सदस्यसचिव नियुक्तिले पुरुषोत्तमको पद धरापमा !

सदस्यसचिव नियुक्तिले पुरुषोत्तमको पद धरापमा !


sportराखेपमा नयाँ सदस्यसचिव
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा केशवकुमार विष्टलाई नियुक्त गरिएको छ । सदस्यसचिवमा नियुक्त गर्नु एक दिनअघि युवा तथा खेलकुद मन्त्रालयले विष्टलाई खेलकुद विकास ऐन, २०४८ को दफा ३ को उपदफा (२ घ) बमोजिम राखेपको रिक्त रहेको सदस्य पदमा चार वर्षका लागि मनोनयन गरेको हो । राष्ट्रिय खेल सङ्घको कोटाबाट सदस्यमा मनोनीत भएका विष्ट नेपाल सेपाकताक्रो सङ्घका कार्यवाहक अध्यक्ष पनि हुन् ।
राष्ट्रिय खेल सङ्घहरूमध्येबाट परिषद्को सदस्यमा तीनजना मनोनीत हुने प्रावधान छ । सोही प्रावधानअनुसार नेपाल पौडी सङ्घका सदस्य राजेन्द्र श्रेष्ठ (राजु) र अखिल नेपाल फुटबल सङ्घका सदस्य महम्मद समिमउल्लाहलाई पनि गत बिहीबार परिषद्को सदस्यमा मनोनीत गरिएको छ । ‘खेलकुद विकास ऐन, २०४८ को दफा ३ को उपदफा (३) बमोजिम मिति २०७२/०३/१० देखि लागू हुने गरी र सदस्य पदमा वहाल रहने अवधिभरका लागि तपाईंलाईं राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा नियुक्त गरेको छु,’ राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । बिहीबारै नवनियुक्त सदस्यसचिव विष्टले त्रिपुरेश्वरस्थित कार्यकक्षमा पद वहाली गरेका छन् ।
२०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिमा होमिएका विष्ट नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल खेलकुद महासङ्घको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा छन् । खेलकुदसँग पुरानो नाता रहेका विष्ट ०५४ सालमा सुनसरी जिल्ला खेलकुद विकास समितिको उपाध्यक्ष भएका थिए । त्यसपछि ०६४ सालमा विष्ट पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष बनेका थिए । सुनसरीको इटहरी उपनगरपालिकानिवासी ४९ वर्षीय विष्ट तीन दाजुभाइमध्येका कान्छा हुन् । विष्ट ०५९ देखि ६२ सालसम्म इटहरी नगर कमिटीका प्रमुख तथा ०६२ देखि ६८ सालसम्म सुनसरी जिल्ला कमिटीका सदस्य थिए । विष्ट ०६८ सालदेखि हालसम्म राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य छन् ।
पदवहालीपछि नवनियुक्त सदस्यसचिव विष्टले आफ्नो कार्यकाललाई स्वर्णीम बनाउन खेलकुदमा देखिएको विवाद अन्त्य गर्दै अगाडि बढ्ने बताउदै चाँडै आफ्नो टिमसँग छलफल गरी चारवर्षे कार्यकालमा गर्ने कामहरूको श्वेतपत्र जारी गर्ने घोषणा गरेका छन् । सदस्यसचिव विष्टले आफ्नो नियुक्ति राजनीतिक भए पनि खेलकुद परिषद्को सदस्यसचिवको नाताले सबैसँग मिलेर खेलकुदको साझा विकासका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनले विगतका जुनसुकै सदस्यसचिवले गरेका राम्रा कामलाई अगाडि बढाउने र नराम्रालाई सच्याउने बताए । विष्टअघि खेलकुद मन्त्रालयले राखेपकी सदस्य सकुन्तला नगरकोटीलाई अर्को व्यवस्था नभएसम्मका लागि जेठ ३२ गते सदस्यसचिवमा नियुक्त गरेको थियो । दुई साताको अन्योललाई चिर्दै राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा केशवकुमार विष्टलाई युवा तथा खेलकुद मन्त्रालयले नियुक्ति गरे पनि सदस्यसचिवका लागि एमालेभित्रकै गुट–उपगुटमा निकै कसरत भएकाले यतिबेला त्यसको असर देखापरेको छ । यसअघि सदस्यसचिवको आकाङ्क्षी र दाबेदारको रूपमा केशव स्थापित, पीताम्बर तिमिल्सिना, पुरेन्द्रविक्रम लाखेको नाम अग्रपङ्तिमा थियो । गोप्य रूपमा विष्टको नामको चर्चा चले पनि उनी खासै चर्चाको पात्र भने बनेका थिएनन् ।
