अमेरिकाद्वारा जेरुसेलमको महावाणिज्य दूतावास बन्द

अमेरिकाद्वारा जेरुसेलमको महावाणिज्य दूतावास बन्द


संयुक्तराज्य अमेरिकाले इजरायलको जेरुसेलमस्थित आफ्नो महावाणिज्यदूतावास कार्यालय औपचारिक रूपमा बन्द गरेको छ । साथै, अमेरिकाले प्यालेस्टिनीहरूको मुख्य कूटनीतिक मिसनको दर्जालाई पनि घटाएको छ ।

दशकौँसम्म यो महावाणिज्यदूतावासले प्यालेस्टिनीहरूका लागि अनौपचारिक दूतावासको रूपमा कार्य गरिरहेको थियो । अब, राजदूतावासकै एक अंगका रूपमा यो महावाणिज्यदूतावासले प्यालेस्टिनी मामिला इकाइका रूपमा मात्र कार्य गर्नेछ ।

पश्चिमी गाजा क्षेत्रका लागि समग्र अमेरिकी कूटनीतिक संवाद अब इजरायलका लागि अमेरिकी राजदूत डेभिड फ्राइडम्यानमार्फत मात्र हुनेछ । फ्राइडम्यानलाई पश्चिमी गाजा क्षेत्रमा इजरायली बस्ती विकासका लागि रकम जुटाउने तथा प्यालेस्टिनी नेतृत्वका कटु आलोचक मानिन्छन् ।

अमेरिकी विदेश मन्त्रालयले सोमबार बिहान यस्तो घोषणा गरेको हो । सोमबारदेखि नै महावाणिज्यदूतावासका सम्पूर्ण कार्यहरू दूतावासमा गाभिएका छन् ।

‘यो निर्णय कूटनीतिक मामिलामा अमेरिकाको प्रभावकारिता वृद्धि गर्नकै लागि गरिएको हो,’ विदेश मन्त्रालयका प्रवक्ता रोबर्ट पाल्लाडिनोले जारी गरेको वक्तव्यमा उल्लेख छ, ‘यो निर्णयले जेरुसेलम, पश्चिमी किनारा वा गाजा क्षेत्रमा अमेरिकी नीतिमा परिवर्तनको कुनै संकेत गर्दैन ।’

यही निर्णय गत वर्ष अक्टोबरमा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सुनाउँदा प्यालेस्टिनी समुदाय आक्रोशित भएको थियो । प्यालेस्टिनीहरूले अमेरिकी यस कदमले पूर्वी जेरुसेलम र पश्चिमी किनारामाथि इजरायलको नियन्त्रणलाई मान्यता दिन खोजेको बताउँदै आएका छन् । यी क्षेत्रलाई समेटेर प्यालेस्टिनी मुलुक बनाउने विगतदेखिको समझदारीलाई अमेरिकी पछिल्लो निर्णयले अपमानित गर्ने प्यालेस्टिनीहरूको भनाइ छ ।

प्यालेस्टिनी अधिकारी साइब इरेकातले अमेरिकी यो कदम शान्ति निर्माणमा अमेरिकी भूमिका ‘शव बाकसमा अन्तिम काँटी ठोक्नुसरह’ रहेको बताए ।

अमेरिकी ट्रम्प प्रशासनको यो निर्णयले इजरायललाई पूर्ण समर्थन गरेको र प्यालेस्टिनी समुदायलाई विमुख बनाएको छ । अधिकांश प्यालेस्टिनीहरूले शान्तिप्रक्रियामा अमेरिकी प्रशासनको वर्तमान भूमिका निष्पक्ष हुन नसकेको भन्दै आशा मारेको बताएका छन् ।

ट्रम्पका ज्वाइँ जारेड कुश्नरले गत वर्ष अप्रिलमा इजरायली चुनाव सम्पन्न भएसँगै शान्तिप्रक्रियासम्बन्धी नयाँ सम्झौता सार्वजनिक गरिने बताए ।

तथापि ‘शताब्दीकै सम्झौता’ भनिएको यो रहस्यपूर्ण सम्झौता सार्वजनिक गरिएको छैन । यस योजनालाई प्यालेस्टिनीहरूले अस्वीकार गरिसकेका छन् किनभने उनीहरूको भनाइमा अमेरिकाले इजरायलमाथि बढी विश्वास र समर्थन गरिरहेको छ ।