने । हातमा शून्य । प्रायः नेपाली कलाकारको अवस्था यस्तै हो । तर, केही कलाकार यस्ता पनि छन् जो विदेश पुगेको अवसर पारेर आफ्ना लागि होइन कि अरूका लागि पनि केही गरौँ भन्ने सोचमा हुन्छन् र त्यसबारे सोचिरहन्छन् ।
पछिल्लोपटक अभिनेत्री रेखा थापाले पनि अमेरिकाको बसाइमा नेपाली चलचित्र र नेपाली कलकारका लागि रामै्र, गतिलै र उल्लेखनीय कार्य गर्ने भएकी छिन् । ‘त्यसैका लागि म अमेरिका आएकी हुँ, तर उता नेपालमा मेरोबारेमा गलत हल्ला चलाइएको छ,’ उनले घटना र विचारसमक्ष गुनासो पोखिन् ।
अमेरिकामा रहँदा चलचित्र पत्रकारितामा लागिपर्दै आएका केही चलचित्र पत्रकार भूकम्पबाट पीडित भएको खबर सुनिन् उनले । यो खबरले स्तब्ध भएकी रेखाले उतैबाट आफ्नो क्षमताले भ्याएसम्म आर्थिक सहयोग गरिन् । ‘यस्तो सकारात्मक र सहयोग गर्ने भावना अरूमा पनि जागोस् भन्ने मनसायका खबर मिडियामा आएनन्, तर सानो कुनै त्रुटिलाई पहाड बनाउनतिर हामी अग्रसर छौँ,’ उनको भनाइ छ ।
नेपाली चलचित्र र नेपाली कलाकारहरूको हितका लागि आफू अमेरिकामा विभिन्न कार्यक्रममा सहभागी भइरहेको कुरा रेखाले बताइन् र उनलाई त्यस कार्यमा विश्वचर्चित व्यक्तित्व सुदर्शन गौतमले साथ दिएका छन् । बजारमा सुदर्शन र आफ्नोबारेमा आएका अफवाहहरूलाई रेखा गलत र भ्रमपूर्ण भन्छिन् । ‘त्यो सब समयले बताउनेछ । केही समयपछि म नेपाल आउँदै छु र त्यसपछि सबै कुरा घामजस्तै छर्लङ्ग हुनेछ । अहिले नबोलौँ,’ रेखाले भनिन् ।
अभिनेत्री रेखा थापाले अमेरिकाबाटै अब नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पु-याउन व्यक्तिगत नभएर संस्थागत रूपमा पहल गरिनुपर्ने कुरातर्फ जोड दिएकी छिन् । उनले नीति–नियम तरिकाले गयो भने यो कार्यमा चलचित्र विकास बोर्डले पहल गर्न सक्ने कुरा बताइन् ।
अभिनेत्री रेखाले अमेरिकामा रहेको हलमा हप्ताको एक शो भए पनि नेपाली चलचित्र चलाउन सकियो भने त्यो ठूलो उपलब्धि हुने र आफू त्यसका लागि अगाडि बढेको बताइन् । ‘यससम्बन्धी सुखद र सकारात्मक समाचार एवम् सन्देश लिएर म चाँडै आउँदै छु र चलचित्र विकास बोर्डसँग छलफल गर्नेछु,’ रेखाले अगाडि भनिन् ।
अभिनेत्री रेखा थापा महिला र पुरुषबीचको सम्बन्धलाई केवल शारीरिक सम्बन्धको रूपमा मात्र हेर्न नमिल्ने कुरा बताउँछिन् । ‘महिला र पुरुषको सम्बन्ध अन्य पेसा, कार्ययोजना र क्षेत्रका लागि पनि हुन्छ । अब हाम्रो सोच र विचार फराकिलो हुनुपर्ने समय आइसकेको छ,’ यतिबेला अमेरिकामा रहेकी अभिनेत्री रेखा थापाको तर्क छ ।
आफ्नो अद्भूत र चमत्कारी क्षमताका कारण विश्वमा चिनिएका नेपाली केटो सुदर्शन गौतम पनि आफ्नो क्षमता र दक्षताले भ्याएसम्म नेपाली चलचित्रको विकासका लागि आफू लागिपर्ने कुरा बताउँछन् । ‘हिम्मतवाली चलचित्रमा दर्शकहरूले दिनुभएको माया र साथलाई म बिर्सन सक्दिनँ । त्यो नातालाई बलियो र निरन्तर रूपमा अगाडि बढाउन भए पनि मैले नेपाली सिनेमाका लागि केही गर्नैपर्छ,’ उनको प्रतिबद्धता छ ।
सुदर्शन यतिबेला नेपाली चलचित्रमा विदेशी लगानी भित्र्याउन पहल गरेको बताउँछन् । उनले अगाडि भने, ‘म नेपाली चलचित्र र कलाकारविरुद्ध कहिले पनि जान सक्दिनँ ।’
प्रियंका सजाय भोग्न तयार
अमेरिकाको ग्रिनकार्ड पाउन मरिहत्ते हाल्ने मुलुकका बासिन्दा हौँ हामी । अमेरिका छिर्न पाए के–के नै हुन्छ भन्ने मानसिकता बोकेका नेपालीको भीडमा अभिनेत्री प्रियंका कार्की भने फरक रूपले प्रस्तुत भएकी अभिनेत्री हुन् ।
कुनै समय मिस टिन हुन सफल भएकी प्रियंका कार्की थुपै्र वर्ष अमेरिका बसिन् र उतै ग्रिनकार्ड हात पारिन् । तर, सानैदेखि ग्ल्यामर्स क्षेत्रमा लाग्ने उनको त्यो इच्छा र चाहलाई अमेरिकाको ग्रिनकार्डले छेक्न सकेन र ग्रिनकार्ड नै त्यागेर उनी आफ्नो इच्छा र चाह पूरा गर्न नेपालतिर हुइँकिन् । पारिवारिक वातावरण र अवस्था पनि गतिलै छ उनको र नेपालमा पनि विज्ञापन, म्युजिक भिडियो मात्र नभएर सिनेमा अनि मुलुकबाहिर हुने सांस्कृतिक कार्यक्रममा पनि उनको माग राम्रै छ । राम्रो कमाइ भएकी यिनै अभिनेत्री यतिबेला राहतको रकमले गाडी चढेको चर्चाका कारण निकै निकै दुःखी भएकी छिन् । ‘मलाई गाडी चढ्न, मीठो खान र लाउन यस्ता रकमको दुरुपयोग गर्नु छैन । यो त ममाथि लगाइएको ठूलो आरोप हो, यसमा कुनै सत्यता छैन,’ उनले भनिन् ।
एउटा गाडी चढ्न सक्ने हैसियत आफ्नो पहिलेदेखि नै भएको दाबी गर्दै प्रियंकाले अगाडि थपिन्, ‘यदि राहतको रकमको दुरुपयोग गरेको प्रमाणित भएमा म जस्तोसुकै सजाय भोग्न पनि तयार छु ।’ प्रियंका कतै नबुझीकन आएको हल्लालाई क्यारियरमा असर गर्ने गरी चर्चा नगर्न पनि आग्रह गर्छिन् ।
प्रतिक्रिया