यतिबेला महाभूकम्पले प्रभावित खेलकुद तहसनहस र बेवारिसजस्तै बनेको छ । अझ त्रिपुरेश्वरस्थित दशरथ रंगशाला यसबाट नराम्रोसँग प्रभावित भएको छ । यस्तो जटिल र चुनौतीपूर्ण अवस्थामा राष्ट्रिय खेलकुद परिषद्को जिम्मेवारी विष्टको हातमा परेको छ । पुनर्निर्माणसँगै समग्र खेलकुदको विकास र विस्तार आफँैमा चुनौतीपूर्ण बनेको छ विष्टका लागि । यस्तो विषम परिस्थितिमा खेलकुदमा हुने राजनीतिको सामना पनि विष्टले गर्नुपर्नेछ । उनले खेलकुदको विकास र विस्तारका लागि सबैसँग मिलेर जाने प्रतिबद्धता जाहेर गरे पनि उनले सोचेको जस्तो खेलकुदमा यति सजिलो भने पक्कै हुनेछैन । कर्मचारीतन्त्रदेखि राजनीतिक दलका भ्रातृ सङ्गठनका रूपमा खुलेका खेलकुदका सङ्गठन विष्टका लागि रोडा बन्ने कुरामा कुनै शङ्का छैन ।
राजनीति र खेलकुदको गलनगाँठो निकै जोरसँग कस्सिएकाले राजनीतिको प्रभावबिना खेलकुद चलाउन आफँैमा चुनौतीपूर्ण हुनेछ । अझ विष्टको नियुक्ति राजनीतिक भएकाले यसमा थप जटिलता देखिएको छ । आफूले नचाहँदा–नचाहँदै पनि राजनीतिक दबाबमा धेरै कार्यहरू गर्नुपर्नेछ । विगतमा एमालेले खेलकुदमा गरेको राजनीति आमखेलप्रेमी र कसैबाट छिपेको छैन । तसर्थ साँचो रूपमा भन्नुपर्दा अब विष्टका लागि प्रमुख चुनौती नै राजनीति बनेको छ । अब विष्ट खेलकुदमा राजनीतिलाई निर्देशनको रूपमा लिन्छन् कि खेलकुदमा राजनीति घुसाएर दलीय स्वार्थ पूरा गर्छन् त्यो अहिले महत्वपूर्ण कुरो भएको छ । यस्तो अवस्थामा विष्ट कति खरो उत्रिन्छन् त्यो अहिले प्रतीक्षाको विषय बनेको छ ।
चार वर्षअघि राखेपको सदस्यसचिवमा युवराज लामा नियुक्ति हुँदा उनले खेलकुदमा राजनीति गर्नेहरूलाई खेलकुदको गेटबाहिर नै राजनीति गर्न चुनौती दिएका थिए । तैपनि खेलकुदमा राजनीति रोकिएन । उल्टै एमालेले खेलकुदमा पार्टीको झन्डा गाडेर खेलकुदमा राजनीति गर्न पछि परेन । पार्टी अध्यक्ष केपी शर्मा ओली लगाएर युवा नेता महेश बस्नेतलाई खेलकुद परिसरमै राजनीतिक भाषण गराएर खेलकुदको मर्ममाथि प्रहार गर्न चुकेन । अहिले खेलकुदको सम्पूर्ण वागडोर एमालेको हातमा छ । एमालेको खेलकुद मन्त्री पौडेल छन्, एमालेको सदस्यसचिव विष्ट छन् र नेपाल ओलम्पिक कमिटीमा एमालेकै जीवनराम श्रेष्ठ महासचिव छन् । यस्तो अवस्थामा खेलकुद एमालेमय भएको छ । यतिबेला एमालेले जे चाह्यो त्यो खेलकुदमा गर्न र लाद्न सक्छ । एमालेका विगतका सदस्यसचिवको इतिहास कोट्याउँदा पनि यस्तो भ्रम पाल्नु अस्वाभाविक मानिँदैन । त्यसैले पनि विष्टको कार्यकाललाई पनि यही नजरका साथ हेरिन थालिएको छ ।
तर, राखेपको सदस्यसचिवको पदवहालीसँगै सदस्यसचिव विष्टले आफ्नो कार्यकाललाई स्वर्णीम बनाउने र खेलकुदका सम्पूर्ण विवाद समाधान गर्ने जुन प्रतिबद्धता जाहेर गरेका छन् त्यसबाट भने उनीबाट केही अपेक्षा भने पक्कै गरिएको छ । अर्को कुरा सबैको सहयोगमा खेलकुदलाई हाँक्ने जुन प्रण विष्टले गरेका छन्, त्यसले पनि खेलकुदमा सकारात्मक प्रभाव परेको छ भन्नैपर्ने हुन्छ । यदि उनी आफ्नो प्रतिबद्धता र सोचमा कायम रहे भने खेलकुदमा नौलो आयाम थपिने अपेक्षा गर्न सकिन्छ ।

धरापमा पौडेलको पद !
राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्ति प्रकरणपछि चर्को विवादमा तानिनुका साथै एमाले पार्टीको हाइकमान्ड नै असन्तुष्ट बनेपछि एमालेले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई सरकारबाट फिर्ता बोलाएको छ । पौडेलले राखेपमा गत बिहीबार आफूनिकट केशव विष्टलाई नियुक्त गरेपछि उनी विवादमा तानिएका थिए भने एमालेभित्र यसले भाँडभैलोको रूप लिएको थियो । राखेप सदस्यसचिवका लागि एमालेमा धेरैजना दाबेदार थिए । आफूसँग कुनै सल्लाह नगरी सदस्यसचिव नियुक्त गरेको भन्दै एमाले अध्यक्ष केपी ओली मन्त्री पौडेलसँग रुष्ट बनेका थिए । पौडेलसँग स्पष्टीकरण मागिए पनि उनले चित्तबुझ्दो जवाफ दिन नसकेको एमाले स्रोत बताउँछ । शीर्ष नेतृत्वलाई चित्तबुझ्दो कारण दिनुको साटो उल्टै पौडेलले मिडियामार्फत आफूले ठीक निर्णय लिएको दाबी गर्दै सदस्यसचिव नियुक्ति फेरबदल नहुने हुङ्कार गरेका थिए । विष्टको नियुक्ति आफूले बदर नगर्ने, बरु पार्टीले कारबाही गरे त्यो स्वीकार गर्ने उनको कथन थियो । यसरी पार्टी अध्यक्षलाई चुनौती दिने भाषा पौडेलले प्रयोग गर्नुमा एमालेका अर्का नेता माधव नेपालको हात रहेको बताइन्छ । एमाले सूत्रका अनुसार नेपालले नै पौडेललाई मन्त्री पद नछोड्न सल्लाह दिएका हुन् । सूत्रका अनुसार एमालेले राखेपको सदस्यसचिव नियुक्तिपछि गत शुक्रबारै पौडेललाई मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको थियो । पार्टीको निर्देशनपछि पौडेलले राजीनामाका लागि केही दिनको समय पनि मागेका थिए । राजीनामा दिने मानसिकता बनाएर पनि अन्तिममा उनी अध्यक्ष ओलीलाई अटेर गर्दै पदमा रहिरहने मानसिकतामा पुगेका थिए । तर, जबर्जस्ती गर्दै राजीनामा नदिने अडान दर्शाए पनि पार्टी–अनुशासनविपरीत उभिएका मन्त्री पौडेलको पदमाथि तरबार भने झुन्डिसकेको एमालेभित्रै व्यापक चर्चा चल्न थालेको छ ।
विष्टमाथि पनि ‘बिटुलो’ आरोप !
