पेट्रोलियम पाइपलाइन बिच्छ्याउन ८८ हजार रुख काटिँदै

पेट्रोलियम पाइपलाइन बिच्छ्याउन ८८ हजार रुख काटिँदै


मोतिहारीदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम धमाधम भइरहेको छ । परियोजनाको मुख्य अवरोधको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रुख कटान सुरु भएपछि परियोजना निर्माणको काम धमाधम अघि बढेको हो ।

पाइपलाइन विस्तारमा अवरोध गरेको निकुञ्ज क्षेत्रको रुख काट्न माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले अनुमति दिएको थियो । सो निर्णयसँगै अहिले साना–ठूला गरी ६ हजार ५ सय ६३ वटा रुख काट्ने सुरु गरिएको छ । परियोजनाका अनुसार पाइपलाइन विस्तार बाँकी रहेको ९ किलोमिटर क्षेत्रमा ३० डायमिटरभन्दा ठूला ३ हजार ५ सय ९६ र पोल साइजका २ हजार ९ सय ६७ गरी ६ हजार ५ सय ६३ वटा रुख काटिने छ । मन्त्रिपरिषदले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको मात्रै रुख काट्ने जिम्मेवारी टिम्बर कर्पोरेसन नेपाल (टीसीएन) लाई दिएको छ ।

परियोजनाका लागि छपान भएका ६ हजार ५ सय ६३ ठुला र ८१ हजार ६ सय साना लाथ्रा गरी जम्मा ८८ हजार १ सय ६३ वटा रुख काट्न निकुञ्जले टिम्बर कर्पोरेशनका नाममा पेशी दिएको थियो । पहिलो चरणमा परियोजनाको पाईप विछ्याउने ठाउँका रुख मात्र काटिने छ । मोतिहारीदेखि अमलेखगञ्जसम्म करीब ६९ किलोमिटर लम्बाईको यस परियोजनाको नेपालतर्फ पर्ने ३६ किलोमिटरमध्ये जंगल क्षेत्रको नौ किलोमिटर बाहेक २७ किलोमिटर क्षेत्रमा पाईप गाड्ने काम सकिएको परियोजनाले जनाएको छ ।

भारततर्फको ३२ किलोमिटर क्षेत्रमा परियोजनाको काम सकिदा नेपालतर्फ पनि ७० प्रतिशत प्रगति भएको छ । पाइप लाइनमार्फत पेट्रोलियम आयात गर्ने हो भने नेपाललाई बार्षिक ५५ देखि ६० करोड रुपैंयाँ जोगिने अनुमान छ । रुख कटानको काम शुरु भएकोले पाइपलाइन विस्तारको काम २०–२५ दिनभित्रै सकिने परियोजनाको दावी छ ।