नाम : माधवराज भट्टराई । वर्ष : ६१ । घर : मध्यबानेश्वर काठमाडौं । पेसा : सरकारी सेवाबाट अवकाश प्राप्त । रुचि : दर्शन र साहित्यका राम्रा कृतिहरू पढ्ने । पछिल्लो समयको काम : राम्रा किताब किनेर ल्याउने र पढ्ने ।
तर आजभोलि उनी निकै दिक्क छन् । भन्छन्, ‘दैनिक पत्रिकामा पुस्तक समीक्षा पढेर किताब किन्यो । तर, किताब कामै नलाग्ने हुन्छ । पढ्नै नसकिने ।’
उनी अझ थप्छन्, ‘साहित्यमा र भाषामा राम्रा मानिएका लेखकहरूले लेखेको समीक्षा पनि पुस्तकअनुरूप हुँदैन । पुस्तक दुई प्रतिशत पनि राम्रो हुँदैन उनीहरूले ८० प्रतिशत राम्रो भनिदिएका हुन्छन् ।’ उनले मलाई नै सम्बोधन गर्दै भने, ‘तपाईं पनि होस् गर्नुस् है लोहनीजी, कतै पुस्तक समीक्षा लेखिरहँदा तपाईंले पनि त्यस्तै त गर्नुभएको छैन ?’
म झसङ्ग भए ।
पुस्तक समीक्षा लेख्नु निकै कठिन काम हो । यो सहज छैन । पुस्तकलाई पहिले पढ्नु अनि त्यसभित्र रहेका राम्रा र नराम्रा कुराहरू केलाउनु साँच्चै अप्ठ्यारो काम हो । अझ त्यसका बारेमा आमधारणा सार्वजनिक गर्नु निकै कठिन नै हो ।
‘म राम्रा किताव पढ्न रुचाउने मानिस, तर आजभाोलि पुस्तक समीक्षाहरूले झुक्याइरहेको छ । फेरि एउटै प्रकाशन गृहको मात्र पुस्तक समीक्षा आइरहँदा प्रायोजित हो कि जस्तो लाग्ने ।’
हो, भट्टराई सरले भनेझँै आजभोलि पुस्तक समीक्षामा बद्मासी भएको छ । एकै किसिमका मानिसले एकै किसिमका किताबहरूको समीक्षा लेख्ने, त्यो पनि एकै किसिमले । अनि त राम्रा किताबहरू सीधै ओझेलमा र चर्चामा आउन मात्र लेखिएका किताबहरूको बजारमा बोलवाला । अनि सधैं पाठकहरू झुक्किरहने ।
भट्टराई सरसँगको यो संवादपछि मैले केही राम्रा, तर चर्चामा नआएका कृतिहरू सम्झिएँ । नेपाली साहित्यमा प्रसस्त राम्रा कृति लेखिएका छन् । तर, तिनीहरूले चर्चा पाएका छैनन् । दुई–तीन वर्षअघि हुनुपर्छ डा. ध्रुवचन्द्र गौतमको एउटा उपन्यास आयो– ‘एक पुनर्निर्मित प्रेमाख्यान’ । यो नेपाली साहित्यका लागि मात्र होइन दक्षिण एसियाकै लागि नयाँ र नौलो कृति थियो । प्रस्तुति र कथा भन्ने शैलीको पृथकताले ।
संवादमा पूरै उपन्यास । संवादमा नै कहानी । संवादमा नै दृश्य । संवादमा नै उपन्यासको सार ।
आज मलाई त्यो उपन्यास सम्झिन मन लाग्यो । त्यसभित्रका प्रेमप्रसङ्ग र प्रस्तुतिको नयाँपन लेख्न मन लाग्यो ।
०००
अक्सर प्रेमहरू छुट्छन् । सम्बन्धहरूमा बाँधिदैनन् । सम्बन्धमा नबाँधिएको प्रेम जीवनमा सधैँ खट्किरहन्छन् । अझ युवाअवस्थामा गरिएको प्रेमको कुरा नै बेग्लै । त्यो उमेरको आकर्षण र मनको रित्तोपना एकसाथ भएको बेलाको प्रेम । त्यस्तो प्रेमको मोह बाँचुञ्जेल भइरहन्छ । हो, प्रेमको त्यही मोह छ— ‘एक पुनर्निर्मित प्रेमाख्यान’मा । नेपाली आख्यान लेखनका शिखरपुरुष डा. ध्रुवचन्द्र गौतमको पछिल्लो उपन्यास एक पुनर्निर्मित प्रेमाख्यान भिन्न शैलीमा लेखिएको शक्तिशाली उपन्यास हो । छुटिसकेको भनिएको पुरानो प्रेमलाई यसमा पुनर्निर्माण गरिएको छ । पढनीय र लोभलाग्दो शैलीमा ।
पूरै उपन्यास संवादमा लेखिएको छ । संवादलाई आख्यानको महत्र्वपूर्ण अङ्ग मानिन्छ । डाक्टरसाबले पूरै उपन्यास संवादमा टुङ्गाएका छन् । उपन्यासमा संवादरत नायक–नायिका सम्बन्धमा नबाँधिएको आफ्नो प्रेमको मोहमा छट्पटिएका छन् । दुवै विवश छन् र प्रेमिल पनि । दुवै एक–अर्कालाई प्रेम गर्छन् र आ–आफ्ना सीमाहरूमा बाँधिएका छन् । उपन्यास पढिरहँदा लाग्छ, यो प्रेम भन्ने चिज नै यस्तै हो । साथमा भए वास्तै नहुने, नभएपछि पोलिरहने ।