एमालेको खेलकुद विभाग हेर्ने भ्रातृ सङ्गठन खेलकुद महासङ्घका उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्षसमेत रहेका नवनियुक्त सदस्यसचिव विष्टमाथि कोरियामा खेलाडी पठाउँदा अनियमितता गरेको आरोप लागेको भन्दै सदस्यचिवकै दाबेदार असन्तुष्ट पक्षले उनको विरोध गरेको छ । महासङ्घमा अध्यक्ष पौडेल मन्त्री बनेपछि विष्टलाई कार्यवाहक अध्यक्ष बनाइएको थियो । तर, यसअघि मन्त्री पौडेलकै अध्यक्षतामा बसेको एमाले भ्रातृ सङ्गठन खेलकुद महासङ्घको बैठकले विष्टलाई फेब्रुअरीसम्म विदेश जान नपाउने गरी कारबाही गरेको थियो । मन्त्री पौडेललाई संसदीय दलको कार्यालयमा बोलाएर एमाले नेताहरूले ‘कोरियामा खेलाडी लुकाएको आरोपमा तपाईंको आफ्नै अध्यक्षतामा बसेको बैठकले कारबाही गरेको व्यक्तिलाई के आधारमा सदस्यसचिवमा नियुक्त गर्नुभयो ?’ भनी प्रश्न गर्दा पौडेल निरुत्तर बनेका थिए ।

खेल समाचार

ओलम्पिक डेमा बत्तीस कार्यक्रम
‘विपत्विरुद्ध हामी लड्न सक्छौँ’ भन्ने नाराका साथ नेपालमा ओलम्पिक डे मनाइएको छ । नेपाल ओलम्पिक कमिटीअन्तर्गत रहेको स्पोर्टस् फर अल कमिसनको आयोजनामा नेपालमा १३ जुनदेखि ओलम्पिक डे मनाउन सुरु गरिएको थियो । मोडर्न ओलम्पिक गेम्स जन्म भएको सम्झनामा २३ जुनलाई विश्वभरिका दुई सय पाँच राष्ट्रले ओलम्पिक डेका रूपमा मनाउँछन् । सन् १८९४ को २३ जुनमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) विधिवत् रूपमा स्थापना भएको थियो ।
लगनखेलस्थित नेपाल आर्मी स्पोर्टस् एन्ड फिजिकल टे«निङ सेन्टरमा ओलम्पियन, खेलाडी, विद्यार्थी, खेल पदाधिकारी तथा खेलप्रेमीको उपस्थितिमा ओलम्पिक डे मनाइएको हो । नेपालमा ११ दिनसम्म विभिन्न खेलकुद, संस्कृति र शैक्षिक गतिविधिसहित ३२ वटा कार्यक्रम गरि ओलम्पिक डे मनाएको कमिसनका चियरम्यान विष्णुगोपाल श्रेष्ठले बताए । हालै सम्पन्न भएको ओलम्पिक डेको विशेष कार्यक्रममा नेपालका ओलम्पियनहरू जितबहादुर केसी, संगीना वैद्य, कमल अधिकारी, राजेन्द्र भण्डारी, चन्द्रकला थापा, देवु थापा, फूलमाया क्यापाछाकी, पुष्पराज ओझा, प्रवीण तुलाधर, टीकाराम श्रेष्ठले ओलम्पिक टर्च लिएर मार्चपास गरेका थिए ।
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपालको झन्डा फरफराएर उद्घाटन गरेका थिए । उनले नेपालले २०२० सम्म ओलम्पिक खेलमा मेडल जित्ने तयारी गरिरहेको बताए । उनले सन् २०१६ मा ब्राजिलमा हुने ओलम्पिक खेलमा नेपालको उत्साहजनक सहभागिता हुने घोषणा गरे । त्यसैगरी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधानले नेपालमा गत वर्षदेखि ११ दिनसम्म विविध कार्यक्रम गरेर ओलम्पिक डे मनाइरहेको बताए । ‘कुनै पनि भेदभावबिना खेलकुदमा सहभागिता वृद्धि गर्ने र खेलाडीको स्तरवृद्धि गर्ने उद्देश्यले ओलम्पिक डे मनाउन थालिएको हो,’ प्रधानले भने । उनले ओलम्पिकको मर्म र भावनालाई आत्मसात् गरेर अगाडि बढे नेपालले भूकम्पको घाउलाई समेत छिटो निको पार्न सकिने बताए ।
