नक्कली भ्याट बिल बेच्ने २४ विरुद्ध मुद्दा दायर

नक्कली भ्याट बिल बेच्ने २४ विरुद्ध मुद्दा दायर


राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बेच्ने २४ जना बिरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उनिहरुबिरुद्ध १ अर्ब ७५ करोडको मुद्दा दायर गरिएको हो । नक्कली तथा झुट्टा बिजक बिक्री गरी राजश्व असुल गर्ने मुख्य व्यक्ति जयकिशन साह र परमेश्वर साहलाई पक्राउ गरी विभागले अनुसन्धान गरेको हो ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले २४ वटा फर्मका सञ्चालक समेतलाई कारबाहीका लागि मुद्दा दर्ता गरिएको जानकारी दिए । उनका अनुसार मूल्य अभिबृद्धि करको झुट्टा तथा नक्कली कज बिजक प्रयोग गरी राजश्व चुहावट गरेको सम्बन्धमा परमेश्वर साहलाई माघ ३ गते र जयकिशोर साहलाई माघ ४ गते नियन्त्रणमा लिइएको थियो ।

‘ज्याला मजदुरी गर्ने अनपढ व्यक्तिहरुलाई प्रलोभनमा पारी निजहरुको नाममा कम्पनी खोली त्यस्ता कम्पनीबाट वास्तविक माल बस्तुको खरिद बिक्री कारोबार नै नगरी झुट्टा बिजक जारी गरी राजश्व चुहावट गरेको भेटिएको थियो ।’ निर्देशक मैनालीले भने, ‘कम्पनीको दर्तावाला व्यक्ति र अन्य कुनै एक आफु नियन्त्रित व्यक्तिलाई कर्मचारीको रुपमा राखी खाता सञ्चालन गर्न लगाई संगठित रुपमा राजश्व चुहावट गरेको पाइएको थियो ।’

विभागका अनुसार ५ सय फर्मले ४ अर्वको भ्याट बिल बेचेको देखिन्छ, त्यसबाट ३ अर्व भन्दा धेरै राजश्व छलेको विभागको अनुमान छ । ‘भैंसी चराईरहेकाहरुको नाममा करोडौंको चेक बनिरहेको छ ।’, निर्देशक मैनाली भन्छन्, ‘ बैक तथा वित्तिय संस्थाहरूले पनि यस्तो नक्कली कारोबार रोक्न सकेको देखिएन ।’