कुनै बेला एक–अर्कालाई प्रेम गर्ने प्रेमी–प्रेमिका पचास वर्षपछि एक औपचारिक समारोहमा भेटिएका छन् । उनीहरूबीच कुराकानी हुन्छ । त्यही कुराकानीमा सिङ्गो उपन्यास समेटिएको छ । उनीहरूबीचको कुराकानी एकालाप छैन । उनीहरूको संवाद स्वाभाविक छ । उनीहरूले विगतको प्रेममा आफ्नो जीवनको अर्थ खोजिरहेका छन् । प्रेमको तृष्णामा बाँचेका प्रेमी–प्रेमिकाको संवादमा उपन्यास केन्द्रित छ । यसका लागि डाक्टरसावले तत्कालीन प्रचलनमा रहेका भाषा प्रयोग गरेका छन् । उपन्यासले पुनर्निर्माण गर्न खोजेको तत्कालीन आख्यानको पुनर्निर्मितिलाई उपन्यासको भाषाले समग्र रूपमा प्रामाणिक र सजीव तुल्याएको छ । संवादमा प्रयोग गरिएको भाषा प्रखर र प्रभावशाली छ । भाषाको माध्यमबाट तत्कालीन सामाजिक वातावरणलाई बुझ्न सकिन्छ । उपन्यास एक पुनर्निर्मित प्रेमाख्यानभित्र मुख्यत दुई पात्र छन् । तर, उनीहरूको संवादमा अन्य पात्रहरू भेटिन्छन् । संवादमा नै भेटिन्छ कथा । संवादमा नै अघि बढेको छ औपन्यासिकता र संवादले नै प्रस्ट्याएको छ उपन्यासको क्लाइमेक्स ।
मुख्य दुई पात्र शतायु र चेतराजबीचको प्रेम, अहम् र सीमाले उपन्यासलाई थप रोचक बनाएको छ । शतायु र चेतराज एक–अर्कालाई प्रेम गर्छन् । एक–अर्काको हुन सकेनन् र एक–अर्काको माया सम्झेर आ–आफ्नै संसारमा बाँचिरहेछन् । यो अक्सर मानिसको जीवनमा हुने घटना हो । प्रेम मानवीय स्वभाव नै हो । आफूले प्रेम गरेको मानिससँग सम्बन्ध गाँस्न नसक्नु सामाजिक बाध्यता हो । र, त्यही प्रेमलाई सम्झेर पूरै जिन्दगी बिताउनु मानिसको नियति हो । उपन्यासमा यी तीनवटै अवस्था भेटिन्छन् ।
डा. ध्रुवचन्द्र गौतम नेपाली आख्यानका शिखर पुरुष हुन् । हरेक उपन्यासमा केही न केही प्रयोग गर्न रुचाउने गौतम नेपाली उपन्यासमा अब्बल दहरिएका छन् । उनको पछिल्लो उपन्यास एक पुनर्निर्मित प्रेमाख्यान पनि विषय र संरचनागत दृष्टिले प्रयोगधर्मी उपन्यास हो । संवाद आख्यानको अनिवार्य र आवश्यक उपकरण हो । उपन्यासकारले संवादलाई सहायक अङ्गको रूपमा सीमित नराखी सम्पूर्ण उपन्यासको संरचना निर्वाहमा उपयोग गरेका छन् । यो डा. ध्रुवचन्द्र गौतमको सार्थक प्रयोगधर्मी लेखनमा अर्को उपलब्धि पनि हो । संवादहरूकै बीचमा पात्रको प्राचीन कालखण्ड भेटिन्छ । त्यस समयमा घटित प्रेमलाई पुनर्निर्माण गरेर संवादकै माध्यमबाट स्थान, समय, पात्र, समाज, वातावरण र तिनका भावना अभिव्यक्त भएका छन् । यसरी संवादमा नै लेखिएको सम्भवतः यो पहिलो नेपाली उपन्यास पनि हो । यसअघि कुनै पनि आख्यानकारले यस्तो प्रयोगको प्रयास गरेको देखिँदैन ।
एक पुनर्निर्मित प्रेमाख्यान सफल उपन्यास हो । एकै बसाइमा सकिने यो मसिनो उपन्यासमा कुनै नाटकीयता छैन । यो स्वाभाविक छ । जिन्दगीजस्तै छ । बगिरहने, हिँडिरहने जिन्दगीजस्तै । प्रेमको पचास वर्षपछि एउटा सेमिनारमा भेटिएका नायक नायिका सेमिनारको समापनसँगै छुटिन्छन् । फिल्मी शैलीमा उनीहरू सधैँका लागि मिल्न खोज्दैनन् । चाहेका भए मिल्न पनि सक्थे कि । तर, उनीहरू सधैँका लागि मिल्ने प्रयास नै गर्दैनन् । जीवनमा त्यस्तो प्रयास सम्भव पनि हुँदैन । जसरी भेटिए त्यसैगरी छुट्टिए ।
उपन्यासमा अन्तिम संवाद छ,
– के हुन्थ्यो हाम्रो भेट नभएको भए, भन त ।
– यो उपन्यास लेखिँदैनथ्यो ।
प्रतिक्रिया