नेपालका लागि जापानी राजदूत मासाई ओगावाले १९६४ पछि २०२० मा जापानले ओलम्पिक खेल आयोजना गर्ने अवसर पाएको बताए । उनले नेपाल विविध धर्म र जातजाति रहेको देश भएकाले खेलकुदले मात्र एकजुट बनाउन सक्ने बताए । नेपालका लागि ब्राजिलका राजदूत मारिया टेरेसाले २०१६ को रियो ओलम्पिकका लागि नेपाललाई निम्तो दिँदै नेपाललाई भिसा प्रक्रिया सहज रहेकोसमेत बताइन् । नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठ र स्पोर्टस् फर अल कमिसनका चियरम्यान विष्णुगोपाल श्रेष्ठले ओलम्पिकको भावना र मर्मबारे प्रकाश पारेका थिए ।
सो अवसरमा ओलम्पिक सङ्ग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो । त्यसैगरी मार्चपासमा सहभागी नौजना ओलम्पियनलाई सम्मान गरिएको थियो । चर्चित गायिका कुन्ती मोक्तान, गायक सत्यराज आचार्य, रोज मोक्तानले आ–आफ्नो प्रस्तुति दिएका थिए । त्यसैगरी नाइटिङ्गेल स्कुल, अखण्ड विद्यासदनका विद्यार्थीले नाच प्रस्तुत गरेका थिए । सो कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की सदस्यसचिव सकुन्तला नगरकोटी, नेपाली आर्मीका रथी राजेन्द्र श्रेत्री, उपरथी राजेन्द्र कार्कीलगायतको उपस्थिति थियो ।

ओलम्पिक डेमा अमेरिकामा पिसवाक
अमेरिकामा रहेका नेपालीले अमेरिकाको ओर्गन राज्यमा पिसवाक ओलम्पिक डे मनाएका छन् । आईओएफटीसी ओलम्पिक डे पिसवाक कार्यक्रमको उद्घाटन एनआरएन एनसीसी यूएसका अध्यक्ष डा. केशव पौडेलले गरेका थिए ।
इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)ले त्यस क्षेत्रमा रहेका नेपाली र स्थानीयलाई ओलम्पिक डेको मर्म र भावनालाई जागरण गर्ने उद्देश्यले ओलम्पिक डे वाक गरेको एनआरएन यूएसए ओर्गन च्याप्टरका अध्यक्ष दीवाकर महर्जनले बताए । आईओएफटीसीकी महासचिव करेन ब्ल्याकलेड्गले एनआएरन एनसीसी यूएएस र नेपाली राजदूतावासलाई ओर्गनमा ओलम्पिक पिसवाकमा सहभागी हुन उपस्थित भएर उत्साह बढाएको भन्दै कृतज्ञता व्यक्त गरेकी थिइन् ।
उनले नेपाली खेलाडीलाई साथ दिएर राष्ट्रिय गौरव बढाउनका लागि साथ दिनसमेत सबैलाई आग्रह गरिन् । अमेरिका लागि नेपाली उपराजदूत ऋषिराम घिमिरे, दूतावासका दीपक शर्माले ओर्गनका नेपालीका लागि एमआरपी पासपोर्ट कार्यक्रमको नेपाली दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । एनआएएन यूएसए ओर्गन च्याप्टरका अध्यक्ष दिवाकर महर्जनले यस क्षेत्रमा रहेको नेपालीबीच आत्मीय सम्बन्ध स्थापना गरी दुःखसुखमा साथ दिने बताए । उनले भने, ‘हाम्रो मन्त्र नै छ– एकपटकको नेपाली सधँैको नेपाली ।’
एनआरएन यूएसए ओर्गन च्याप्टरका महासचिव सुनिल राजकर्णिकारले नेपालीलाई एमआरपी कार्यक्रमबाट सहज भएको बताए । उनले दूतावासलाई धन्यवाद दिए । नेपाल आदिवासी जनजाति सङ्घ क्यालिफोर्नियाका अध्यक्ष डन्डी शेर्पाले समेत खुसी व्यक्त गरेका थिए । सो अवसरमा एमआरपीका विषयमा अन्तरक्रियासमेत गरिएको थियो । यसअघि एनआरएन एसीसी यूएसएका अध्यक्ष डा. केशव पौडेलले एनआएन ओर्गन च्याप्टरको कार्यालयको उद्घाटन गरेका थिए । सो कार्यक्रममा बोल्दै पौडेलले ओर्गन च्याप्टरको पहिलो कार्यालय स्थापना गरेको खुसी व्यक्त गरे ।
एनआरएन ओर्गन च्याप्टरको कार्यकारी समितिको केही समयअघि मात्र चयन भएको थियो । समितिको अध्यक्षमा तेक्वान्दो मुख्य प्रशिक्षक दिवाकर महर्जन छन् । उपाध्यक्षमा दयारत्न शाक्य, महासचिवमा सुनिल राजकर्णिकार, कोषाध्यक्षमा जितेन्द्र बर्जाचार्य रहेका छन् । त्यसैगरी कार्यकारी सदस्यमा डा. मनोज कंशाकार, डा रविनमान शाक्य, सीताकुमारी राई, सिर्जना स्थापित, रमेश भण्डारी, प्रदीप बर्जाचार्य र सूर्य थापा क्षेत्री रहेका छन् । यूएसको उत्तरपश्चिम क्षेत्रमा रहेका नेपालीका लागि च्याप्टरले महत्वपूर्ण सेवा प्रदान गर्न सकिने विश्वास लिइएको छ । १९ जुनमा एनआरएन यूएसए ओर्गन च्याप्टरको पहिलो बैठकसमेत बसेको थियो । पोर्टल्यान्डको हलिउड तेक्वान्दो स्कुल कविताञ्जल अमात्यको राष्ट्रगानपछि बैठक सुरु भएको थियो ।

मिस्टर नेपाल असोज पहिलो साता
गत वैशाखको विनाशकारी भूकम्पका कारण स्थगित पन्ध्रौँ मिस्टर नेपाल राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आसोजको पहिलो साता हुने तय भएको छ । प्रतियोगिता पूर्वनिर्धारित स्थान विराटनगरमै असोज १ र २ गते हुने नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् । भूकम्पअघि प्रतियोगिता गत जेठ २२ र २३ गते हुने भनिएको थियो ।
करिब ३० जिल्लाका ७० खेलाडीको सहभागिता रहने अनुमान सङ्घको छ । ५५, ६०, ६५, ७०, ७५, ८० केजी र ८० केजीमाथि गरी जम्मा सात स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पहिलो दिन प्रिजजिङ राउन्ड हुनेछ । त्यसमा प्रत्येक तौलसमूहमा शीर्ष पाँच स्थान हासिल गर्ने खेलाडी फाइनलमा पुग्नेछन् । अघिल्लो संस्करण २०७० को फागुनमा नेपालगन्जमा भएको थियो ।

करातेलाई खेल पोसाक
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गर्दै आइरहेको राष्ट्रिय टिम तयारीअन्तर्गत कराते टोलीलाई स्विट्जरल्यान्डकी जोसेपा क्यान्टोर बोरेलले ३० थान खेल पोसाक प्रदान गरेकी छिन् । बोरेलले राष्ट्रिय टिम तयारीका प्रशिक्षकसमेत रहेका आठौँ र नवौँ दक्षिण एसियाली खेलकुदका स्वर्णधारी दीपक श्रेष्ठलाई मंगलबार पोसाक हस्तान्तरण गरेकी हुन् । श्रेष्ठका अनुसार टिमलाई करिब ३० हजार मूल्यबराबरको पोसाक उपलब्ध गराइएको छ ।

स्वर्गीय ललितकृष्णको परिवारलाई एन्फाको सहयोग
अखिल नेपाल फुटबल सङ्घको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेकै अवस्थामा करेन्ट लागेर मृत्यु भएका ललितकृष्ण श्रेष्ठका छोराछोरीलाई एन्फाले प्लस टुसम्म अध्ययन गराइदिने भएको छ । आइतबार बसेको एन्फा कार्यसमितिको बैठकले स्वर्गीय श्रेष्ठका एक छोरा र एक छोरीलाई प्लस टुसम्म अध्ययनका लागि भन्दै मासिक ५० हजार दिने र श्रेष्ठपत्नीलाई उपयुक्त रोजगारीको निम्ति पहल गर्ने निर्णय गरेको हो । सोही बैठकले श्रेष्ठको नाममा वर्षेनी ‘अन्डर–१६’ फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ । यस्तै, ललितकृष्णको नाममा एन्फा कम्प्लेक्समा एक बैठक हल निर्माण गर्ने र त्यसमा उनको अर्धकदको शालिक राख्ने निर्णयसमेत भएको बताइएको छ ।